शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयरपोर्ट भन्सारका हाकिमलाई प्रश्न : खाडीमा पसिना बगाउनेले सुन ल्याउन नपाउने ?

५० ग्राम सुनलाई बाला भनेर तस्करी गर्ने गिरोह रहेछ : महेश भट्टराई
सोमबार, २० मङ्सिर २०७८, ०७ : २३
सोमबार, २० मङ्सिर २०७८

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ । त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने गरेको ५० ग्राम सुनको बालालाई उनले समातेर भन्सार महसुल तिराउने निर्णय गरेका छन् । यो निर्णयका कारण विदेशमा बस्ने नेपालीहरु नेपाल सरकारसँग चिढिएका छन् ।

मंसिर १३ (सोमबार) देखि विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किनेहरूले ल्याएको बालामा भन्सार शुल्क लिन थालेको छ । सोमबार यता करिब ६४ किलो सुन सङ्कलन गरिएको छ । १ हजार १५७ जनाले भन्सार तिरेर सुन लगेका छन् ।

सरकारको यो निर्णयका कारण विदेशमा रोजगारी गर्ने नेपालीहरु भने रिसाएका छन् । सरकारमाथि उनीहरुको प्रश्न छ– हामीले खाडीमा पसिना बगाएर कमाएको पैसाले ५० ग्राम सुन पनि आफ्नो घरमा ल्याउन नपाइने ? तस्करी रोक्ने बाहनामा हामीमाथि अन्याय गर्ने ?

रोजगारीबाट फर्कनेहरुले कमाएर ल्याएको सुन समात्ने र कर असुल्ने कार्य सुरु भएको भन्दै वैदेशिक रोजगारीमा गएकाहरुले अर्थमन्त्री जनार्दन शर्माप्रति पनि आक्रोश पोख्न थालेका छन् ।

यता सरकारी अधिकारीहरु भने वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई ५० ग्राम सुन ल्याउन दिने सरकारको नीतिमा टेकेर सुनको तस्करी बढेकाले कडाइ गर्नुपरेको तर्क गर्छन् । विदेशमा कार्यरत नेपालीहरु भने सरकारले कर उठाउन र सुन व्यवसायीहरुको कुरा सुनेर रोजगारीमा गएका नागरिकमाथि अन्याय गरिएको गुनासो पोख्छन् ।

यिनै विषयमा केन्द्रित रहेर हामीले त्रिभुवन विमानस्थलमा प्रमुख भन्सार प्रशासक  महेश भट्टराईसँग कुराकानी गरेका छौं ।   

५० ग्राम सुन भन्सार छुटमा ल्याउन पाउने कानुनी अधिकारलाई भन्सार कार्यालयले किन खोसेको ?

विद्यमान कानुनी व्यवस्थाअनुसार प्रत्येक नेपाली यात्रुले विदेशबाट आउँदा आफ्नो साथमा सुनको गहनाको हकमा ५० ग्रामसम्म भन्सार महसुल जाँचपास छुटमा ल्याउन पाउँछन् । त्योभन्दा अतिरिक्त थप २ सय ग्रामसम्मको सुनका गहना ल्याएको छ भने त्यसमा प्रचलित भन्सार महसुल लाग्छ । त्यसभन्दा थप सुनका गहना ल्याउन पाइँदैन । काँचो सुनको हकमा अधिकतम एक सय ग्रामसम्म सुन ल्याउन पाइन्छ, सो सुनमा भन्सार महसुल तिर्नुपर्छ, चाहे त्यो १ ग्राम मात्र किन नहोस् । तर, एक सय ग्रामभन्दा बढीको सुनको हकमा त्यो जफत हुन्छ ।

नेपाली स्वरुपको गहनामा हुनुपर्ने केही गुण हुन्छन्, कालीगढी त्यहाँ जोडिएको हुन्छ । कानुनी व्यवस्थाको दुरुपयोग गर्ने हिसावले गहना भनेर धेरैले ५० ग्राम जुन काँचो सुन ल्याउनुभएको छ, त्यसलाई हामीले भन्सार तिराउने प्रयोजनको लागि नियन्त्रणमा लिएका छौं ।

तर, यसअघि सरकारले ५० ग्राम सुन ल्याउन किन दियो ? अनि अहिले किन रोक्न खोजेको ?

सुनका गहना ५० ग्रामसम्म भन्सार छुटमा ल्याउने किन दिइयो भनेर अन्तर्य बुझ्नुपर्छ । हाम्रो सामाजिक संस्कारअनुसार सामन्यतया केही गहना लगाउने चलन छ । औंठी, बाला, सिक्री, मुन्द्री लगाउँछौं । कुनै पनि कानुन सामाजिक अभ्यासभन्दा बाहिर गएर बनाइयो भने त्यो कार्यान्वयन गर्न सकिँदैन । यसैलाई मध्यनजर गर्दै सरकारले ०७७ जेठ १५ मा यो कानुनी व्यवस्था गरेको थियो । तर, असल नियतले राखिएको कानुनी व्यवस्थाको दुरुपयोग भयो ।

सुनको गैरकानुनी कारोबारमा संलग्न अवैध धन्दा गर्नेहरुले यसको दुरुपयोग गर्दै सुनका तारालाई ५० ग्राम हुने गरी काट्ने र त्यसलाई सामान्य गोलो बनाएर बाला हो भन्ने अर्थ लगाए । सुनलाई ९ फन्का बनाएर बेरुवा औँठी हो भन्ने अथवा त्यसलाई साना टुक्रा बनाएर हुकिङ गरेर सिक्री हो भनेर परिभाषित गर्ने दुष्प्रयास गरेको देखियो । त्यसलाई हामीले रोकेका हौं ।

मौलिक गरगहना भन्नेवित्तिकै त्यहाँ कालीगढी अनि उसको सीप जोडिएको हुन्छ । नेपाली नागरिकले चलनचल्तीमा लगाउने त्यस्तो गहना ५० ग्रामसम्मको छ भने आजको दिनमा पनि हामीले विना भन्सार महसुल छुट गरेको अवस्था छ ।

हामीले चलनचल्तीमा लगाउने बाला र यहाँ अहिले ल्याइएका बाला भनिएका तथाकथित ‘बाला’ हेर्ने बित्तिकै थाहा हुन्छ, सुन हो कि बाला भनेर ।

नेपाली स्वरुपमा बनेको गहना ल्याए मात्रै भन्सार छुट पाइने हो ?

त्यस्तै बुझ्नुपर्यो । नेपाली स्वरुपको गहनामा हुनुपर्ने केही गुण हुन्छन्, कालीगढी त्यहाँ जोडिएको हुन्छ । कानुनी व्यवस्थाको दुरुपयोग गर्ने हिसावले गहना भनेर धेरैले ५० ग्राम जुन काँचो सुन ल्याउनुभएको छ, त्यसलाई हामीले भन्सार तिराउने प्रयोजनको लागि नियन्त्रणमा लिएका छौं । उहाँहरुलाई जरिवाना गरेका छैनौं, कसैको पनि सुन जफत गरेका छैनौं । किनभने एक सय ग्रामसम्मको सुन त भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । कानुनी व्यवस्था थाहा नपाएर ल्याउनेहरुलाई हामीले सहजीकरण गरेका छौं, राजस्व तिर्न आग्रह गरेका छौं । ज–जसले सोही दिन राजस्व तिर्न सक्नुुहुन्न, तिनलाई डिपोजिट गरेर स्लिप दिन्छौं । ६० दिनभित्र राजस्व तिरेर आफ्नो सुन लिएर जान सक्नुहुन्छ ।

त्यसोभए बाला गहना होइन ? तर, बाला पनि त हामीले गहनाको रुपमा प्रयोग गर्छौं नि, हैन र ?

त्यो गहना हैन । हामीले चलनचल्तीमा लगाउने बाला र यहाँ अहिले ल्याइएका बाला भनिएका तथाकथित ‘बाला’ हेर्ने बित्तिकै थाहा हुन्छ, सुन हो कि बाला भनेर ।

तर, पहुँच हुनेले त त्यसलाई पनि गहना भनेर निकालेर लान सक्लान् । त्यहाँ पनि दुरुपयोग हुने अवस्था देखिन्न र ?

यसमा पहुँचको कुरा नै हुँदैन । यसमा हामीले स्पष्ट आन्तरिक बुझाइ र व्याख्या गरेका छौं । अभियान चालेको आजको पाँचौं दिनसम्मका कसैले पनि पहुँचका आधारमा लैजाने प्रयास गरेका छैनन् । प्रयास गरे पनि सफल हुँदैनन् ।

सरकारको यो निर्णयका कारण विदेशमा रोजगारी गर्ने नेपालीहरु मर्कामा परेको गुनासाहरु आइरहेका छन् नि ?

हो, कतिपय विदेशमा बसेका नेपालीहरुले सुन र गहना ल्याउन पाउने कि नपाउने भनेर मलाई फोन गरेर सोधिरहेका छन् । गैरआवासीय नेपालीले गहनाको हकमा ५० ग्राम ल्याउन पाउनुहुन्छ । त्यसभन्दा धेरै कसैले ल्याएमा विमानस्थलमा ‘लक गरेर’ पछि फर्किने बेलामा फिर्ता गर्छौं । कसैले सामाजिक कार्यक्रममा लगाउन ल्याएको हकमा भने बजार मूल्यको २० प्रतिशत बराबरको रकम भन्सारमा धरौटी राखेर लगाउन पाउँछन् । त्यसपछि फर्किँदा त्यही स्वरुपमा फिर्ता लगेमा धरौटी रकम फिर्ता गर्छौं ।

खाडीमा पसिना बगाएर आफ्नो प्रयोजनका लागि कानुनले ५० ग्राम ल्याउन पाउने सुनमा पनि राज्यले आँखा लगायो भन्ने व्यापक गुनासो छ नि ?

यस बारेमा थप प्रस्ट पार्न चाहन्छु । ५० ग्रामसम्मको गहना र सुनलाई फरक ढंगले हेर्नुपर्छ । धेरैले ५० ग्रामको घुमाउरो तार ल्याएर बैनीको विवाहका लागि गहना बनाउन ल्याएको भन्छन् । गहना बनाउन गहना कहिल्यै पनि किनिँदैन, गहना बनाउन सुन किनिन्छ । अनि अर्को कुरा, ल्याएको चिजलाई सोही रुपमा निरन्तर प्रयोग गर्न सकिने खालको भए त्यसलाई गहना मान्न सकिन्छ । तर, त्यसलाई यहाँ ल्याएर फेरि कालीगढकहाँ लगेर स्वरुप परिवर्तन गर्नुपर्ने भए त्यो ल्याएको त सुन हो नि । ल्याउनेहरू आफैंले घुमाउरो पाराले के स्वीकार्छन् भने मैले ल्याएको सुन हो ।

‘तिमीलाई विमानस्थलमा कोही लिन आउँछ, उसले तिमीलाई ट्याक्सीबाट सम्बन्धित ठाउँमा पुर्याउँछ । एक रात खान र बस्न व्यवस्था गर्छ,’ भनेर थप लोभ देखाउँदा रहेछन् । भरियाले प्रलोभनमा परेर स्वीकारेपछि हुलियाको फोटो र पासपोर्ट खिच्दारहेछन् । त्यसपछि त्यो व्यक्तिको फोटो र पासपोर्ट काठमाडौंमा पठाउँदारहेछन् रिसिभरलाई ।

विदेशमा काम गरेर आफ्नो परिश्रमबाट ल्याउने एउटा ठूलो हिस्सा छ । त्यही भएर पनि हामीले उहाँहरुको सुन जफत गरेका छैनौं । हाम्रो मुख्य फोकस विदेशमा मजदुरी गरेर नेपाल आउनेहरुलाई भरिया बनाएर सुनको अवैध कारोबारमा संलग्न हुनेहरुले जुन किसिमले सामान्य आश्वासन दिएर लोभमा पारेर पठाइरहेका छन्, त्यस्तो सुन नियन्त्रणमा लिएर राजस्व तिरेर मात्र लैजानुस् भनेका छौं ।

वर्षौंदेखि चलिरहेको यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था अहिले किन आयो ?

तपाईंले इंगित गरेको कुरा सही हो । सुधार गर्दा एउटा ‘प्वाइन्ट’बाट शुरु गर्नैपर्छ । भन्सार प्रशासनले राजस्व संकलन गर्ने भनेको निरन्तर प्रक्रिया हो । हिजोको प्रक्रियामा कहिँ कतै कमी कमजोरी रहेछ कि अथवा असल मनसायले बनाएको कानुनी व्यवस्थाको दुरुपयोग भएको हाम्रो अध्ययनले देखायो । यसबारे विभागबाट मन्त्रालयमा मैले रिपोर्टिङ गरेँ । त्यहाँबाट नीतिगत निर्देशन आएपछि सोहीअनुसार थप रणनीतिका साथ हामी अघि बढेको अवस्था हो । यसको कार्यान्वयन गरिएको छ । सुरुवात एकदिन गर्नु नै थियो ।

भरिया बनाएर तस्करी हुने गरेको भन्नाले ? यसलाई खुलस्त पार्दिनोस् न...

विदेशबाट भरिया भएर आउनेहरुको कथा सुन्दा अत्यन्त दर्दनाक छ । नेपाल आउन जब विमानस्थल पुगेर बोर्डिङ पास लिन्छन्, त्यसपछि त्यहाँ अवैध सुन कारोवार गर्नेहरुको विचौलिया पुग्छ । उसले ‘एउटा बाला लगिदेऊ, त्यो बापत नेपाल गएर मैले भनेको व्यक्तिलाई सुन दिएपछि ५ देखि ७ हजार दिन्छ’ भन्ने रहेछन् । कतिपयले फन्दामा परिन्छ भनेर अस्वीकार गर्दा रहेछन्, कतिपयले चाहिँ पकेटमनि आउँछ भनेर ‘हुन्छ’ भन्दा रहेछन् ।

अर्को चाखलाग्दो कुरा ‘तिमीलाई विमानस्थलमा कोही लिन आउँछ, उसले तिमीलाई ट्याक्सीबाट सम्बन्धित ठाउँमा पुर्याउँछ । एक रात खान र बस्न व्यवस्था गर्छ,’ भनेर थप लोभ देखाउँदा रहेछन् । भरियाले प्रलोभनमा परेर स्वीकारेपछि हुलियाको फोटो र पासपोर्ट खिच्दारहेछन् । त्यसपछि त्यो व्यक्तिको फोटो र पासपोर्ट काठमाडौंमा पठाउँदारहेछन् रिसिभरलाई ।

जसले अर्काको सामान बोकेर आउँछ, तिनको हकमा अलि संवेदनशील छ । हाम्रो अनुसन्धानमा के देखिएको छ भने ५० ग्राम अर्काको सुन लिएर आउनेहरूले यहाँ डिपोजिट गरेर बाहिर जान्छन् । सुनको वास्तविक लगानीकर्ताले पैसा दिएपछि बल्ल भन्सार तिरेर जाँचपास गरेर लान्छन् ।

ऊ नेपाल आएपछि पार्किङमा ‘म लिन आएको’ भनेर रिसिभ गरेर लाँदा रहेछन् । उसले सुन बुझाएपछि दुई लेयर पार गरेर असली कारोबारीसम्म सुन पुग्दोरहेछ । यस्तो ठूलो जालो रहेछ । पठाउने र पाउनेको बीचमा ३ देखि ५ तहसम्मको लेयर छ भन्ने हाम्रो अध्ययनले देखाएको छ ।

विदेशमा पसिना बगाएर फर्किनेहरुले अब कस्ता सरसामान ल्याउन पाउँछन् त ?

कुन सामानमा भन्सार छुट सुविधा छ, कुनमा छैन भन्ने सूचना हामीले प्रकाशन गरेका छौं । आफूले प्रयोग गर्ने मोवाइल, ल्यापटप, आइप्याड र घडी एक एक थान ल्याउन पाइन्छ । कालीगढीको कला जोडिएको गहना अधिकतम ५० ग्रामसम्म ल्याउँदा भन्सार महसुल लाग्दैन । त्यसभन्दा बढी सामान ल्याएमा प्रचलित दररेट अनुसार भन्सार महसुल लाग्छ ।

जसले अर्काको सामान बोकेर आउँछ, तिनको हकमा अलि संवेदनशील छ । हाम्रो अनुसन्धानमा के देखिएको छ भने ५० ग्राम अर्काको सुन लिएर आउनेहरूले यहाँ डिपोजिट गरेर बाहिर जान्छन् । सुनको वास्तविक लगानीकर्ताले पैसा दिएपछि बल्ल भन्सार तिरेर जाँचपास गरेर लान्छन् ।

पछिल्लो अध्ययनमा अर्को डरलाग्दो अवस्था के देखियो भने कसैले आफन्तका लागि टर्चलाइट, मिक्सचर, रेडियो लगिदिन विमानस्थलमा आग्रह गर्दा रहेछन् । भन्सारमा जव एक्सरेमा त्यो सामान हालिन्छ, त्यहाँभित्र अवैध सामान सुन र ड्रग्स राखेको पत्ता लाग्छ । सम्बन्धित यात्रुलाई नियन्त्रणमा लिँदा कसले पठाएको र कसलाई दिने भन्ने बताउन सक्दैनन् । यस्तो परिबन्दमा पर्ने यात्रुहरुलाई म के भन्न चाहन्छु भने सकेसम्म अरुको सामान नल्याउनुहोस्, ल्याउनुपर्ने बाध्यता भए त्यस्तो सामानभित्र अवैध मालवस्तु राखिएको छैन भन्ने सुनिश्चित भएर मात्रै लिनुस् ।

गएको ४ दिनको तथ्याङ्क हेर्दा पनि विस्तारै तस्करको सञ्जाल कमजोर हुँदै गएको हाम्रो बुझाई छ । निरन्तर अघि बढाउँदा यो पक्कै कम हुन्छ । यो सञ्जाल तोड्दा अन्य वैकल्पिक मार्गबाट आउँछ कि भनेर पनि उत्तिकै चनाखो भैरहेका छौं । कार्गो, कुरियर र व्यक्तिगत सामान भनेर आउन सक्छ, त्यसतर्फ पनि निगरानी बढाएका छौं ।

५० ग्रामवाला सुनको तस्करी गर्ने चेन खाडीदेखि काठमाडौंसम्म रहेछ भन्नुभयो । अहिलेको अप्रेशनपछि जालो तोडिन्छ त ?

यो पूर्ण अपरेशन हैन । यसबाट हामी अरु धेरै नयाँ सूचना सङ्कलन गरिरहेका छौं । विहीबारसम्ममा हामीले ११ सय यात्रुको सुन सङ्कलन गरेका छौं, तिनको पासपोर्ट हामीसँग छ । सो पासपोर्टका आधारमा तिनको ट्राभल हिस्ट्री हेर्छौ । उनीहरु कति यात्रा गरेका छन्, कहाँ कहाँ गएका छन् र कस्ता व्यक्तिहरुसँग सम्पर्क हुन सक्छ ? त्यो दोस्रो चरणको अनुसन्धानमा जान्छौं । यसबाट अवैध कारोबारमा संलग्नहरुसम्म पुग्न सकिन्छ । यो भनेको विशेष गरी अवैध कारोवारमा संलग्न व्यक्तिहरुको हकमा मात्र हो । सबै यात्रुको हकमा हैन । ट्राभल हिस्ट्री हेर्ने वित्तिकै हामीले ‘रिस्क एनालाईसिस’ गर्छौ र बर्ग छुट्याएर ‘रिस्की’ देखिएकाको हकमा थप अनुसन्धान थाल्नेछौं । त्यसले ‘अल्टिमेट्ली’ अवैध कारोबार तोड्न मद्दत मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास हो ।

यस्तो अभियान केही दिन चलेजस्तो गरेर पछि बन्द हुने गरेको छ । यो कत्तिको निरन्तर चल्ने देख्नुहुन्छ ?

यो निरन्तर अभियान हो । हो, विगतमा काम गर्दा गराउँदा कानुन कार्यान्वयनमा कहिलेकाँही जुन संवेदनशीलताका साथ कार्यान्वयन गर्नुपथ्र्यो, त्यो कहिँ कतै भएन होला । तर, हालको अभियानलाई निरन्तर अगाडि बढाउँछौं ।

गएको ४ दिनको तथ्याङ्क हेर्दा पनि विस्तारै तस्करको सञ्जाल कमजोर हुँदै गएको हाम्रो बुझाई छ । निरन्तर अघि बढाउँदा यो पक्कै कम हुन्छ । यो सञ्जाल तोड्दा अन्य वैकल्पिक मार्गबाट आउँछ कि भनेर पनि उत्तिकै चनाखो भैरहेका छौं । कार्गो, कुरियर र व्यक्तिगत सामान भनेर आउन सक्छ, त्यसतर्फ पनि निगरानी बढाएका छौं ।

सुन कारोबारका लागि भिजिट भिसामा पनि ‘भरिया’हरुको ओहोर–दोहोर हुने गरेको हल्लाबारे के भन्नुहुन्छ ?

हो । पछिल्लो समय नेपालबाट विदेशमा हप्ता दस दिन घुम्न भनेर जाँदा नेपालको कानुन अनुसार अधिकतम १५ यस डलरसम्म सटही गरेर लान पाइन्छ । तर, फर्किदा ३२ देखि ३५ सय डलरको सुन लिएर आउँछन् । भन्सारको दृष्टिकोणबाट हेर्दा ५० ग्राम भन्सार राजस्व तिरेर ल्याएको ठिक छ । तर, गम्भीर विषय भनेको १५ सय डलर बोकेर गएको व्यक्तिले ३५ सय डलरको सुन कसरी किन्न सक्छ ? त्यो त सक्दैन । यसमा दुईवटा कुरा देखिन्छ । कि उसले यहाँबाट जाँदा विदेशी मुद्रा अपचलन गरेर लुकाएर छिपाएर गएको छ कि त्यहाँ बसेर तस्करी गर्नेहरुको सुन बोकेर आएको छ, त्यसबाहेक अर्को विकल्प हुन सक्दैन ।

यदि अर्को व्यक्तिको सुन बोक्ने भरियाको काम गरेको छ भने असली कारोबारीसम्म पुग्ने हाम्रो प्रयास रहन्छ । यदि उसले आफ्नै पैसाले किनेको हो भने अवश्य पनि उ विदेशी मुद्रा अपचलनमा संलग्न भएको छ । उसको आम्दानीको स्रोत र त्यो डलर उसले कहाँबाट ल्यायो ? अवको हाम्रो थप अनुसन्धान त्यो दिशामा पनि अघि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप