बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिव पलाँसको ‘माया गर्नुको अर्थ’

मङ्गलबार, २१ मङ्सिर २०७८, १० : १७
मङ्गलबार, २१ मङ्सिर २०७८

गीतकार शिव पलाँसको गीत संग्रह ‘माया गर्नुको अर्थ’ बजारमा आएको छ । संग्रहमा ८१ गीत समेटिएका छन् । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । पलाँसका आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा, माया गर्नुको अर्थ जस्ता बोलका गीत लोकप्रिय छन् ।

कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, विम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । उनले भने, ‘पलाँस महत्वपूर्ण गीतकार रुपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसंगत जीवनदृष्टिसमेत आएको छ ।’

साहित्यकार डा. ऋषि  बस्ताकोटीले पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएको टिप्पणी गरे । सरल तर बिम्बात्मक शब्दमा गहन मनोविज्ञान हुनु पलाँसको विशेषता भएको उनको जिकिर थियो ।

साहित्यकार रमेश पौडेलले आफूले पहिला माया गर्नुको अर्थ गीतलाई चिनेको र पछिमात्र गीतकार पलाँससँग परिचित भएको सुनाए । गीतकार हरिहर तिमिल्सिनाले भने, ‘पलाँसका गीत सुन्ने खालका होइनन्, हेर्ने खालका पनि होइनन् । यी त महसुस गर्ने खालका हुन् ।’

अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले स्वदेश र प्रवासमा रहेका नेपालीका जीवनका सुस्केरा गीतमा समेटिएको धारणा राखे । कार्यक्रममा नम्रता  गुरागाईं, डा. चिरञ्जीवी भट्टराई, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ ‘सरू’, लक्ष्मी थापा, विमल गौतम लगायतले गीतकार पलाँसका रोज्जा गीत वाचन गर्दै उनलाई शुभकामना दिएका थिए । साथै, गायक, संगीतकार सञ्जु थापाले पलाँसको गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा गीतकार पलाँसले गीतका रङहरु  जिन्दगीका  रङ जस्तै हुने धारणा राखे । उनले भने, ‘गीत  मेरा लागि अनुभव र  अनुभूतिको  सङ्लो  प्रतिबिम्ब हो ।’ स्मरण रहोस्, दीप श्रेष्ठ, नरेन्द्र प्यासी,  रामकृष्ण  ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, सन्तोष रुचाल, इन्दिरा  जोशी, सुमन क्षेत्री, चन्दादेवी,  स्वरुपराज, नरजंग गुरुङ, एबी संकल्प, अनिता घिमिरे, भुवन प्यासी,  नवीन  काफ्ले , मनोजराज  लगायतका  गायक गायिकाले पलाँसका गीतमा स्वर दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप