संस्थापन इतरमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीकाे निर्विकल्प उम्मेदवार हुँ:  बद्री पाण्डे

person explore access_timeमंसिर १७, २०७८ chat_bubble_outline0
फोटो-कृष्ण खड्का

नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन् । बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए । उनी स्ववियु परिषदको सभापति पनि भए ।


२०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए । गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए । प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे । काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।



०७० मा भएको दोस्रो संविधान सभामा उनी समानुपातिक सांसद भए । १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए । ०७४ को आम चुनावपछि पाण्डे राष्ट्रि सभा सदस्य बने ।​ दुईवर्षे कार्यकालको गोला परेपछि २ वर्षअघि नै उनको कार्यकाल सकिएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) सक्ने तयारीमा छन् । १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने पाण्डेले घोषणा गरिसकेका छन् ।



काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका नेता पाण्डेसँग सहमहामन्त्रीको उम्मेदवारीका विषयमा रातोपाटीले गरेको कुराकानी–

तपाईं सहमहामन्त्रीको उम्मेदवार बन्ने पक्का हो ?

१२ औं महाधिवेशनमा तत्कालीन सेती अञ्चलबाट केन्द्रीय सदस्य जितेको थिएँ । १३ औं महाधिवेशनमा म खुला केन्द्रीय सदस्य लडेँ । विधानले पनि पनि पदाधिकारीको संख्या थपेर सहमहामन्त्री पद समावेशी बनाएको छ । संविधानको आठवटा कलस्टर अनुसार एउटा पिछडिएको पनि हो । म पिछडिएको क्षेत्रको बासिन्दा पनि भए । मेरो घर बाजुरा हो । त्यसकारण पिछडिएको क्षेत्रबाट सहमहामन्त्री उम्मेदवार हुन्छु । म सहमहामन्त्रीको उम्मेदवार बन्नेमा कुनै शंका छैन ।

जित्नुहुन्छ त ?

दुई कार्यकाल केन्द्रीय कार्यसमितिमा बसेँ । दुईपटक सांसद पनि गएँ । पार्टीको मात्र काम गरिरहेको छु । पार्टीको काममा देशभरिका सबै  जिल्लामा पटक–पटक फन्को मारेको छु । दुईपटक केन्द्रीय सदस्य लड्दा राम्रो मतले साथीहरुले जिताउनु भएको थियो । यसपटक पनि सहमहामन्त्री जित्नेमा विश्वस्त छु ।

तपाई  संस्थापन इत्तर पक्षमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको साझा उम्मेदवार बन्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

संस्थापन इत्तरबाट पिछडिएको क्षेत्रको सहमहामन्त्रीको उम्मेदवार बन्ने कोही देखेको छैन । तर, हामीले अहिले स.समूहगत निर्णय गरेका छैनौं । हामीले व्यक्तिगत रुपमा मात्र दाबी गरिहेका छौं । समूहगत रुपमा समूहले नै यो पदका लागि यो व्यक्ति उपयुक्त हुन्छ भनेर तय गर्ला । त्यसमा म सहामहामन्त्री उम्मेदवार बन्छु भन्नेमा विश्वस्त छु ।

संस्थापन पक्षमा सभापतिको साझा उम्मेदवार बन्न सकेको छैन । भोलि संस्थापन इत्तर पक्षबाट दुई वा दुईभन्दा बढी सभापतिका उम्मेदवार भएको अवस्थामा तपाईंको विकल्प खडा हुन सक्छ । त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?

पिछडिएको क्षेत्रका अरु साथीहरुसँग पनि संवाद गर्छु । पिछडिएका साथीहरु र त्यो भन्दा बाहिरका साथीहरुले पनि  मलाई नै सहमहामन्त्रीको उम्मेदवार हुन्छ भन्नु भएको छ । हाम्रो टीमा मेरो विरुद्धमा अर्को कोही उठ्छ जस्तो लाग्दैन । त्यसको सम्भावना देख्दिनँ ।

संस्थापन पक्षले पिछडिएको क्षेत्रबाट सहामहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई अगाडि सार्ने देखिएको छ । मुख्यमन्त्रीसँग प्रतिस्पर्धा गर्दा केही चुनौती देख्नुभएको छ ?

मेरो प्रतिस्पर्धा कोसँग हुन्छ निश्चित छैन । उहाँसँग मेरो कुरा पनि भएको छैन । उहाँसँग कुरा पनि गर्छु । पार्टीका साथीहरुसँगको मेरो संम्बन्ध र निरन्तरता राम्रो छ । काँग्रेसका महाधिवशन प्रतिनिधि हाम्रोबारे राम्रो जानकारी भएका साथीहरु हुनुहुन्छ । म हिजो पनि लड्दा अुनभव छ ।

सत्ताको राजनीतिले पार्टीमा केही प्रभाव पार्दैन । महाधिवेशन प्रतिनिधिले उच्चतम विवेक प्रयोग गर्नुहुन्छ । उहाँहरुले टीम मात्र पनि भन्नुहुन्न । दुई वटा महाधिवेशन मैले आफै सहभागी भएर हेरेँ । एउटै टीमका मान्छे जितेको देखिँदैन । सबै टीममा मान्छे जितेको देखिन्छ । यो मेरो टीमको हो यसलाई जिताउ नै पर्छ, यो मेरो टीमको होइन यसलाई हराउनुपर्छ भन्ने खालको मनोविज्ञान पनि मैले देख्दिनँ । एकदम विवेक प्रयोग गरेर व्यक्तिको उपयोगिता, क्षवि, योग्यता र इमान्दारिताई हेरेर जिताएको देखिन्छ ।

 सभापतिमा प्रतिस्पर्धा फरक किसिमको हुन्छ । बाँकी पदहरुमा व्यक्तिगत रोजाइका आधारमा इत्तर टीमबाट भोट आउछ ।  साथीहरुको कुराकानीमा पनि यो टीम । त्यो टीम भन्नुभएको छैन । निकै सकारात्मक कुरा गर्नुभएको छ । साथीहरुसँग कुराकानीबाट म निकै उत्साहित छु । महाधिवेशन प्रतिनिधिबाट ढाडस र विश्वास मैले प्राप्त गरेको छु ।

सहमहामन्त्री कलस्टरमा मात्र सीमित भयो । खुला सहमहामन्त्री थप्नुपर्छ भन्ने आवाज पार्टीभित्र उठिरहेको छ । यसमा तपाईंको धारणा के हो ?

हो, यसमा कुरा उठिरहेको छ । विधानलाई एक पटक पनि अभ्यासमा नल्याएर बदल्नु गलत हो । तर म खुलाफर्त सहमहामन्त्री थप्ने कुरामा अनुदार छैन । केन्द्रीय समिति र महासमितिले त्यो कुरा पास गर्छ भने म अनुदार छैन ।

अनुदार छैन भन्नुभयो । सहाहामन्त्री खुलातर्फ थप्ने कुरा आवश्यक हो कि होइन ?

विधान बनाउँदा सभापति, उपसभापति महामन्त्री खुला भएपछि सहमहामन्त्रीमा समावेशी राख्ने कुरा भएको हो । जम्मा पदाधिकारी खुला पनि छ, समावेशी पनि छ भन्ने सिद्धान्तमा विधान बनेको हो ।

गोविन्द भट्टराई दाइले भने जस्तै आज त्यो सिद्धान्त सच्याउनुपर्छ भनेर आवाज उठ्छ भने अनुदार हुनुपर्ने कुरा केही छैन । महाधिवेशनले त्यसलाई स्वीकार गरेर अनुमोदन गर्नपर्छ ।

महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीमा बद्री पाण्डेलाई नै भोट दिनुपर्ने कारण के छ ?

 मैले पार्टीकाप्रति विशेष लगाव राख्छु । राजनीतिमा दुई थरी मान्छे देख्छु । एउटा पावर पोलिटिक्समा रमाउनुहुन्छ । मन्त्री, प्रधानमन्त्री भएर सत्तामा भएपछि पार्टी बनिहाल्छ भन्ने एउटा चिन्तन छ । दास्रो भनेको पार्टी भयो भने सत्ता प्राप्त हुन्छ भन्ने छ । म दोस्रो चिन्तन राख्ने मान्छे हुँ ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला बालुवाटारको बसाइ उहाँलाई उकुस मुकुस भएको थियो । उहाँ साथीहरुको बीचमा जान पाइन भनेर छट्पटिएको देख्थेँ । उहाँको चरित्र सत्ता राजनीतिभन्दा संगठन निर्माण गर्ने खालको थियो भन्ने मेरो अनुभव छ । मेरो पनि संठनतिर लगाव छ । नेविसंघमा लाग्दा होस्  वा पार्टीमा लाग्दा म जहिले संगठन निर्माणमा लाग्ने मान्छे हो । त्यसैले साथीहरु मेरोबारेमा जानकारी पनि राख्नुहुन्छ ।

मैले संगठनका लागि के गर्नुसक्छु, संगठन कति बुझेको छु, हामी पदाधिकारीमा नहुँदा पार्टीको वैचारिक र नीतिगत धार कमजोर हुन्छ कि, पार्टीका मल्यमान्यता कमजोर हुन्छन् कि भन्ने साथीहरुमा गहिरो बुझाइ पाएको छु । हामीले केन्द्रीय सदस्यका रुपमा निर्णायक भूमिका निर्वाह गर्न सकेनौं । पदाधिकारीमा गए निर्णाय भूमिका निर्वाह गर्न सक्छ ।

सहमहामन्त्री भएपछि कार्यसम्पादन समिति,संसदीय बोर्ड, र पदाधिकारी तहमा सहभागी हुन पाइन्छ । विभिन्न नीतिगत निर्णय हुने ठाउँमा हामी पुग्छौं । यसले पार्र्टीलाई सही दिशाा दिन र पार्टी निर्णय कार्यान्वयमा योगदान दिन सकिन्छ भन्ने लाग्छ । मन्त्री, प्रधानमन्त्री बनेर पावर पालिटिक्स गर्ने भन्दा पनि पार्टी निर्माण गर्न चाहन्छु । पार्टी सुध्रिए राजनीति सुध्रिन्छ, राजनीति सुध्रिए देश सुध्रिन्छ । बहुदलीय व्यवस्थाको लिडिङ पार्टी हो । काँगेस सुध्रिए अरु पार्टी पनि सुध्रिन्छन् । हामीले पार्टी सुदृढीकरणको कुरा गरिरहेका छौं । अब पार्टीमा सुदृढीकरणको पनि अभियान चलाउनुपर्छ । त्यसैले मेरा लागि म र पार्टीका लागि अपरिहार्य हो भन्ने संकल्प जोडिएको छ ।

काँग्रेस शीर्ष तीन –चार नेताको तजबिजमा चल्ने गरेर तपाईले दुई कार्यकाल केन्द्रीय सदस्य हुँदा पनि देख्नुभएकै छ । सहमहामन्त्री हुँदैमा दिशा निर्देशन गर्नसक्नु होला र ?

केन्द्रीयको आकार ठूलो हुँदै गएको छ । केन्द्रीय कार्यसमितिमा व्यापक छलफल हुने अवस्था हुने छैन । अहिले पनि सबै जसो निर्णय पदाधिकारी र पूर्वपदाधिकारीले गरेको देख्छौं । पदाधिकारी तहमै निर्णयको प्रारुप तयार हुने भएकाले हामी त्यहाँ पुगेपछि केही न केही प्रभाव पार्छ । केन्द्रीय कार्यसमितिमा पेस हुने प्रस्ताव तयार पार्ने ठाउँमै हाम्रो भूमिका हुन्छ । त्यसैले पार्टीलाई सही दिशा दिन योगदान पुर्याउन सकिन्छ भन्ने हामीलाई लागेको छ ।

तपाईंहरुले काँग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि जबरजस्त उठाइराख्नुभएको छ । १४ औं महाधिवेशन नेतृत्व परिवर्तन सक्न सक्छ ?

मलाई गर्छ जस्तो लाग्छ । पार्टीभित्र नेतृत्व परिवर्तनको पक्षमा जनमत देख्छु । पार्टी बाहिरबाट पनि नेतृत्व परिवर्तनको पक्षमा जबरजस्त जनमत छ । जिल्लासम्मको अधिवेशन सम्पन्न हुँदा नेतृत्व परिवर्तनको पक्षमा जनमत देखिएको छ । त्यसलाई केन्द्रमा एकीकृत गरियो भने नेतृत्व परिवर्तन गर्छ भन्ने मलाई लागेको छ ।

नेतृत्व परिवर्तनको जनमत केन्द्रमा एकीकृत हुने छनक देखिएको छ । बरु केन्द्रमा तितर–वितर भएको अवस्था छ । संस्थापन इतर पक्षबाट दुई वा दुईभन्दा बढी उम्मेदवार भए पनि नेतृत्व परिवर्तन गर्न सक्नुहुन्छ ?

एकजना मात्र उम्मेदवार दिने कुरामा हामी प्रयत्नशील छौं । नेताहरुले हामी एक ठाउँमा उभिन्छौं । एकजना उम्मेदवार खडा गर्छु भन्नुभएको छ । साझा उम्मेदवार खडा गर्न उहाँहरुमाथि अहिले पनि दबाब परिरहेको छ । अहिलेसम्म केन्द्रीय समितिमा भएकाहरुले दबाब दिएमा थियौं । अब नवनिर्वाचित जिल्ला सभापति, महाधिवेशन प्रतिनिधिले पनि दबाब दिन थाल्नुभएको छ ।

मनोनयन गर्नु अगाडि भए पनि उहाँहरु एक हुनुहुन्छ । तपाईंहरु एक हुनुभयो भने हामीले जित्नेमा कुनै दुविधा छैन । हामी सबै तपाईंहरुको नेतृत्वमा जान्छौं । तर, एक हुनुभएन हामीले पनि सोच्नुपर्छ भने हामीले भनेका छौं ।

किनभने पार्टीभित्रको चुनावमा हार्नेको पछाडि एकदम कम मान्छे मात्र लाग्छन् । जित्ने माहोल भएन भने जित्ने मान्छे यही हो भनेर अर्कोतिर लाग्ने अवस्था हुन्छ । त्यसैले तपाईंहरु एक जनाभन्दा बढी उम्मेदवार बन्ने मूर्खता नगर्नुस् भनेर धेरै साथीहरुले पनि भन्नुभएको छ । अहिले सबैले आफू बन्नका लागि प्रत्यत्न गर्नु भएको छ । आफू भन्न सकिएन भने आफ्नो बनाउने बाटोमा जानुहुन्छ ।

संस्थापन इत्तर पक्षबाट साझा उम्मेदवार भन्ने सम्भावना बलियो कसको देख्नुभएको छ ?

अलि बढी पहल कदमी वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेको देख्छु । उहाँले बैठक पनि बोलाइराख्नुभएको छ । विभिन्न प्रस्ताव पनि राख्नुभएको छ । उहाँले आगामी आम निर्वाचनसम्म मात्र सभापति चलाउँछु र त्यसपछि कार्यवाहक दिन्छु भन्ने उहाँको प्रस्ताव छ ।  अन्य नेताहरुले एक पद एक व्यक्तिका कुरा पनि गर्नुभएको छ । सभापति भएको मान्छे प्रधानमन्त्री नहुने प्रस्ताव पनि आएको छ । राष्ट्रपतिको कुरा पनि छ । पावर सेरिङको कुरा पनि हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।