शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ बिरामीको निःशुल्क शल्यक्रिया

बिहीबार, १६ मङ्सिर २०७८, ०६ : ३३
बिहीबार, १६ मङ्सिर २०७८

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नाचे सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका बिरामीहरूको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् ।

शल्यक्रिया गराउनेमा शरीरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले बिरामीको शल्यक्रिया गरेको हो । शल्यक्रिया गर्न सम्भव नभएका जटिल प्रकारका १५१ जना बिरामीलाई अस्पतालमै शल्यक्रिया गराउन रेफर गरिएको छ ।

 यसैबीच, शिविरमा ९६३ बिरामीको रक्त परीक्षण, ७५३ जनाको भिडियो एक्स-रे र ३२४ जनाको मुटुको जाँच (इसीजी) सहित ४ हजार १ सय ५० जनाको निःशुल्क उपचार गरिएको आयोजकले जनाएको छ । काठमाडौँदेखि विशेषज्ञ डाक्टरहरू गाउँमा आउँदा शिविरमा बिरामीको घुइँचो लागेको थियो । शिविरमा सल्यान टारी, खाल्पा, टुरे, टिलपुङ, कुमाल गाउँ, गैरी डाँडा, खुर्के, रातमाटा, नयाँ बजार लगायत क्षेत्रबाट बिरामीहरू उपचारका लागि आएका थिए ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । नाचे सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी सामूहिक युवा समूहसँग सहकार्य गरेर केएमसीले गत आइतवारदेखि बुधबारसम्म चार दिने शिविर सञ्चालन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप