बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश ज्वालाको दाबी– कर्णालीमा एकीकृत समाजवादी पहिलो पार्टी बन्छ

शुक्रबार, १७ मङ्सिर २०७८, ११ : १७
शुक्रबार, १७ मङ्सिर २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालालाई कर्णालीको राजनीतिकै ‘गेम चेञ्जर’को रुपमा लिइन्छ । तत्कालीन नेकपा हुँदै एमाले विभाजनसम्म आइपुग्दा र प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीको बलियो पकडले गर्दा उनी प्रदेशकै राजनीतिको निर्णायक भूमिकामा रहँदै आएका छन् ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला तत्कालीन नेकपामा रहँदा होस् या एमाले मै पनि केपी शर्मा ओली पक्षको गुटगत निर्णय र अत्याचारका विरुद्धमा निरन्तर आवाज उठाए । उनकै नेतृत्वमा उनीसहित एमालेका तत्कालीन चार प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गरेर महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिएका थिए । प्रदेशसभामा एमालेको एकल बहुमत रहेकै अवस्थामा उनले माओवादी नेतृत्वको सरकार टिकाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

सोही घटनापछि एमालेभित्र बढ्दै गएको विवादले अन्ततः पार्टी विभाजनको अवस्था निम्त्यायो । गत वैशाख ३ मा महेन्द्रबहादुर शाही, प्रकाश ज्वाला र जीवनबहादुर शाहीबीच भएको सहमति अनुसार अहिले प्रदेश सरकार चलिरहेको छ । यद्यपि दलहरुबीच मन्त्रालयको भागबण्डा लगायतका विषयमा अझै सहमति जुट्न सकेको छैन ।

कर्णाली प्रदेशको राजनीति, कर्णाली प्रदेशमै उत्पन्न परिस्थिति र विवादका कारण राष्ट्रिय राजनीतिमा परेको प्रभाव र गठबन्धनको भविष्य लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले नेकपा एकीकृत समाजवादीका नेता ज्वालासँग कुराकानी गरेको छ । प्रस्तुत छ– प्रकाश ज्वालासँग गरिएको कुराकानीको सम्पादित अंशः

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसबीचको गठबन्धन सरकार अलमलमा परेको देखिन्छ, अहिले मन्त्रालयको भागबण्डामा विवाददेखि दलका नेताहरुका फरक–फरक अभिव्यक्तिलाई तपाईले कसरी लिनुभएको छ ?

— गठबन्धन त अगाडि बढिरहेकै छ । गठबन्धनमा त्यस्तो केही समस्या छैन । मन्त्रिमण्डलले पनि अब चाँडै पूर्णता पाउँछ भन्नेमा विश्वास गरौं । मन्त्रीमण्डलमा सबै पार्टी सहभागी भइसकेका छन् । हाम्रो दलबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र माओवादीका तर्फबाट आर्थिक मामिला तथा कानुन मन्त्री बनिसक्नुभएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार जसरी विश्वासको मत प्राप्त गर्नुभयो, गठबन्धन दलका सबै सांसदले उहाँको पक्षमा मतदान गरे । यसले पनि गठबन्धनमा कुनै समस्या छैन भन्ने पुष्टि हुन्छ ।

गठबन्धनमा समस्या छैन त भन्नुभयो । तर, अहिलेसम्म मन्त्रालयको भागबण्डा नै टुङ्गिएको छैन । तीन जना सांसद रहेको तपाईको दलले तीन वटा मन्त्रालय नछाड्ने दाबी गरिरहेको छ । मुख्यमन्त्रीलाई तालमेल मिलाउन अप्ठ्यारो परिरहेको देखिन्छ नि, होइन र ?

—होइन, हाम्रो त्यो दाबी हुँदै होइन । कुरा के हो भने हामीले जतिबेला एक किसिमको सम्झौता गरेका थियौं, हामीले विद्रोह ग¥यौं, केन्द्र र अन्य प्रदेशमा बन्नुभन्दा पहिला हामीले गठबन्धन निर्माण गरेका थियौं । गठबन्धन निर्माण गर्दै गर्दा मुख्यमन्त्री र मन्त्रालयको बारेमा एक किसिमको सहमति गरेका छौं । त्यो सहमतिका आधारमा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले त्यतिबेला (वैशाखमा) विश्वासको मत पाउनुभयो, त्यही सहमति अनुसार अहिले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुभयो । त्यही सहमति अनुसार मन्त्रीहरु पनि पठायौं । त्यो सहमति अहिले पनि कायम छ । त्यही सहमतिका आधारमा मन्त्रालयको संख्या पनि पाउनुपर्छ भन्ने नै हो ।

त्यतिबेला तपाईको पार्टीले तीन वटा मन्त्रालय पाउने सहमति भएको हो ?

— छ नि ! अहिले त्यही सहमति त लागु भइरहेको छ । त्यही सहमतिलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा नै हो । त्यसमा फेरि अन्य पार्टीभित्र समस्या छ भन्ने पनि मलाई लाग्दैन र त्यो हुनु पनि हुँदैन ।

वैशाख ३ मा भएको सहमतिले निरन्तरता पाउनुपर्छ भन्ने तपाईको मत हो ?

— हैन । जे सहमति भएको थियो, त्यो सबै कुरा लागु हुन्छ । अब आवश्यक पर्दा भोलिका दिनमा पनि गठबन्धन बीचमा थप सहमति होला । भोलि के सहमति हुन्छ, त्यो अहिले नै भन्न सकिन्न तर, अहिले जे सहमति भएको छ, त्यो केन्द्र र प्रदेश दुबैमा लागु भइरहेको छ । नयाँ परिस्थिति सिर्जना भयो र थप सहमति गर्नुपर्ने आवश्यकता देखियो भने पछि गर्दैै जान सकिन्छ ।

त्यो सहमति अनुसार तपाई पनि मुख्यमन्त्री बन्नुहुन्छ भन्ने चर्चा छ नि ?

— अहिले जे गरेका छौं, त्यसैमा इमानदार छौं । लागु त्यसैलाई गर्नुपर्छ । त्यो बेला गरिएका ११ बुँदे सहमति कतिपय कार्यान्वयन भइसके । कार्यान्वयन भइरहेका पनि छन् । कतिपय कार्यान्वयन हुन बाँकी पनि छन् । बाँकी रहेका कुरालाई पनि कार्यान्वयन गर्नुपर्छ ।

आउँदो वैशाखमा तपाईको नेतृत्वमा सरकार बन्न सक्ने आधार छ कि छैन, प्रस्ट भन्नुस् न ?

–यस विषयमा कुनै छलफल भएको छैन । सम्भावना त राजनीतिमा सबैखालका हुन्छन नै ।

तत्कालीन नेकपा हुँदै नेकपा विभाजनको केन्द्र कर्णाली हो भनिन्छ । र, कर्णालीको राजनीतिमा तपाई र तपाईको दललाई ‘गेम चेञ्जर’को रुपमा लिइन्छ । यसलाई तपाईले कसरी व्याख्या गर्नुहुन्छ ?

— एमाले विभाजनको कारक कर्णाली होइन । कर्णालीले अत्याचार, अन्याय, सर्वसत्तावादका विरुद्धमा विद्रोह गरेको हो र, त्यो विद्रोहको आशय (अर्थ) के थियो भने पार्टी आफ्नो मार्गदर्शन, विधि अनुसार चल्नुपर्छ भन्ने नै हो । पार्टीमा सबैले लगानी गरेका छन् । सबैले न्याय पाउनुपर्छ । अवसरको समानता अर्थात् सबैले न्यायसम्मत् ढंगले उचित रुपमा पाउनुपर्छ भनेर पार्टीलाई त्यो दिशातर्फ लैजान र पार्टीभित्रका समस्या समाधान गर्न दबाब दिएका हौं । पार्टीभित्र एकता होस्, पार्टी विधि, पद्धति अनुसार चलाउने र आन्तरिक रुपमा पार्टी बलियो होस् भनेर हामीले विद्रोह गरेका थियौं ।

त्यसलाई गलत अर्थ लगाएर कतिपयले पार्टी विभाजनको कारक कर्णाली हो भनेर भनिएको छ तर त्यो सत्य होइन । हामीले एकताका निम्ति सकारात्मक सन्देश दिन विद्रोह गरेका थियौं ।

अर्को कुरा, जुन समीकरण बनाउनुपर्ने थियो । जसरी केपी ओली नेतृत्वको तत्कालीन संघीय सरकारले प्रतिगमनकारी कदम चालेको थियो, त्यसलाई परास्त गर्नुपर्छ र संविधान, लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्छ, त्यसका निम्ति आवश्यक पर्दा नयाँ तरिकाले समीकरण बनाएर अघि बढ्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि हामीले विद्रोह गरेका हौं ।

हामीले खासगरी दुईवटा सन्देश– पार्टीभित्र एकताको सन्देश दिने । राष्ट्रिय राजनीतिमा प्रतिगमनलाई पराजित गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउन प्रयत्न गरेका हौं ।

प्रतिगमनलाई पराजित गरेरै छाड्यौं । संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्यायौं । त्यो सकरात्मक उपलब्धि भएको छ । तर, पार्टीलाई एकताबद्ध बनाउने स्थिति बनेन, त्यो हाम्रो कारणले होइन । कसको कारणले हो भन्ने कुरा छर्लङ्ग छँदैछ नि !

नयाँ पार्टी बनाउनु भएको छ, कर्णालीमा तपाईंहरुको जनाधार कस्तो छ ?

— हाम्रो उद्देश्य भनेको कर्णालीमा हाम्रो पार्टीलाई पहिलो बनाउने हो । त्यही उद्देश्यका साथ हामी लागिरहेका छौं । अर्को कुरा, हामी कर्णालीमा कमजोर छैनौं भन्ने कुरा तथ्यहरुले बोलिरहेका छन् नै । हामीले केही दिनअघि हाम्रो पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेला पनि ग¥यौं । उत्साहजनक सहभागितामा भेला उपलब्धिमूलक रह्यो । जिल्ला–जिल्लामा भएका कार्यक्रम, अथवा स्थानीय स्तरमा गरिएका गतिविधिका कुरा गरौं, एउटा खालको छुट्टै लहर देखिएको छ । पार्टीमा प्रवेश गर्नेको संख्या पनि उत्साहजनक छ । यी सबै कुरालाई हेर्दा हाम्रो पार्टी कमजोर अवस्थामा छैन । प्रदेशमा बलियो उपस्थिति छ । आउने निर्वाचनमा राम्रो उपलब्धिका साथ सफलता प्राप्त गर्छौं भन्ने विश्वासका साथ हामी अघि बढिरहेका छौं ।

दुई दिनसम्म प्रदेशस्तरीय भेला गर्नुभयो । त्यो भेलाको सन्देशचाहिँ के थियो ?

—धेरै मान्छे जम्मा गरेर शक्ति प्रदर्शन उद्देश्य थिएन । हामीले अगुवा कार्यकर्ताहरु छनोट गरेर निर्धारित, परिभाषित नेता–कार्यकर्ताहरु उपस्थित गराएर प्रशिक्षण दियौँ र, संगठनात्मक क्षेत्रमा प्रदेश कमिटीलाई पूर्णता दिने, शपथ गराउने र प्रदेश कमिटीको बैठक गरेर केही महत्वपूर्ण निर्णय पनि गरेका छौं । साथै कार्यविभाजन पनि गरेका छौं भने केन्द्रीय कमिटीको निर्णयलाई आधार बनाएर कार्ययोजना पनि तयार गरेका छौं । आगामी कार्ययोजना सहित प्रदेशस्तरको भेलालाई सफलताका साथ सम्पन्न ग¥यौं । यसले कर्णालीमा एकीकृत समाजवादी निर्णायक र बलियो शक्ति हो भन्ने सन्देश दिनु थियो, त्यो हामीले दिएका छौं ।

कर्णालीमा नेकपा एकीकृत समाजवादी पहिलो हुन्छ त भन्नुभयो, त्यसको आधारचाहिँ के हो ?

— पहिलो पार्टी बनाउने उद्देश्य छ । त्यसका केही आधार छन् । हामीले निर्माण गरेको एमालेभित्रकै ठुलो पंक्ति हामीसँग छ । केही भ्रममा परेका साथीहरु पनि हामीसँग जोडिँदै जानुभएको छ । अन्य विभिन्न पार्टीबाट पनि आउने एउटा लहर नै चलेको छ । जनताले पनि नयाँ शक्तिको रुपमा आएको पार्टीलाई हेर्न पाएका छन् । मान्छेहरूको आकर्षण र हाम्रो सक्रियता नै हामी पहिलो नम्बरमा पुग्ने आधार हो । जिल्ला जिल्लामा संगठनात्मक रुपमा जसरी लागिरहेका छौं । अर्को कुरा, हामी सरकारमा पनि सहभागी छौं र विगतमा सरकारमा हुँदा पनि महत्वपूर्ण कार्य गरेका छौं । स्थानीयस्तरमा पनि हाम्रो पार्टीमा सनाखत गर्ने जुन लहर चलिरहेको छ, यी सबै तथ्यगत कुरालाई आधार बनाउने हो भने हामी पहिलो पार्टी बन्न सक्नेमा हामीलाई पुर्ण विश्वास छ ।

आगामी चुनावसम्म गठबन्धनलाई कायम राख्ने पनि भनिएको छ, अर्कोतिर तपाई आफ्नो पार्टी पहिलो हुन्छ भनिरहनु भएको छ, गठबन्धनकै आधारमा तपाईको पार्टी पहिलो हुने हो ?

—अहिले हामीले प्रतिगमनमा विरुद्ध आन्दोलनरत शक्तिहरूको बीचमा जुन गठबन्धन बनाएका छौं, त्यो केन्द्रदेखि प्रदेशस्तरसम्म सहज रुपमा अगाडि बढिरहेको छ । केन्द्रमा राजनीतिक दलहरुको, शीर्ष नेताहरुको संयन्त्र पनि निर्माण भएको छ । केही दिन पहिले राष्ट्रियसभा र उपनिर्वाचनहरुमा सहकार्य गरेर, तालमेल गरेर जानेखालको निर्णय पनि भइसकेको छ । यो समीकरण बनाउँदा आगामी निर्वाचनसम्म मात्र नभई त्यसपछि पनि सहकार्य गरेर गठबन्धन कायम राख्ने उद्देश्य निर्माण गरिएको छ । यही कुरामा हामी विश्वस्त छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप