शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिना कैफ र विक्की कौशलको विवाहको तयारीमा जुट्यो राजस्थान

शनिबार, १८ मङ्सिर २०७८, १० : २९
शनिबार, १८ मङ्सिर २०७८

पछिल्लो थुप्रै दिनदेखि मिडियामा बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाहको खबर आइरहेको छ । दुबै सेलिब्रिटीले यसबारे पुष्टि गरेका छैनन् तर राजस्थानको प्रशासन यी दुई सेलिब्रिटीको विवाहको विषयमा कानुन व्यवस्था बनाइराख्नका लागि तयारीमा जुटेको छ ।

शुक्रबार यो विवाहको विषयमा सवाई माधोपुरमा जिल्लाधिकारी राजेन्द्र किशनको अध्यक्षतामा एक बैठक बोलाइयो । यसमा वेडिङ प्लानर्स, होटल मालिक, प्रहरी अधिक्षकसमेत सबै अधिकारी उपस्थित थिए ।

बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगको कुराकानीमा भने, ‘स्थानीय प्रशासनसँग बैठक गरिएको छ । सरसफाई र कानुन व्यवस्था स्थापित राख्नका लागि निर्देशन दिएका छन् । कुनै घटना नहोस् र ट्राफिक–यातायात सहज रहोस् भन्नका लागि छलफल भइरहेको छ ।’

कलेक्टरका अनुसार विवाह समारोह ७ देखि १० डिसेम्बरसम्म चल्नेछ र यसमा १२० पाहुनाको उपस्थिति हुनेछ । उनले यसमा कोरोनाको सुरक्षाका लागि बनाइएको नियमलाई ध्यानमा राखिने बताएका छन् ।

कलेक्टर राजेन्द्र किशनले भने, ‘कोभिड प्रोटोकलको पालनाका लागि पनि निर्देशन दिइएको छ । विवाहमा सरिक हुने पाहुनाले दुबै डोज खोप लगाएको हुनुपर्नेछ । होटल प्रबन्धनले पनि आफ्नो स्टाफका लागि हेल्प डेस्क राखेको छ । पाहुनालाई उनीहरुले दुबै खोप लगाएको हुनुपर्ने र उनीहरुको आरटीपीसीआर परीक्षण गर्नुपर्ने आग्रह गरिएको छ । खोप नलगाएकालाई विवाहमा प्रवेश दिइने छैन ।’

यसअघि सवाई माधोपुर जिल्लाका जनसम्पर्क अधिकारी सुरेश गुप्ताले बीबीसीसँगको कुराकानीमा यो बैठकबारे सवाई माधोपुरका जिल्ला कलेक्टर कार्यालयको एक पत्रको पुष्टि गरे ।

सवाई माधोपुरका अतिरिक्त जिल्ला कलेक्टर डा. सुरज सिंह नेगीले यो पत्रमा स्पष्ट लेखेका छ, ‘अभिनेता श्री विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह समारोहको आयोजनाभन्दा अघि हुने भीड नियन्त्रण, कानुन व्यवस्था एवं सम्भावित स्थितिको आँकलन एवं आवश्यक व्यवस्था सुनिश्चित गरिने हेतुले जिल्ला कलेक्टर महोदयको अध्यक्षतामा कलेक्ट्रेट सभाघरमा बैठकको आयोजना राखिएको छ ।’

यद्यपि, विवाहको घोषणा कट्रिना र विक्की कौशलले अहिलेसम्म गरेका छैनन् । तर विवाहको कार्यक्रमका लागि पाहुना चार डिसेम्बरदेखि आउन सुरु गरिरहेका छन् ।

बरवाडा फोर्टमा विवाहका लागि ठूलो संख्यामा पाहुनाका लागि चारदेखि १२ डिसेम्बरसम्म कोठा बुकिङ गरिएको छ ।

विवाहका लागि चार डिसेम्बरदेखि आउन सुरु भएपनि मिडिया रिपोर्ट अनुसार कट्रिना कैफ र विक्की कौशल ६ डिसेम्बरमा मात्रै सवाइ माधोपुर पुग्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप