शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदले महामन्त्रीमा उम्मेदवारी दिने

सोमबार, २० मङ्सिर २०७८, १९ : २४
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद महामन्त्रीको तयारीमा जुटेका छन् । यही मंसिर २४–२७ गतेसम्म हुने काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् । सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न गरेर शनिवार साँझ काठमाडौँ फर्किएका पूर्व मन्त्री साउदले महामन्त्रीका लागि अगाडि बढेका छन् । सिंहदरबारको पूर्वी गेट नजिकै सम्पर्क कार्यालय खाेलेर साउदले महामन्त्री तयारी अगाडि बढाएका हुन् ।

साउदले औपचारिक रूपमा महामन्त्रीमा उम्मेदवारी घोषणा नगरे पनि उनको सचिवालयले आइतबार महामन्त्रीको उम्मेदवारका रूपमा ब्यानर सार्वजनिक गरेको छ । औपचारिक रूपमा महामन्त्रीको उम्मेदवारी घोषणाका लागि आइतबारबाटै नेता साउदले पनि नेता कार्यकर्तासँग छलफल अगाडि बढाएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र साउदले महामन्त्रीको उम्मेदवारी दिने तयारी थालेपछि संस्थापन पक्षमा हलचल आएको छ । संस्थापन पक्षमा सह महामन्त्री प्रकाश शरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र एनपी साउद, प्रवक्ता विश्वप्रकाश शर्मा र रमेश लेखक महामन्त्रीको दौडमा छन् । जसमा शर्माले मात्र औपचारिक रूपमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । 

उनीहरू मध्येबाट देउवाले दुई जना महामन्त्रीको उम्मेदवार खडा गर्ने चर्चा भइरहेका बेला साउदको तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । साउदले देउवाबाट 'ग्रीन सिग्नल' पाएपछि महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा लागेको काँग्रेसको संस्थापन वृत्तमा चर्चा छ । सुरुमा महामन्त्री र उपसभापति मध्ये एकमा उम्मेदवार भन्ने बताउँदै आएका साउद महामन्त्रीमै लड्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

काँग्रेसमा  एक जना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सह महामन्त्री (क्लस्टर) बाट निर्वाचित भएर आउने व्यवस्था गरेको छ । कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप