शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुगु एक सातादेखि अन्धकार

शनिबार, १८ मङ्सिर २०७८, १४ : २९
शनिबार, १८ मङ्सिर २०७८

हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २.२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेसिनमा माकुराले जालो बनाएको छ भने अर्को मेसिनले पनि बिजुली उत्पादन नगर्दा एक सातादेखि सदरमुकाम गमगढी बजारसहितका बस्ती अन्धकार बनेको छ । यहाँका तीन हजार एक सय ग्राहक विद्युत सेवाबाट बञ्चित बनिरहेका छन् ।

एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा गमगढी बजारमा ब्यवसाय गर्दै आएका पसल, होटल, उद्योग कलकारखाना, सरकारी कार्यालय, संघ संस्था, शैक्षिक संस्थान र बैकिङ कारोबार गर्दै आईरहेका संस्थानहरू सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंगाप्रसाद न्यौपानेले बताए । मोबाइल चार्ज गर्न पनि एक सय रुपैयाँ तिर्नु परेको स्थानीय मणिचन्द्र भामले बताए ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्ज प्रमुख र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसँग यस विषयमा कुरा भएको बताए । विद्युत नियमित गर्न पहल पनि भइरहेको उनले बताए । तर, यो मेसिन सञ्चालन गरी प्रयोगमा आए पनि मेसिन पुरानो भएको हुँदा पुनः चाडै बिग्रने सम्भावना भएकाले राष्ट्रिय प्रशारण लाइन पुर्याउन सरोकारवाला सबैलाई अनुरोध र पहल कदमी गर्न आग्रह गरिएको उनले बताए ।

जेनेरेटरको बेरिङ्ग, एक्साईटेसन आरर्मिचर मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो । विद्युत सञ्चालनको लागि नेपालगन्जबाट विद्युतका सामानसहित दक्ष प्राविधिक झिकाएको भए पनि मौसमका कारणले आउन सकेका छैनन् । एक दुई दिनभित्रै दक्ष प्राविधिकले मर्मत पश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने जनाइएको छ । नयाँ मेसिन खरिद भइसके पनि मेसिन केरुङमा अड्किएको गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेमप्रसाद पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप