शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विजयी भएलगत्तै लिङ्देनको प्रतिक्रिया– ६ महिनाभित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउँछु

आइतबार, १९ मङ्सिर २०७८, १२ : २५
आइतबार, १९ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र  लिङ्देनले ६ महिनाभित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंस्था र हिन्दूराष्ट्र चाहिन्छ भन्ने सबै संघ–संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन् ।

‘राप्रपा बाहिर भएका राजसंस्था र हिन्दूराष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने । उनले राप्रपाको कमिकमजोरी सच्याएर काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए । 

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदै खिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने,  ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकरण गर्यौं । एकीकरण गरेको दुुई वर्ष बित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरु देखाउनुभएन । यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप