बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ऊ हेर, त्यो हिरोको साथी होइन र ?’

‘मामाघर’ फिल्मबाट परिचय फेरेका प्रेम पाण्डे
सोमबार, २० मङ्सिर २०७८, १० : ५६
सोमबार, २० मङ्सिर २०७८

२०५८ सालमा नायक शिव श्रेष्ठ अभिनित फिल्म ‘मामाघर’ फिल्महलमा लागेको थियो । फिल्ममा उनी अभिनेता श्रेष्ठको साथीको भूमिकामा थिए । त्यो समय उनी जहाँ जान्थे, सबैले उनलाई ‘ओ, हिरोको साथी’ भनेर बोलाउँथे ।

....

त्यस्तै, राजेश हमालको फिल्म ‘कर्तब्य’ रिलिज भएको केही दिन भएको थियो । उनी साथीहरुसँग बानेश्वरको एक रेष्टुरेन्टमा चिया पिएर गफिदै थिए । रेष्टुरेन्टमा वरपर रहेकाको ध्यान उनले आफूतिर देखे । कोही साउती गर्दै ‘ऊ हेर, त्यो हिरोको साथी होइन र ?’ भन्दै थिए । त्यो समय कतिले राजेश हमालको साथी तपाईं होइन भन्दै फोटो खिच्न आग्रह गरे । कतिले  उनीमार्फत् हमालसँग भेट्ने इच्छा व्यक्त गरे ।

यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता उदाहरण धेरै छन् उनीसँग । उनी अर्थात् प्रेम पाण्डे । पाण्डे प्रायः फिल्ममा हिरोको साथीको रुपमा देखिदै आएका कलाकार हुन् । शिव श्रेष्ठको ‘मामाघर’देखि विपिन कार्कीको ‘जात्रै जात्रा’ सम्म आउँदा उनी प्रायः फिल्ममा हिरोको साथीको भूमिकामा देखिएका छन् । त्यसैले पनि पनि सर्वसाधारण मात्र होइन, धेरै फिल्मकर्मीले समेत उनलाई ‘हिरोको साथी’ भनेर बोलाउँछन् ।

‘हिरोको साथी भनेर बोलाउँदा खुसी लाग्छ,’ उनले भने, ‘त्यो मेरो अभिनयको सफलता हो ।’ कहिलेकाहीँ भने आफ्नो नाम ओझेल परेको हो कि जस्तोसमेत उनले सुनाए ।

‘मामाघर’ले बनायो हिरोको साथी

फिल्ममा हिरो, हिरोइन वा भिलेनलाई महत्वका साथ प्रस्तुत गरिन्छ । दर्शकको नोटिसमा पर्ने पात्र पनि यिनै हुन् । पाण्डे भने हिरोको साथी अर्थात् नायकको सहकर्मीको रुपमा सबैको नजरमा पर्न सफल छन् । उनले करिब दुई दर्जन फिल्म अभिनय गरिसकेका छन् । तीमध्ये धेरै फिल्ममा उनको भूमिका हिरोको साथीको रुपमा रहेको छ ।

नारायण पुरी निर्देशित फिल्म ‘मामाघर’ बाट अभिनयमा डेब्यु गरे उनले । ‘पहिलो फिल्ममा शिव श्रेष्ठको साथीको रुपमा अभिनय अवसर मिल्यो,’ उनले थपे, ‘त्यसपछिका जति फिल्मका अफर आयो, यस्तै भूमिकाको आयो । एक दुई गर्दै त्यस्तै भूमिकामा स्थापित भएँ ।’

फिल्ममा सधै हिरोको साथीको भूमिकामा देखिएका उनमा हिरो बन्ने चाहना कहिल्यै पलाएन त ? ‘मेरो अनुहार र शारीरिक बनावट हिरोजस्तो छैन । अर्काेकुरो निर्माता निर्देशकले सधैं मलाई सपोर्टिङ भूमिकाको लागि रुचाए,’ उनले रातोपाटीसँग भने, ‘सपोर्टिङ भएपनि अधिकांश फिल्ममा महत्वपूर्ण भूमिकामै देखिएको छु ।’

‘मामाघर’ फिल्मले उनलाई हिरोको साथी मात्र बनाएन, उनको नाम समेत फेरिदियो । असली नाम पुण्यप्रसाद पाण्डे भएका उनी यसै फिल्मबाट प्रेम पाण्डे भए । फिल्म अभिनयका लागि निर्देशक नारायण पुरीले उनको नाम छोट्याएका थिए । त्यसपछि फिल्म क्षेत्रमा उनको परिचय नै यही बन्यो । अहिले उनलाई सबैतिर सक्कली नाम पुण्यप्रसाद पाण्डेभन्दा प्रेम पाण्डे भनेर चिन्छन् ।

दोस्रो फिल्म ‘कर्तव्य’पछि भने उनले यो क्षेत्रमा पछाडी फर्किएर हेर्नुपरेको छैन । फिल्म, टेलिफिल्म, विज्ञापन, म्यूजिक भिडियोलगायतमा उनी अहिलेसम्म पनि सक्रिय छन् । ‘विष’, ‘वीरताको चिनो’, ‘जात्रा’, ‘छ एकान छ’, ‘छ माया छपक्कै’, ‘छक्का पञ्जा’ को तीन सिरिज र ‘जात्रैजात्रा’ उनी अभिनित हिट फिल्म हुन् । उनको ‘सृष्टिको फूल’ र ‘परदेशी २’ फिल्म प्रदर्शनको तयारीमा छ ।

सानो पर्दामा पनि

पाण्डे सानो पर्दाका समेत राम्रो कलाकार हुन् । ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘जीवन चक्र’, ‘यातना’, ‘ट्वाक्क टुक्क रिटन्र्स’, ‘परिचय’, ‘टेन्सन साप’देखि अहिलेको ‘उल्टो सुल्टो’लगायत दुई दर्जन बढी टेलिफिल्ममा उनले अभिनय पस्किएका छन् ।

उनले ‘एड्स’ र ‘जस्मिन पेन्टस्’लगायत आधा दर्जन बढी विज्ञापन चलचित्रमा समेत अभिनय गरेका छन् । ‘संख्या त थुप्रै हुन सक्थ्यो । तर छानेर मात्र काम गर्ने भएकोले कम भएको हो,’ पाण्डे सुनाउँछन् ।

कलाकारिताबाट काठमाडौंमा घर

कलाकारितामा नाम र दाम दुबै कमाउन सफल उनले यो क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्यो । भोकभोकै सुटिङ गरेको, दिनभर मेकअप गरी फर्किएको, एक दृष्यका लागि धेरै दिन सुटिङस्थल धाउनु परेको जस्ता संघर्षका अनगिन्ति अनुभव छन् उनीसँग ।

झापाको बुधबारे–४, जयपुरमा जन्मिएका उनी २०४९ सालमा एसएलसी दिएर उच्चशिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए । बाल्यकालदेखि नै रुचिका कारण  पढ्दापढ्दै कलाकारितामा होमिए ।

‘सानोमा देखेको सपना र विद्यालयमा अभिनय गर्दा साथीभाइहरुले दिएको हौसलाले मेरो कलाकारिताको रुचि जागेको हो,’ केही नाटकसमेत अभिनय गरेका उनले अगाडि थपे, ‘टिभी हेर्दा त्यसैमा देखिएका कलाकारझैं सबैले चिन्ने बन्न मन लाग्यो । पहिले अरुले चिनोस् भनेर कलाकारिता सुरु गरे, गर्दै जाँदा पेसा पो भयो ।’

आफ्नो कमाइमा सन्टुष्ट उनी भन्छन्, ‘कलाकारिताबाटै काठमाडौंमा घर र गाडी जोडियो । सपोर्टिङ भूमिका भएपनि मेरो पारिश्रमिक राम्रै छ ।’

अभिनयको प्रशिक्षक

कोरोना कहरले फिल्मी गतिविधिमा पूर्णविराम लागेपछि धेरै कलाकार फुर्सदिलो भए । कतिपय आर्थिक चपेटामा रुमलिए । उनलाई भने त्यो अवस्थाको सामना गर्नुपरेन । कारण कोरोना सुरु अगाडि मात्र उनी केही स्कुलमा अभिनय प्रशिक्षकको रुपमा अनुबन्धित भएका थिए । अनलाइनबाट पनि प्रशिक्षण दिए । यो क्रम अहिले पनि निरन्तर छ । ‘अभिनयको प्रोजेक्ट नभएको समय स्कुलले राम्रै भरथेक गर्दाेरहेछ’ उनको अनुभवले भन्छ, ‘कलाकारका लागि एक्स्ट्रा काम अनिवार्य छ । किनभने त्यसले अप्ठ्यारो अवस्थामा बचाउँछ ।’ अभिनयको प्रशिक्षण दिने गरे पनि उनलाई निर्देशनमा भने रुचि छैन ।

उनले कलाकारिताबाट थुप्रै अवार्डसमेत हात पारेका छन् । हालै दोस्रो स्टार इन्टरनेशनल अवार्डमा वरिष्ठ अभिनेता, एएनपी नेशनल अवार्ड २०२१, पिम नेपाल फिल्म फेष्टिवलमा सर्वाेत्कृष्ट चरित्र अभिनेताको अवार्ड उनले हात पारेका छन् ।

राम्रो फिल्म बनाउने सपना

करिव दुई दशक कलाकारितामा बिताएका पाण्डेलाई आफ्नै लगानीमा राम्रो फिल्म निर्माण गर्ने सपना छ । फिल्मका लागि उनी विदेशका साथीहरुसँग लगानीदेखि कथासम्मको छलफल गरिरहेका छन् ।

‘स्वदेशी बजारलाई मात्र ध्यानमा राखेर फिल्म निर्माण गर्न लागेको भए पहिल्यै बनिसक्थ्यो’ पाण्डेले भने, ‘विदेशी बजारमा अन्तरराष्ट्रिय प्रोजेक्टको रुपमा पनि जाने फिल्म निर्माण मेरो उद्देश्य हो ।’ समयले साथ दिए अवको एक बर्षभित्र आफ्नो फिल्म बन्ने उनी जनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप