शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल सहकारीका श्रेष्ठको बयान – म नाम मात्रको अध्यक्ष, सबै कारोबार इच्छाराजले गर्थे

‘सिभिल ग्रुपको सम्पत्ति बिक्री गरेर बचतकर्ताहरूको रकम चुक्ता गर्छौँँ’
शनिबार, १८ मङ्सिर २०७८, १३ : ४१
शनिबार, १८ मङ्सिर २०७८

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले संस्थामा आफू नाम मात्रको अध्यक्ष रहेको बताएका छन् । बि.स् २०६७ सालदेखि संस्थाका अध्यक्ष रहेका श्रेष्ठले सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा यस्तो बताएका हुन् ।

उनले अभियोग पत्रमा भनेका छन्, ‘आर्थिक कारोबार इच्छाराज तामाङले हेर्ने र आफू प्राविधिक काम मात्रै हेर्ने गरेको छु ।’ इच्छाराज तामाङ २०६७ सालमा सिभिल बैङ्कको सञ्चालक समितिको अध्यक्ष बनेकाले सहकारीको अध्यक्षमा बस्न नपाउने भएकाले आफूलाई अध्यक्ष चुनिएको श्रेष्ठको भनाई छ ।

यद्यपि, तामाङ संस्थामा विशेष सुविधासहितको विशेष सल्लाहकारको भूमिकामा नियुक्त भएका थिए । विशेष सुविधा भएकाले सहकारीको सम्पूर्ण काम कारबाही उनैले गर्ने गरेको अध्यक्ष श्रेष्ठले अभियोग पत्रमा बयान दिएका छन् । यद्यपि, सहकारीको सम्पूर्ण चेकमा श्रेष्ठको सही चाहिन्थ्यो ।

श्रेष्ठको बयान:–

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको २०६७ साल देखि हाल सम्मको अध्यक्ष हुँ । आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु । मिति २०६७ सालमा निज इच्छाराज तामाङ सिभिल बैकको सञ्चालक समितिको अध्यक्ष भएको कारण सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको समेत अध्यक्षको रूपमा कार्यरत रहन नमिल्ने भएको हुँदा संस्थाको दशौं साधारण सभाबाट मलाई अध्यक्षको रूपमा नियुक्त गरेको थियो भने निज इच्छाराजलाई सहकारीको विशेष सुविधासहितको विशेष सल्लाहकारको पदमा नियुक्त गरी सहकारीको सम्पूर्ण काम कारबाही गर्ने जिम्मा दिएको हो । म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रूपमा बसेको हुँ । 

सम्पूर्ण निर्णय र व्यवस्थापन इच्छाराज तामाङले गर्ने गरेका थिए । सहकारीबाट भुक्तानी हुने चेकहरूमा मेरो सही अनिवार्य चाहिन्छ भने हालका लेखा अधिकृत राकेश महर्जन र नायव महाप्रबन्धक रञ्जना महर्जनमध्ये १ जनाको सही भएपछि चेकहरू भुक्तानी हुने गरेको थियो । कहिले काहीँ काममा व्यस्त भएको भएको समयमा सहकारीको खाली चेकहरूमा हस्ताक्षर गरी दिने गरेको थिए ।

उक्त सहकारीबाट बचत सङ्कलन गरी बचतको लगानी गरी लगानीको प्रतिफल बचतकर्ताहरू तथा शेयर सदस्यहरूलाई वितरण गर्ने कार्य सहकारीको रहेको थियो । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स समेतका नाममा कर्जा प्रवाह गर्दा सहकारीको आधारभूत प्रक्रिया पुरा गरी सहकारीको विनियम अनुसार कर्जा प्रवाह गर्ने गरेको थियो । जुन, सहकारीको प्रारम्भकालदेखिकै कायम रहेको कर्जा हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स समेतका कम्पनीलाई कर्जा प्रवाह गर्ने निर्णय उक्त सहकारीको पुर्व अध्यक्ष तथा विशेष सल्लाहकार इच्छाराज तामाङको सहमति अनुसार सञ्चालक समितिको विभिन्न मितिको निर्णयबाट भएको हो । इच्छाराज तामाङ र म शेयर सदस्य रहने गरी सिभिल होम्स समेत गरेर १८ वटा कम्पनीहरू छन् । जसमध्ये केही कम्पनीहरू बन्द अवस्थामा रहेका छन् । सिभिल होम्सको नाममा सुनधारा चाईनाटाउनमा रहेको ६ रोपनीमा रहेको ११ तल्ले भवन १ वर्ष अगाडी अजयराज सुमार्गीको कम्पनी मुक्ति श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोडमा बिक्री गरेका हौ । सो जग्गा बिक्री गरेर आएको के कति रकम निज इच्छाराज तामाङले सहकारीमा जम्मा गरे मलाई थाहा भएन ।

सिभिल सहकारीमा मिति २०७५ साल देखिनै साधारण सभा हुन सकेको छैन । साथै अडिट रिपोर्ट समेत पास हुन सकेको छैन । विगत ३ वर्ष अगाडिदेखि सहकारीमा कुनै पनि बचत रकम आएको छैन । साथै नयाँ लगानी पनि भएको छैन । मलाई थाहा भएसम्म करिब सात अर्बभन्दा माथि बचत रकम सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा बचतकर्ताहरूबाट जम्मा हुन आएको छ । इच्छाराज तामाङले ऋण प्रवाह गर्ने योजना तयार गरी सहकारीका अन्य सञ्चालकहरूलाई बोलाई निज अध्यक्ष रहेको सिभिल ग्रुप अन्तर्गतको प्रोजेक्टहरूलाई ऋण प्रवाह गर्ने योजना सुनाउनु हुन्थ्यो र माईन्युट तयार गरी सहकारीका सञ्चालकहरू र निज इच्छाराज तामाङ समेतको हस्ताक्षर गरी निर्णय भई सिभिल ग्रुप अन्तर्गतको कम्पनीको नाममा चेक भुक्तानी गर्ने गरिएको थियो ।

निज इच्छाराज तामाङले सहकारीबाट बैठक भत्ता बाहेक मासिक पाँच लाख पारिश्रमिक लिने गरेका छन् । साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरूबाट समेत मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन् । मैले सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरूबाट जम्मा मासिक दुई लाख पारिश्रमिक लिने गरेको छु ।

सिभिल सहकारीबाट ऋण प्रवाह हुँदा सहकारीको विनियम अनुसार आधारभूत प्रक्रिया पुरा गरी सहकारीको प्रारम्भकाल देखि कायम भएको प्रक्रिया अनुसार ऋण प्रवाह भएको साथै उक्त ऋण रकम बराबरको सम्पत्ति सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स, सिभिल स्टेट्स, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल अपार्टमेन्ट र सिभिल ग्रुप प्राईभेटको नाममा समेत जग्गा तथा भवन रहेकाले पटक÷पटक उक्त ऋण प्रवाह भएको हो ।

सिभिल होटल कम्पनी दर्ता गरेर उक्त होटलको नाममा रहेको मेरो भागको सेयरको रकम पुर्‍याउनका लागि सिभिल बैङ्कमा मेरो नामको खातामा निज इच्छाराज तामाङले पटक पटक १४ लाख ४० हजार रुपैयाँ हाल्दिएका थिए । सोही १४ लाख ४० हजार मैले सिभिल बैङ्कमा रहेको सिभिल अपार्टमेन्टको खातामा पटक पटक जम्मा गरिदिएको थिए । सिभिल होटलले मेरो खातामा पटक पटक गरी १० करोड २० लाख जम्मा गरेको देखिन आएको छ । सो रकम मेरो होइन निज इच्छाराज तामाङले कम्पनीको आवश्यक प्रक्रिया प्रक्रिया पुरा गर्न सिभिल होटलको खाताबाट मेरो खातामा हाल्दिएका मात्र हुन ।

स्ट्याण्डर्ड चार्टड बैंकबाट ऋण लिई मैले आफूले चढ्ने टक्सन गाडी निकालेको हुँदा उक्त गाडीको किस्ता स्वरूप आफ्नो पारिश्रमिकबाट उक्त रकम स्ट्याण्डर्ड चार्टड बैंक नेपालको मेरो नामको खातामा जम्मा गरेको हुँ । सिभिल सहकारीको ऋण सिभिल होम्स समेतका कम्पनीहरूको नाममा रहेका जग्गा, भवन लगायतका सम्पत्तिहरू बिक्री गरी बचतकर्ताहरूको सावाँ र ब्याजसहितको रकम चुक्ता गर्छौँ । सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स समेतमा ठूलो लगानी भएको कारणले तत्काल बचतकर्ताहरूको एकमुस्ट रकम फिर्ता गर्न नसकेको कारण समस्या देखिएको मात्र हो । मेरो नाममा भएको शेयरको रकम निज इच्छाराज तामाङले कम्पनीको प्रावधान मिलाउन राख्दिने गरेका थिए । सो कम्पनीहरूको शेयर खरिद गर्न मैले कुनै लगानी गरेको छैन ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप