बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नेतृत्व हत्याउन राप्रपामा कसिए कमल र राजेन्द्र, इच्छाराजविरुद्ध मुद्दा

शुक्रबार, १७ मङ्सिर २०७८, २१ : ३६
शुक्रबार, १७ मङ्सिर २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १७ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. राप्रपा महाधिवेशनको रौनक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिका एक सदस्यका अनुसार थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन् । यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका छन् ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र  ध्रुवबहादुर प्रधान गरी ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै महामन्त्रीमा डा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देन प्यानलसहित मैदानमा छन् ।    थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार रहेका छन्  । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।

यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् । 

थप समाचार

२. किन बोलाइयो संसद बैठक

सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् । खासगरी सरकारले एमसीसी परियोजनालाई संसदमा प्रवेश गराउन खोजेको एमाले र माओवादी केन्द्रले आशंका गरेका छन् । यसका साथै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदले महाअभियोग लगाउन सक्ने चर्चा पनि चलेको छ ।

३. इच्छाराजविरुद्ध मुद्दा

 ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरुद्ध २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित तामाङ विरुद्ध मुद्दा दायर गरेको हो ।

४. काँग्रेस प्रदेश अधिवेशन

प्रदेश महाधिवेशनमा व्यस्त काँग्रेसको निर्वाचन प्रक्रिया सुरु भएको छ । आज विभिन्न प्रदेशमा आकाँक्षीले नेतृत्वका उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयन गर्दै प्रदेश अधिवेशन शनिबार सक्ने काँग्रेसको कार्यतालिका रहेको छ । काँग्रेसको महाधिवेशन भने मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ ।

​५. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।

​६. कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ ।

७ ओलीद्वारा पदभार ग्रहण

एमालेको चितवन महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहितका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर ओलीलगायतले पदभार ग्रहण गरेका हुन् ।

पार्टी कार्यालयमा अध्यक्षसहितका नवनिर्वाचित पदाधिकारीलाई पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गरेका थिए ।

​यो पनि छुट्यो कि?

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप