शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

आइतबार, १९ मङ्सिर २०७८, १८ : ४५
आइतबार, १९ मङ्सिर २०७८

 प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्न आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासमेत सहभागी भइ सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण संक्रमण भित्रिनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् ।

उनले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउने कुरा शीघ्र कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।

त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । उनले कोरोनाको नयाँ भेरियन्ट सामना गर्न अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेका कुरालाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।

‘ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ । किनकि थोरै हुन्छन्,’ उनले भनिन्, ‘त्यस्तो गरे सजिलो हुन्छ । यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस् ।’

सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षा गर्नतर्फ लाग्न पनि सरकारलाई निर्देशन दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप