ad
x
फिचर

फराकिलो ‘क्षितिज’

जन्मजात बौद्धिक अपाङ्ग भएका युवकको मनमोहक चित्रकला (भिडियो)

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

उनको श्रवण शक्ति कम छ तर चित्रको आवाज स्पष्ट सुन्छन् । बोलीमा समस्या छ तर आफ्ना भाव सहजै कलामार्फत् व्यक्त गर्छन् । उनका छालामा केही दाग छन् तर ‘स्केच’ असाध्यै ‘क्लिन’ । शारीरिक रूपमा फिट तर बौद्धिक अपाङ्गता भएका उनी ‘आर्ट’ मा औधी रमाउँछन् । त्यसैले, उनले कोरेको ‘फाइनल आउटपुट’ देख्ने जो कोहीले भन्छ, ‘वाउ, क्या गज्जबको चित्र ।’


पढाइको अलावा चित्र कोर्न औधी रुचाउँछन् २० वर्षे युवा क्षितिज बानियाँ । भाग्यले ठगिएर उनी जन्मजात बौद्धिक अपाङ्ग छन् । उनी हरेक दिन ललितपुर सानेपा–२, स्थित ‘सि आशा फाउन्डेशन’द्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र पुग्छन् । नुवाकोट घर भई सामाखुसी बस्दै आएका उनलाई फाउन्डेशनकै भ्यानले स्कूल आउजाउमा सघाउँछ । 





कतिपयले ब्यक्तिको बौद्धिकताभन्दा पनि उसको शरीरको हाउभाउमा बढ्ता ध्यान दिन्छन् । यो कुरा क्षितिजले पनि राम्रोसँग हेक्का राखेका छन् । ‘मैले बोलेको अरुले नबुझिदिने हो कि, मलाई हेप्ने, जिस्काउने पो हुन् कि ?’ नयाँ मान्छे भेट्दा, नयाँ ठाउँ जाँदा उनका मनले यस्तै यस्तै विभिन्न प्रश्न केलाउँछन् । त्यसैले त उनी अन्जान व्यक्तिसँग खासै खुल्दैनन्, नजिक नै पर्दैनन् । रातोपाटीले उनीसँग कुरा गर्न खोज्दा पनि उनी खासै खुल्न चाहेनन्् । उनको बारेमा जान्न उनलाई पछिल्लो एक वर्षदेखि हेरविचार गरिरहेकी शिक्षिका देवी घिमिरेसँग उनका आनीबानीबारे हामीले कुरा गर्यौं ।  



‘सि आशा फाउन्डेशन’ले जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षालगायतमा टेवा दिएको छ, उनीहरुको जीवन र दैनिकी सहज तुल्याउने काम गरेको छ ।  



...



बिहान पाठशाला आएपछि उनी अन्य विद्यार्थी सरह व्यायाम गर्छन्, पिटी खेल्छन् । सँगै बसेर खाना खान्छन् । खानापछि कक्षा छिर्छन्, पढ्छन् र सीपमूलक काम अन्तर्गत चित्र कोर्न थाल्छन् । उनले विशेषतः नेपाल झल्काउने चित्र बनाउँछन् । पहाड, गाउँले परिवेशका घर, नेपाली आमा, कुमारी, कार्टुनका क्यारेक्टरलगायत व्यक्तिको स्केचसमेत दुरुस्तै उतार्छन् । कसैले परिकल्पना गर्न सक्तैन कि यी कुनै बौद्धिक अपाङ्गले कोरेका चित्र हुन् ।



क्षितिजको दक्षता के मा छ, त्यो कुरा पहिल्याएर संस्थाले उनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराएको छ । शिक्षिका देवी भन्छिन्, आफूलाई चाहिने रङ, पेन्सिल, आर्ट पेपर सूची बनाएर दिन्छन् । हामीले अफिसमा बुझाइदिन्छौं । अफिसबाट उनलाई चाहिने सामग्री उपलब्ध गराइन्छ ।’

कुन चित्र बनाउन कस्ता रङ चाहिन्छ, कस्ता पेन्सिलको आवश्यकता पर्छ, त्यो त्यहाँका शिक्षिकाहरु पनि थाहा हुँदैन । उनी आफैंले इन्टरनेटमा सर्च गर्छन् र आफूलाई चाहिने सूची तयार पार्छन् । नेपालमा आफूले भनेजस्तो राम्रो गुणस्तरको रङ नपाएको गुनासो पनि शिक्षिकाहरुसँग गर्छन् । 

त्यसो त क्षितिज आर्टबाहेक खेलमा पनि रुची राख्छन् । शिक्षिका देवीका अनुसार उनी स्पेशल ओलम्पिकबाट साउथ एसियन गेममा फुटसल खेल्न दुबई पनि गएका थिए । यसका साथै उनले खाम बनाउने, मैनबत्ती बनाउने काममा पनि चाख दिन्छन् । 

उनको क्षमताको कदर समाजले गर्नुपर्ने शिक्षिका देवी बताउँछिन् । उनको भनाई छ, क्षितिजले बनाएको चित्र प्रदर्शनीमा राखिनुपर्छ । प्रोत्साहन गर्न उनले बनाएका पेन्टिङ किनिदिनु पर्छ । त्यसो गरिदिन सके उनको आत्मबल अझ बढ्नेछ ।

क्षितिज असाध्यै मिहिनेती र सहयोगी छन् । साथीभाइलाई केही परे, उनी तत्काल सहयोग गर्न तम्सिन्छन् । शिक्षिकाहरुलाई पनि माया, सम्मान गर्छन् तर हेपिएको सहन सक्दैनन् । देवी भन्छिन्, ‘उनलाई अरुले होच्याएको मन पर्दैन । उनी अरुलाई पनि सम्मान गर्ने र आफूले पनि त्यस्तै चाहना राख्छन् । कसैले उनीप्रति नराम्रो व्यवहार गर्यो भने अर्को दिन फर्केर पनि हेर्दैैनन् ।’

उनलाई व्यक्तिगत रुपमा हेपेको त मन पर्दैन नै, आफ्नो देशलाई अरु देशले हेपेको कुरामा पनि चित्त दुखाउँछन् । उनलाई देश विदेश सबैतिरको कुरामा चासो छ । देवी भन्छिन्, ‘देशको नक्सा हेरेर भारतले हामीलाई यति लुट्यो भनिरहन्छन् ।’

सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा कूल जनसंख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति भएको उल्लेख छ । त्यस्तै, २०६८ को तथ्याङ्कअनुसार नेपालमा कूल जनसंख्याको दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । तर यिनीहरुको अवस्थाबारे राज्य बेखबर छ ।  

‘सि आशा फाउन्डेशन’ले जन्मजात बौद्धिक अपाङ्ग भएका बालबालिकाको संरक्षण, हेरचाह, शिक्षालगायतमा टेवा दिएको छ, उनीहरुको जीवन र दैनिकी सहज तुल्याउने काम गरेको छ ।  फाउन्डेशनको केन्द्रले १० वर्ष माथिका २४ जना शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई व्यावसायिक तालिमका साथै शिक्षा प्रदान गर्दै आएको छ । यो संस्थाको उद्देश्य यस्ता बालबालिकाको सीप पहिचान गरी आत्मनिर्भर बनाउने रहेको छ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिले उचित वातावरण पाएमा धेरै राम्रो गर्न सक्छन् । क्षितिज यसका उदाहरण हुन् ।  त्यसका लागि परिवार, समाज र राष्ट्रले हरदम सहयोग गर्नुपर्छ । क्षितिजको दक्षता के मा छ, त्यसको पहिचान परिवारले गर्यो । उनको यो क्षमताको वृद्धि विकासका लागि आशा विशेष पाठशालाले टेवा दिइरहेको छ । 

सि आशा फाउन्डेशनकी अध्यक्ष तथा महानिर्देशक आइना बार्काले क्षितिजजस्ता युवालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताउँछिन् । ‘साधारणतया परिवारका सदस्यले पनि अपाङ्ता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने सोच्छन् । तर, क्षितिज यस्ता उदाहरण हुन्, जसले यस्तो सोचलाई पूर्ण रूपमा गलत साबित गरिदिएका छन् ।’ आइनाले क्षितिजले कोरेको चित्र देखाउँदै त्यसोभन्दा उनको मुहारमा सन्तुष्टिको भाव झल्किन्थ्यो ।

क्षितिजका अभिभावक छोराको क्षमताले केही आर्थिकोपार्जन होस् भन्ने आशा राख्छन् । अब उनको क्षमताको कदर समाजले गर्नुपर्ने शिक्षिका देवी बताउँछिन् । उनको भनाई छ, क्षितिजले बनाएको चित्र प्रदर्शनीमा राखिनुपर्छ । प्रोत्साहन गर्न उनले बनाएका पेन्टिङ किनिदिनु पर्छ । त्यसो गरिदिन सके उनको आत्मबल अझ बढ्नेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।