शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा ज्ञानेन्द्रको दलाल हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन  : मसाल

राजाद्वारा राष्ट्रियताको रक्षा हुन्छ भनेर सोच्नु राजनैतिक दिवालीयापन : सिंह
सोमबार, २० मङ्सिर २०७८, ११ : ३६
सोमबार, २० मङ्सिर २०७८

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’

‘राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ । पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै पूर्व राजाद्वारा पहिलेको नेतृत्वलाई पाखा लगाउने काम गरिएको छ’ मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुख्य प्रश्न राप्रपाको नेतृत्वमा को आउँछ र को जान्छ भन्ने होइन, देशको प्रतिगामी धाराको मुख्य नेतृत्व पूर्व राजाद्वारा नै गरिएको छ ।’

सिंहद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अहिलेको राप्रपाको चुनाव, त्यसमा राजाको हस्तक्षेप स्वयं राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेको वक्तव्य समेतबाट यो कुरा प्रष्ट भएको छ कि त्यो (राप्रपा) कुनै स्वतन्त्र राजनीतिक संगठन नभएर पूर्व राजाको निर्देशनमा चल्ने एउटा दलाल राजनीतिक ‘पार्टी’ मात्र हो ।’

 
राप्रपाको महाधिवेशनबारे मसालद्वारा जारी वक्तव्यमा भनिएको छ–

‘गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने नीतिहरुले देशको ऐतिहासिक अवस्था र जनचेतना समेतसित मेल खाँदैनन् । त्यसैले त्यो दिशामा उठाइएका पूर्वराजाका प्रयत्नहरु लगातार असफल हुँदै गएका छन् । अहिलेको राप्रपाको महाधिवेशनबाट त्यो कुरा अरु छर्लङ्ग भएको छ । आगामी दिनमा पनि तिनीहरुको पराजय निश्चित छ ।

राजावादीहरुको त्यस प्रकारको असफलता र त्यो कारणले उनीहरुमा पैदा भएको निराशा र कुण्ठाका कारणले पूर्वराजा र राजावादीहरुले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध आफ्नो अभियानलाई अरु तिव्र बनाएर लैजाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । उनीहरुको त्यस प्रकारको प्रतिगामी अभियानमा ओली पक्ष पनि थपिएको छ र भारतका कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि उनीहरुलाई बल पुर्‍याइरहेका छन् ।

उक्त कारणहरूमाथि विचार गरेर प्रतिगामी खतरालाई हल्का रूपमा लिनु पनि सही हुने छैन । त्यसकारण प्रतिगमनको खतराका विरुद्ध तथा आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षाका लागि उच्च जनचेतना र आन्दोलन उठाउन हामीले लगातार ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसका लागि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सारा शक्तिहरूमा उच्च प्रकारको सतर्कता र ऐक्यबद्धताको आवश्यकता छ ।

राजावादी वा अन्य कतिपय पक्षहरूले राष्ट्रियताको रक्षाका लागि राजाको भूमिका आवश्यकता भएको कुरामा जोड दिने गरेका छन् । तर, हामीले के बिर्सनु हुँदैन भने देशमा राजाको निरङ्कुश शासन भएको बेलामा नै कालापानीमा भारतीय सेनाले कब्जा गरेको थियो र त्यसका विरुद्ध तात्कालिक शासकहरुले एक शब्द पनि उच्चारण गरेका थिएनन् । उनीहरुले नेपालको राष्ट्रियता र सार्वजनिकताका विरुद्ध कैयौँ असमान सन्धिहरु पनि गरेका थिए ।

अहिले पनि उनीहरुले भारतीय साम्राज्यवादसित साँठगाँठ गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा राजाद्वारा राष्ट्रियताको रक्षा हुन्छ भनेर सोच्नु राजनैतिक दिवालीयापन नै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप