शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक सार्वजनिक गर्दै युवा नेता तिवारीद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मङ्गलबार, २१ मङ्सिर २०७८, १८ : ५५
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौँको प्रज्ञा भवनमा आफूले लेखेको पुस्तक ‘कसले सुर्धाछ काँग्रेस’ पुस्तकको विमोचन कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।  

उनले काँग्रेसलाई वैचारिक तरङ्ग दिन र चुनाव हारेपछिको अवस्थालाई बोध गराउन लेखनमा लागेको उल्लेख गरे ।  उनले गणतन्त्र आएपछि काँग्रेसले पराजय भोगेपछिको घटनाका सन्दर्भलाई जोड्दै  पुस्तकको शीर्षक ‘काँग्रेस इतिहासले सिकाएको पाठ जो देउवाले सिक्न चाहेनन्’ शीर्षकमा राख्न खोजेपछि पछि सम्पादकको सुझावमा परिवर्तन गरेको बताए । 

हाल अमेरिकामा अध्ययन गरिरहेका तिवारी काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिनका लागि स्वदेश फर्किएका थिए ।  उनले आफ्नो निरन्तरको अध्ययन र आफूभन्दा माथिल्लो तहका व्यक्तित्वहरूसँगको बिचार विर्मशद्वावारा पार्टीलाई अगाडि बढाउने व्याकरणको सूत्रको रूपमा पुस्तक तयार पारेको जानकारी दिए । 

तिवारीको पुस्तकमाथि काँग्रेस सांसद सञ्जय गौतम, बद्री पाण्डे, पुरञ्जन आर्चाय, निभा गिरीले टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै काँग्रेस विश्लेषक पुरञ्जन आर्चायले पहिलेको काँग्रेसमा वैचारिक बहस हुने, बिचारको लडाई हुने गरे पनि अहिले स्वार्थको लडाई चल्ने गरेको बताए । उनले पुस्तकको नाम कसले सुर्धाछ काँग्रेस नभई कसले बिगार्‍यो काँग्रेस हुनुपर्ने बताउँदै काँग्रेस बिगार्नेलाई त्यसै छोड्न हुने कि नहुने भन्दै प्रश्न गरे । उनले २०४६ सालको प्रजातन्त्र अघिको काँग्रेस बिचारको काँग्रेस, पार्टीबाट केही लिने भन्दा पनि केही दिने पार्टीको रूपमा रहेको बताए । उनले २०३७ सालमा आफू विराटनगरको कोइराला निवासमा बस्दा हरेक रात बेलुका ८ बजेदेखि १० बजेसम्म वैचारिक कक्षा हुने गरेको स्मरण गर्दै अहिलेको काँग्रेसमा बिचार पक्ष हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । 

उनले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीको विचारबारे छलफल नहुनेप्रति चिन्ता व्यक्त गर्दै अघिल्ला वर्षहरूमा कोरोनाका कारण ४० लाख जनताले रोजगारी गुमाएको विषयमा काँग्रेसमा किन छलफल हुन सक्दैन भन्दै प्रश्न गरे । उनले कांग्रेसको अबको वैचारिक राजनीतिक कार्यदिशा प्रजातान्त्रिक समाजवाद हुने कि अरू के हुने भन्नेमा अन्योल रहेको बताए ।

पुस्तकमाथि टिप्पणी काँग्रेस सांसद सञ्जय गौतमले काँग्रेसको विरुद्धमा काँग्रेस नै लागेका कारण काँग्रेस पराजित हुने गरेको बताए । उनले काँग्रेसमा बिचार पक्ष कमजोर भइरहेका बेला लेखक तिवारीको पुस्तकले पार्टीमा वैचारिक मलजल गर्नेमा विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप