शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईबीएलका सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ४१
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल भएको बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडेले जानकारी दिए । 

आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने कुल चुक्तापूँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ खर्ब ६८ अर्ब रूपैयाँबाट बढेर १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी, कुल लगानी अघिल्लो वर्षको १ खर्ब ४० अर्ब रूपैयाँबाट वृद्धि भइ १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

हाल देशभर यो बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउण्टरहरू, १० राजस्व संकलन काउण्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टर विस्तार गरेको छ । एनआईबीएलले पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप