बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरक प्रसङ्ग : जीवनको मूल्य

सोमबार, २० मङ्सिर २०७८, १४ : ४२
सोमबार, २० मङ्सिर २०७८

रुसी साहित्यकार लियो टाल्स्टोयको नाम नसुन्ने सायदै कोही होलान् । विश्वविख्यात यी साहित्यकार समाजसुधारको क्षेत्रमा पनि उत्तिकै परिचित छन् । दीनदुःखीलाई सहयोग गर्नु र बाटो बिराएकालाई सही बाटोमा हिँडाउनु उनको नियमित दिनचर्याजस्तै थियो । एकपटक कुनै गरीवले उनीसमक्ष अएर सहयोग माग्दै भन्यो–

‘गरिव छु हजुर ! सहयोग पाऊँ ।’

‘ए हो र ?’ टाल्स्टोयले उनको शिरदेखि पाउसम्म हेर्दै भने–

‘सहयोग त पाउने छौ तर सट्टामा केही दिनु पनि पर्छ नि राजी छौ ?’

‘दिनुपर्छ ?’ माग्नेले अनकनाउँदै भन्यो–

‘मसँग के नै छ र दिऊँ हजुर !’

‘छ, छ, अवश्य छ, भएकै माग्ने हो, भएर नै दिने हो ।’

‘त्यसो हो भने राजी छु हजुर !’

‘गरीवी हटाउन दस हजार दिन्छु, सट्टामा तिमीले दाहिने हात काटेर दिनुपर्ने हुन्छ दिन्छौ ?’

‘हात ?’ टाल्स्टोयको कुरा सुनेपछि उसले झस्कँदै भन्यो–

‘त्यो त हुँदैन हजुर ! दाहिने हातै काटिएपछि समाउने कसरी, खाने कसरी ?’

‘हुँ, कुरा त हो, त्यसो भए यसो गरौँ दाहिने गोडा काटेर देऊ न त बरु २० हजार दिउँला ।’

‘यो पनि हुँदैन हजुर ! दाहिने गोडै नभएपछि कसरी हिँडौँ ।’

‘भैगो केही छैन, त्यसै हो भने दाहिने आँखा झिकेर दिए पनि हुन्छ ४० हजार पाउनेछौ हुन्छ ?’

‘हुँदैन हजुर ! आँखै छैन भने जीवनको के काम ।’

‘त्यसो भए विना कामको शरीरै देऊ न त एक लाख दिउँला ।’

‘हुँदैन हजुर ! लाख होइन करोडै पाए पनि शरीर दिन सक्दिन ।’

त्यसपछि टाल्स्टोयले सम्झाउँदै भने–

‘हेर भाइ ! करोड पाउँदा पनि दिन नसक्ने शरीर आफैँसँग छ भने तिमी कसरी गरीब भयौ ? शरीर नै त तिम्रो सम्पत्ति हो, जसलाई परमात्माले सित्तैमा दिएका छन् । यसलाई माग्न न तिमी गएका थियौ, न दरखास्त नै हालेका थियौ । तिम्रै आमाबाबुले पनि ल्याउँछु भनेर ल्याएका होइनन् । ईश्वरको वरदान वा प्रसादको रूपमा पाएका हौ । सदुपयोग गर, सदुपयोग गर्न सिक आफैँ थाहा पाउनेछौ कहाँबाट कहाँ पुगिरहेका हुन्छौ ।’

धेरै पहिलेदेखि पढिँदै र सुनिँदै आएको यस प्रसङ्गमा के कति सत्यता छ त्यो त थाहा छैन तर शरीर अनमोल छ भन्ने कुरा भने सबैलाई थाहा हुनुपर्छ ।

ईश्वरले शरीर दिएका छन्, शारीरका अङ्ग दिएका छन् । आँखा दिएका छन्, कान दिएका छन्, हातगोडा दिएका छन्, मन दिएका छन्, बुद्धि दिएका छन्, विवेक दिएका छन्, दिल दिएका छन्, दिमाग दिएका छन्, जुन आफैँमा अनमोल छन् । त्यसैले त शरीर किन्ने पसल कतै छैनन्, भेटिँदैनन् । कोही पनि शरीर बेच्न बसेका छैनन् । यस्तो पसलै छैनन् । न त्यस्तो बजार भेटिन्छ न किन्ने मानिस नै फेला पर्छन् । किनकि यसको मूल्य नै छैन, किन्नै सकिन्न । जब कसैले किन्नै सक्दैन, किन्ने मानिस नै भेटिन्न भने बजार लाग्ने वा पसल खुल्ने कुरै भएन ।

शरीर मात्र होइन यसलाई बनाउने र बचाउने चीजसमेत परमात्माका प्रसाद हुन् । शरीर बनाउने र बचाउने चीज भनेका हावा, पानी, माटो, वनजङ्गल र वातावरण नै हुन्, जुन कतै किन्न पाइन्न । किनकि यी पनि अनमोल हुन्, अनमोल छन्, जसको मूल्य नै छैन । यस्ता अनमोल चीज आफ्नै साथमा हुँदाहुँदै पनि कसैले गरीव छु, केही पनि छैन भन्दै हिड्छ भने ठाने हुन्छ उसले  हत्केलाले आँखा छोपेर अँध्यारो भयो भनिरहेको छ ।

हो, शरीर क्षणिक छ, कर्कलाको पानी कतिबेला पोखिन्छ पत्तै हुन्न तर यही शरीरबाट त्यस्ता काम गर्न सकिन्छ, जसलाई दुनियाँले कहिल्यै बिर्सँदैनन्, बिर्सन सक्दैनन् । उदाहरणका लागि उनै टाल्स्टोयलाई नै लिन सकिन्छ । उनी बितेका सयौँ वर्ष भइसक्यो तर उनको नाम भने अहिले पनि श्रद्धापूर्वक लिरहेका छौ किन ? किनकि उनले शरीरलाई सदुपयोग गरे, गर्न जाने ।

धर्मशास्त्रले मानव जीवनको चारवटा उद्देश्य हुन्छन् भनेको छ, जसमा धर्म, अर्थ, काम र मोक्ष पर्छन् । धर्म भनेको जीवन र जगतलाई धारण गर्ने तरिका हो, अर्थ भनेको धनसम्पत्ति हो, काम भने घरपरिवार र सन्तान हो भने मोक्ष भनेको सबै किसिमको दुःखबाट उन्मुक्ति हो, जुन शरीरको माध्यमबाट सम्पन्न हुन्छन् भइरहेका छन् ।

शरीर अरूले दिएका हुन् । धनसम्पत्ति, परिवार र सन्तान पनि अरूले नै दिने हुन्, अरूले दिएर नै प्राप्त भएका हुन् । यहाँसम्म कि नामसमेत अरूले नै दिने हुन् । जब अरूले दिएका हुन् भने बुझ्नुपर्छ अरूकै हुन्, अरूकै लागि दिएका हुन् । त्यसैले यसलाई दुरुपयोग गर्ने छुट कसैलाई पनि छैन ।

प्रायः मानव स्वभाव के देखिन्छ भने आफूलाई फाइदा हुने भए खोस्टा, परालको पनि जतन गर्छन् । नोक्सान गर्न थाले मुटु कलेलो पनि चिर्न पुग्छन् । शरीर पनि त्यस्तै हो । अरूको हितमा प्रयोग गरे उसलाई सहयोग गर्न अरू नै अघि सरिरहेका हुन्छन् । दुरुपयोग गर्न थाले आफ्नै शरीरबाट समेत सहयोग पाउन सकिन्न । त्यसैले पहिले शरीरको मूल्य बुझ्नुपर्छ, उद्देश्य बुझ्नुपर्छ र त्यसैमा लगाउने प्रयास गर्नुपर्छ संसारमा न कोही गरीब हुन्छन् न कसैले माग्दै हिड्नुपर्छ । यसको अर्थ हो शरीरलाई चलाउन जान्नुपर्छ । चलाउन जाने केही पनि गर्नुपर्दैन  । त्यसैले नै सबै आवश्यकता पूरा गरिरहेको हुन्छ । नजाने केही पनि हुँदैन ।

हालसम्म संसारका मानिसले जे जति प्रगति गरेका छन् शरीरकै माध्यमबाट गरेका छन् । उनीहरूलाई न कुनै स्वर्गका देवता आएर दिएका हुन् न पातालका भूतप्रेत नै आएका छन् । शरीरकै माध्यमबाट पाएका छन्, शरीरकै माध्यमबाट गरेका छन् । फरक यति हो जसले सदुपयोग गर्न जाने उनीहरूले प्रगति गरे, जसले जानेनन् उनीहरूको प्रगति रोकियो । टाल्स्टोयको भनाइको आशय पनि यही नै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप