शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सलाई खतराजन्य सामग्री बोक्ने लाइसेन्स, रेडियोधर्मीदेखि गन्धकसम्म कार्गो गर्ने

सोमबार, २० मङ्सिर २०७८, १६ : १०
सोमबार, २० मङ्सिर २०७८

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) ले ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ मान्यता पाएको छ । नेपालको हवाइ नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । क्यानका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे । 

पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेक छन् । यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ । नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ । यही प्रकृया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो । 

क्यानले अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को मापदण्डअनुसार निगमलाई डेञ्जरस गुड्स क्यारियर मान्यता दिएको हो । यसअघि क्यानले श्री एयरलाइन्सलाई मात्र यस्तो मान्यता दिएको थियो । खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोजेका सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ ।

निगमको राजस्व चार गुणासम्म बढ्ने
वाह्य उडान भरिरहेका निगमका विमानमा हाल १५ टन कार्गो होल (बोक्ने क्षमता भएपनि सामान नपाउँदा खाली हुने अवस्था) रहेको निर्देशक अधिकारीले बताए । खतराजन्य वर्गका सामग्री बोक्ने अनुमति पाएकाले अब भने यस्तो स्थिति अन्त्य हुने तथा यात्रु नपाएका बेला यस्ता सामान बोकेर पनि निगमको राजस्व बढाउने उनले दाबी गरे । 

‘निगम स्थापना भएको ६३ औं वर्षमा बल्ल हामीले यस्तो प्रमाणपत्र पायौँ, अब निगमको राजस्व चार गुणासम्म बढ्नेछ । खतराजन्य सामग्री व्यवस्थापन गर्न कर्मचारीहरूलाई तालिम दिइसकेका छौँ । अब निगमको दायित्व बढेको छ, अब हामी यो दायित्व पूरा गर्नेतर्फ लाग्छौं ।’

लाइसेन्स नहुँदा औषधी ल्याउनै समस्या

नेपाल कोरोना महामारीको चपेटामा फसेका बेला अधिकांश औषधी र उपकरण निगमकै जहाज प्रयोग गरी ल्याइएको थियो । त्यतिखेर निगमलाई प्राधिकरणले यस्ता सामान बोक्न तीन महिनाको आवधिक लाइसेन्स दिएको दियो । 
तर, त्यतिखेर कतिपय औषधी ल्याउन समस्या भएको थियो । उपचारमा प्रयोग गरिने रेडियोधर्मी विकिरणदेखि बेहोस बनाउने औषधिसम्म ल्याउन कठिनाइ भएको निगम, ग्राहक सेवा विभागका टंकनिधि शर्माले बताए । अब भने नेपालमा र नेपालबाट यस्ता सामान ओसारपसार गर्न निगमकै जहाज पहिलो प्राथमिकतामा पर्ने उनले दाबी गरे । 

कार्गोतर्फ निगमले यसअघि सामान्य किसिमका बस्तु तथा सेवा ढुवानी गर्ने गरेको थियो । अबदेखि भने पेट्रोलियमजस्ता प्र ज्वलनशील, औषधिजन्य रेडियोधर्मी पदार्थ, तरल नाइट्रोजनबाट संरक्षण गरिएका औषधिजन्य भ्याक्सिनहरू र धारिलो पदार्थ पनि नेपालबाट लैजान र बाहिरबाट ल्याउन पाउनेछ । निगमले अहिले प्रमाणपत्र पाएपछि कार्यान्वयन निम्ति अन्तरराष्ट्रिय अभ्यास परिपालना गर्नुपर्नेछ । मापदण्ड परिपालना नगरेको अवस्थामा लाइसेन्सको खारेजी हुनसक्छ । 

समुद्री या स्थलमार्गबाट भन्दा विमानबाट यस्ता सामान ढुवानी गर्दा मूल्य तीन गुणासम्म बढ्ने प्राधिकरणका सहप्रवक्ता ज्ञान अर्यालले जानकारी दिए । जति खतरनाक सामान भयो, ढुवानी लागत उत्ति नै बढी लाग्ने हुनाले अब निगमलाई पनि आम्दानी हुने र विदेशी मुद्रा नेपाल भित्रने उनको दाबी छ । अहिलेसम्म नेपालमा यस्तो ढुवानी अन्य वायुसेवा कम्पनीहरूले गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप