शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियो

शनिबार, १८ मङ्सिर २०७८, १९ : ३१
शनिबार, १८ मङ्सिर २०७८

दुई पटक पछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मर्स्याङ्दीले संकटा क्लबसँग बराबरी खेल्दा च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले पनि बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्दा दिनको दोस्रो खेलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

पुनरागमनमा अंक खोसेको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजि यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ । २–२ को बराबरी खेल्दै अंक बाड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक÷एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन । त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । बैकल्पिक खेलाडीको रुपमा  मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए । 

प्रतिस्पर्धात्मक बनेको लिगको दोस्रो खेलमा च्यासलले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा एनआरटीसँग अंक बाड्न पुगेको हो ।  ४३ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई १–० को अग्रता दिलाएका थिए । कमल श्रेष्ठको कर्नरमा एनआरटीका मेसौकेले हेडरमार्फत क्लियर गरेको बलमा पेनाल्टी एरिया भित्र रहेका रुमेशले भली गोल गर्दै टोलीको अग्रता निकालेका हुन ।

त्यसपछि खेलको ७८ औं मिनेटमा एनआरटीका दिपेश दृश्यले गोल गर्दै खेल बराबरीमा ल्याए ।  बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले गोल गर्दै एनआरटीलाई बराबरीको अवस्थामा ल्याएका हुन । त्यसपछि दुबै टोली गोलका लागि निकै संघर्ष गरे पनि थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै च्यासलले ३ खेलमा ४ अंक जोडेको छ । एनआरटीले ३ खेलमा २ अंक जोडेको छ । खेलमा च्यासलका बिराज महर्जन म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयरको अवार्ड च्यासलकै रुमेश बर्तौलाले बाजी मारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप