शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राप्रपाको अध्यक्ष बने राजेन्द्र लिङ्देन, प्रतिनिधि चयन गर्न प्रचण्डको सर्कुलर

आइतबार, १९ मङ्सिर २०७८, २१ : ११
आइतबार, १९ मङ्सिर २०७८

आज २०७८ मंसिर १९ गते आइतबार । आज दिन भरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा कमल थापालाई पन्छाउँदै राप्रपाको अध्यक्ष बने राजेन्द्र लिङ्देन, काँग्रेसको प्रदेश अधिवेशन : तीन वटा प्रदेशको नतिजा आउँदा दुई प्रदेशमा देउवा पक्ष हावी, १५ सय बराबर एक जना प्रतिनिधि चयन गर्न प्रचण्डको सर्कुलर, ६ महिनामा सल्टाउनुपर्ने मुद्दा दुई वर्षसम्म पनि जस्ताको तस्तै, लुम्बिनीमा तीन वटा महानगर बनाउने योजना अलपत्र, नाडाको नेतृत्वका लागि करण चौधरी र ध्रुव थापा भिड्दै, साताको पहिलो दिन ७२ अंकले घटेर बन्द भयो नेप्से लगायत छन् ।

१. कमल थापालाई पन्छाउँदै राप्रपाको अध्यक्ष बने राजेन्द्र लिङ्देन 
राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापालाई पन्छाउँदै राजेन्द्र लिङ्देन अध्यक्ष बन्न सफल भएका छन् । आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार थापालाई २२७ मतले पछि पार्दै लिङ्देन विजयी भएका हुन् । लिङ्देनले १८४४ मत हासिल गर्दा थापाले १६१७ मत ल्याए । पदाधिकारीतर्फ उपाध्यक्षमा क्रमशः विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की विजयी भए । यस्तै महामन्त्रीमा धवल शमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भए ।

२. काँग्रेसको प्रदेश अधिवेशन : तीन वटा प्रदेशको नतिजा आउँदा दुई प्रदेशमा देउवा पक्ष हावी
नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत तीन वटा प्रदेशको नतिजा आउँदा दुई वटा प्रदेशमा संस्थापन (देउवा) पक्षले जित हासिल गरेको छ भने एउटामा संस्थापन इतर (रामचन्द्र पौडेल) पक्ष विजयी भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षले जित हासिल गरेको छ भने गण्डकी प्रदेशमा पौडेल पक्षले सफलता हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन १५ सय कार्यकर्ता बराबर एक जना प्रतिनिधि छान्ने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले १९ बुँदे परिपत्र जारी गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्ने र बाँकीमा १५०० संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्न निर्देशन दिइएको छ ।

४. ६ महिनामा सल्टाउनुपर्ने मुद्दा दुई वर्षसम्म पनि जस्ताको तस्तै
जिल्ला अदालत नियमावलीमा दुई जनासम्म प्रतिवादी भएको सामान्य प्रकृतिको मुद्दा ६ महिनाभित्र फैसला गरिसक्नुपर्ने उल्लेख भए पनि २०७६ साल मंसिर २८ गते बिहान काठमाडौंको बूढानीलकण्ठमा भएको एउटा सवारी दुर्घटनाको मुद्दा अझै काठमाडौं जिल्ला अदालतले सल्टाउन सकेको छैन । यसबीचमा उक्त मुद्दा एक पटकमात्र पेसी चढेको छ ।

लुम्बिनी प्रदेशमा विभिन्न उपमहानगरपालिकामा केही नगर क्षेत्र गाभेर महानगर बनाउने योजना अलपत्र परेको छ । हाल चार उपमहानगर रहेको सो प्रदेशमा दुई वटा उपमहानगरलाई गाभेर एउटा र अन्य दुई उपमहानगरमा आसपासका केही नगरपालिकालाई गाभेर थप दुई महानगर बनाउने योजना अलपत्र भएको हो ।

बाघको संख्या सन् २००९ को तुलनामा दोब्बर पुग्ने अपेक्षाका साथ सरकारले बाघ गणना थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि पाटे बाघको गणना थालेको हो । सन् २०१० मा रुसको पिटर्सवर्गमा आयोजित सम्मेलनमा नेपालले सन् २०२२ भित्र देशमा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो ।

७. विदेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीद्वारा आन्दोलनको चेतावनी
विदेशमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरुले आन्दोलनको चेतावनी दिएका छन् । आफूहरु अध्ययनरत रहेकै अवस्थामा कोरोना महामारीका कारण फर्किनु परेको र यसबीचमा आफूहरुले अनलाइन कक्षामार्फत कोर्स पूरा गरे पनि इन्टर्नसीपका लागि सम्बन्धित देशमै जानुपर्ने सरकारको निर्णयप्रति आपत्ति रहेको उनीहरुको भनाइ छ । 

९. साताको पहिलो दिन ७२ अंकले घटेर बन्द भयो नेप्से
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचकमा ठूलो अंकको गिरावट आएको हो । कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक समग्रमा २.९० प्रतिशतले घट्यो । यसक्रममा चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २०५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रहरीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले स्रोत नखुलेको उक्त रकमसहित खनाललाई पक्राउ गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न मागसहित कार्तिक ७ गतेदेखि आमरण अनशनरत तारा बरालको जीवन रक्षाका लागि अपिल गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै अनशनरत बरालको स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगेको पनि जनाएको छ ।  

राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी निर्वाचनमा सके सत्ताको नेतृत्व गर्ने नभए पनि प्रमुख प्रतिपक्षको हैसियतमा पु¥याउनुपर्ने चुनौती रहेको बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले राप्रपामा दुई वर्ष अघि भएको एकता अनुसार एकता महाधिवेशन भएर विधि र पद्धति स्थापित भएको समेत बताए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप