शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिलान्यासमा हतारो : नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन

शनिबार, १८ मङ्सिर २०७८, १७ : ४९
शनिबार, १८ मङ्सिर २०७८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए । त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने उद्घोष पनि भएको थियो । 

तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नाै महिनासम्म काम नै सुरु भएकाे छैन । जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए । यद्यपि, बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरिसकेको छ । २१ बिघा क्षेत्रफलमा बन्ने औद्योगिक पार्क चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले निर्माण गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । जहाँ एक सयभन्दा बढी विभिन्न उद्योग बन्नेछ । सुरुको दुई वर्षमा कम्तीमा २५ उद्योगको भौतिक पूर्वाधारको निर्माण सक्ने भनिएको थियो । यहाँ निर्माण सम्पन्न हुँदासम्म चिनियाँ कम्पनीले साढे तीन सय अर्बसम्म लगानी गर्ने उनले बताए । 

लगानी बोर्डले ढिलाई गर्दा काम सम्पन्न हुन नसकेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार लगानी बोर्डले विस्तृत योजना सम्झौतामा ढिलाई गर्दा फिल्डमा काम हुन सकेको छैन । ‘सबै काम सकिएको छ । चिनियाँ टोलीले फिल्डमा माटो परीक्षणको काम पनि सकेको छ,’ उनले भने, ‘अब प्रोजेक्ट डिटेल एग्रिमेन्टका लागि लगानी बोर्डमा छ । यो अन्तिम प्रक्रिया हो । लगानी बोर्डमा छलफलको क्रममा छ । यो चिनियाँ कम्पनी र नेपाल सरकारबीच हुने सम्झौता हो ।’

लगानी बोर्डले जति चाडो गर्‍यो त्यति नै छिटो भौतिक संरचनाको काम पनि सुरु हुने उनले बताए । ‘हामीले जग्गा व्यवस्थापनको काम सकेका छौँ । अब लगानी बोर्डले पीडिएको काम जति छिटो गर्‍यो त्यति छिटो काम हुन्छ । हामीले गर्ने जग्गा व्यवस्थापनको काम सकिएको छ,’ उनले भने, ‘फिल्डमा अहिले केही पनि हुन्न । लगानी बोर्डले काम सकेपछि मात्र चिनियाँ कम्पनीले काम गर्छ । लगानी बोर्डले पहिल्यै सक्नुपर्ने हो । तर, अझै दुई/ तीन महिना त लाग्ला ।’  बोर्डले ढिलाई गरे चिनियाँ कम्पनी फर्कन पनि सक्ने उनले चेतावनी दिए । ‘सरकार परिवर्तन भयो । पुरानो सरकारले गरेका कुनै पनि काम अघि बढेको छैन । उद्योग मन्त्री पनि हुनुहुन्न,’ बस्नेतले भने, ‘उस्तै पर्‍यो भने त फर्कन्छ । भनेको समयमा उनीहरूको त काम हुनुपर्छ ।’

ओलीको निर्वाचन क्षेत्रस्थित दमक, कमल र गौरादहको संगमस्थल रतुवा नदीको बगरमा बन्ने औद्योगिक पार्क निर्माण हुनेछ । ओलीले शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ । त्यो क्षेत्रमा निर्माणको नाममा ओलीले शिलान्यास गर्दाको स्तम्भ मात्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप