बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘साथीहरुले एनपी साउद महामन्त्री हुनुपर्छ भनिरहेका छन्’

एनजीओको जस्तो भयो काँग्रेसको विधान : एनपी साउद
मङ्गलबार, २१ मङ्सिर २०७८, १९ : ४८
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता नारायणप्रसाद (एनपी) साउद सभापति शेरबहादुर देउवा बलिया सारथीमध्येका एक हुन् । १४ औं महाधिवेशनमा साउदले उपसभापति वा महामन्त्री पदमा रहेर देउवाको टीममा काम गर्न चाहेका छन् । तथापि देउवा टीमबाट उपसभापति र महामन्त्री दाबी गर्ने नेताहरूमा साउद एक्ला होइनन् ।

साउद विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । नेविसंघबाट राजनीति सुरु गरेका साउद ०३८ सालमा नेविसंघ कञ्चनपुरको सचिव भए । ०४१ सालमा बलबहादुर केसीको नेतृत्वमा केन्द्रीय सदस्य बने । बालकृष्ण खाणका पालामा उपाध्यक्ष भएका उनी ०४८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भए ।

नेविसंघको अध्यक्षबाट अवकाश लिएपछि साउद पार्टी राजनीतिमा लागे । ०५९ वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेस विभाजित भएर बनेको काँग्रेसमा (प्रजातान्त्रिक) उनी केन्द्रीय सदस्य भए । काँग्रेस प्रजातन्त्रिकको ११ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा काँग्रेस र काँग्रेस प्रजातन्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रुपमा रहे । एकीकरणपछिको १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य विजयी भए । १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य भएका उनी अहिले पदाधिकारीको दाबी गरिरहेका छन् ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुख समेत रहेका युवा नेता साउद ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर २ बाट  सांसद बनेका थिए । ०५७ मा उनी शिक्षा राज्यमन्त्री बने । यस्तै ०७० को चुनावमा कञ्चनपुरको सोही क्षेत्रबाट सांसद भएका साउद सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाई मन्त्री बने । ०७४ को आम निर्वाचनमा भने उनी वाम गठबन्धनसँग पराजित भए ।

नेपाली काँग्रेसमा उदीयमान नेताको छवि बनाएका साउदले १४ औं महाधिवेशनको सँघारमा रातोपाटीसँग कुराकानी गर्दै केही सैद्धान्तिक–वैचारिक प्रश्नहरू पनि उठाएका छन् । जस्तो– नेपाली काँग्रेसको अहिलेको विधान गैरसरकारी संस्थाको जस्तो भएकाले यसलाई फेर्नुपर्ने उनको तर्क छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पार्टीको नीति विचार र कार्यक्रमबारे बहसै नगरी नेतृत्व छनोटमा मात्रै केन्द्रित हुन लागेकोमा पनि साउदले असन्तुष्टि प्रकट गरे ।

देउवा टीममा रहेर मुख्य पदाधिकारीमै दाबी गरिरहेका साउदसँग रातोपाटीले काँग्रेस महाधिवेशनको सेरोफेरोमा पार्टीको नीति, शेरबहादुर देउवाको टीम र उनको आफ्नै तयारीबारे गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

तीन दिनपछि (मंसिर २४ गते) काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा तपाईंको तयारी के छ ? केमा उठ्दै हुनुहुन्छ ?

महाधिवेशनको तयारी पार्टी पंक्तिबाट भइरहेको छ । विभिन्न समिति र उपसमिति गठन भएका छन् । महाधिवेशन प्रतिनिधिलाई आवास, भोजन र आउने अथितिको स्वागत सत्कार सबैका लागि कमिटी बनिसकेका छन् । निर्वाचन प्रक्रियालाई अगाडि बढाउने तयारी भएको छ ।

जहाँसम्म मेरो तयारीको कुरा छ, मैले पार्टीका मुख्य पदाधिकारीमध्ये कुनैमा उम्मेदवारी दिने इच्छा राखेको छु । यसका लागि पार्टीका साथीभाइहरू सल्लाह गरिराखेको छु । नेताहरूसँग पनि आवश्यक सल्लाह गरिाखेको छु । म अन्तिम निर्णयमा पुगिसकेको छैन ।

पार्टी सभापतिज्यूकहाँ सबैले आकांक्षा प्रकट गरेकै छन् । मैले पनि गर्ने नै भएँ । उहाँले सबैलाई हेर्छु भन्नुभएको छ ।

प्रमुख पदाधिकारीमा उम्मेदवारी दिने भन्नुभयो । महामन्त्रीमा हो वा अन्य ?

मुख्य पदाधिकारी भनेको के के हो तपाईंहरूलाई नै थाहा छ । मैले पदाधिकारीमा भन्दै गर्दा सभापतिमा उठ्ने कुरा भएन । मेरो दावा छैन । त्यो बाहेक मुख्य पदाधिकारी के के हुन् तपाईंहरूलाई नै थाहा हुन्छ । मैले भनिराख्नु परेन ।

शनिबार सुदूरपश्चिम प्रदेशबाट फर्किएपछि तपाईंको सचिवालयबाट महामन्त्रीको उम्मेदवारका रुपमा पोस्टर आइरहेको छ । महामन्त्रीकै उम्मेदवार हुन लाग्नु भएको हो ?

मेरो सचिवालयमार्फत कुनै पोस्टर  आएको छैन ।  शुभेच्छुकहरूले, माया गर्ने मान्छेहरू एनपी साउद महामन्त्रीको उम्मेदवार हुनुपर्छ भन्ने किसिमले सम्प्रेषित गरेका हुन् । मैले पार्टीभित्र पदाधिकारीको जिम्मेवारी लिएँ भने अस्वाभाविक हुन्छ र ? यो पार्टीभित्र मेरो योगदान र काम गराइ लामो छ । म जेल गएको छु । जिम्मेवारीमा बसेर काम गरेको छु । त्यसैले साथीहरूले स्वाभाविक रुपमा मेरो नाम लिनुभएको हो ।

एनपी साउदप्रति शुभेच्छा प्रकट गर्नेहरूले महामन्त्रीमा देख्न चाहेको देखियो । शुभेच्छुकको चाहनालाई मिट गर्नका लागि तपाईंले आन्तरिक तयारी के गर्नुभएको छ ?

मैले देशभरिका साथीहरूको भावना बुझ्नुपर्छ । नयाँ पिँढीको भावना पनि बुझ्नुपर्छ । देशभर एउटा टीम स्पिरिडमा काम भइरहेको छ । त्यो टीम सभापतिले चलाइराख्नुभएको छ । पार्टी पनि चलाइराख्नुभएको छ । यो निर्णय गर्ने सुविधा उहाँलाई नै छ । उहाँले कसरी साथीहरूलाई समायोजन गर्नुहुन्छ, कसलाई कुन ठाउँमा राख्नुहुन्छ, उहाँको कुरा हो । यसमा हामीले असजिलो गर्ने काम गर्नुहुँदैन भन्नेमा छु । धेरै साथीहरूले आकांक्षा व्यक्त गर्नुभएको छ । कसरी कहाँ समायोजन गर्नुहुन्छ, त्यो उहाँले व्यवस्थापन गर्ने कुरा हो ।

महामन्त्रीको उम्मेदवारका रुपमा तपाईको चर्चा भइरहेका बेला आज बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आउनुभयो । त्यहाँ आफ्नो आकांक्षा त प्रकट गर्नुभयो होला । उहाँले के सिग्नल दिनुभयो ?

हाम्रो दाबा र मान्छेहरूको हामीप्रतिको अपेक्षा पारदर्शिता छँदैछ । मान्छेले अनुमान पनि लगाउन सक्नुहुन्छ ।  अपेक्षा पनि राख्न सक्छन् । मैले माथि भनिसकेको छु कि त्यसको अन्तिम निर्णय लिने अधिकार र सुविधा नेतृत्वलाई नै छ ।

जहाँसम्म १४ औं महाधिवेशन मेरो जीवनको महत्वपूर्ण घडीको भन्ने कुरा छ, यो मेरो पिँढीकै लागि पनि महत्वपूर्ण र निर्णायक छ । यसलाई महत्वपूर्ण रुपमा लिएको छु ।

निर्णय लिने अधिकार त सभापति देउवालाई नै होला । तर, उहाँसँग म यो पदमा लड्छु भनेर भन्नुभयो कि भएन ?

पार्टी सभापतिज्यूकहाँ सबैले आकांक्षा प्रकट गरेकै छन् । मैले पनि गर्ने नै भएँ । उहाँले सबैलाई हेर्छु भन्नुभएको छ ।

तपाईंलाई पनि हेर्छु भन्नुभएको हो ?

सबैलाई हेर्छु भन्नुभएको छ ।

तपाईंले लामो समय शेरबहादुर देउवाको विश्वासपात्रका रुपमा काम गर्नुभयो । शेरबहादुर देउवाबाट ग्रिन सिंग्नल आएपछि महामन्त्रीको उम्मेदवारमा तपाईंको चर्चा भएको धेरैको बुझाइ छ । अवस्था त्यस्तै हो ?

उहाँ अहिले छलफलकै क्रममा हुनुहुन्छ । उहाँ छलफकै क्रममा रहेका बेला मैले उहाँले यो निर्णय गर्नुभयो  भनेर भन्ने कुरा भएन । उहाँको सुविधा कुरा हो । उहाँले आवश्यक निर्णय गर्नु हुनेछ भन्ने मलाई लाग्छ ।

व्यक्तिगतरुपमा १४ औं महाधिवेशनलाई तपाईंले राजनीतिक जीवनमा महत्वका साथ लिनुभएको देखियो । देउवाले महामन्त्री वा उपसभापतिको उम्मेदवार बनाउनुभएन भने त्यो टीम नै छोड्नुहुन्छ ?

बाहिर मान्छेहरूले के विश्लेषण गर्छन्, म त्यतातिर लागेको छैन । म काँग्रेसको एकताको हुनुपर्छ भन्ने दृष्टिकोण राख्छु । तीन–चार महिनापछि चुनाव आउँदैछ । पार्टीलाई चुनावमा जिताउनुपर्ने हामी सबैको दायित्व छ । सकभर पार्टीको नेतृत्व सर्वसम्मत र एकजुट भएर आओस् भन्ने चाहना छ । मजस्तै हजारौं कार्यकर्ताको चाहना पनि यही छ ।

जहाँसम्म १४ औं महाधिवेशन मेरो जीवनको महत्वपूर्ण घडीको भन्ने कुरा छ, यो मेरो पिँढीकै लागि पनि महत्वपूर्ण र निर्णायक छ । यसलाई महत्वपूर्ण रुपमा लिएको छु ।

तपाईंहरूको होमवर्क चाहिँ कसरी अगाडि बढिरहेको छ ?

देशभरिका साथीहरूसँग हामी सम्पर्कमै छौँ । देशभरिका साथीहरूको के अपेक्षा छ के इच्छा छ, यसबारे पार्टी सभापति स्वयं पनि जानकार हुनुहुन्छ । पार्टी सभापतिकहाँ सूचना पनि आउने नै भयो । उहाँ पार्टी सभापतिमात्र होइन, देशको प्रधानमन्त्री पनि हुनुहुन्छ । मैले यो महाधिवेशनलाई उच्च महत्व दिएको छु । मेरो पिँढीले पनि उच्च महत्त्व दिएको छ । व्यक्तिका लागि मात्र होइन, देशकै लागि पनि ऐतिहासिक पार्टीको ऐतिहासिक महाधिवेशन महत्वपूर्ण हुने नै भयो ।

भोलि प्रमुख पदाधिकारी भन्दा बाहिर गएर उम्मेदवार हुने सम्भावना छ कि छैन ?

भोलि पर्सिको कुरा गरेर नेताहरूबीच चलिरहेको छलफलबारे बटमलाइन किन तयार गर्नुहुन्छ ? तपाईंले मेरो इच्छा के छ भनेर सोध्नुभयो । मैले मेरो इच्छा भनेँ । यसलाई यतिमै राख्दा कसो होला ?

व्यक्तिलाई इंगितभन्दा पनि संस्थापनसँग आवद्ध समूह वा व्यक्तिबीच छलफलबाट भए पनि एकता स्थापित हुन सके राम्रो हुन्छ ।

महाधिवेशन प्रतिनिधिहरू चयन भइसकेको अवस्था छ । काँग्रेसभित्रको समीकरणमा प्रतिनिधिको पल्ला कसको पक्षमा भारी देख्नुहुन्छ ? तपाईंको विश्लेषण के छ ?

महाधिवेशन प्रतिनिधिमध्ये अधिकांशको चाहना पार्टी एकजुट भएर जाओस्, आगामी निर्वाचनमा पुन:स्थापित गर्न सकियोस् । पुनर्विजयको बाटोमा लैजान सकियोस् भन्ने छ । जहाँसम्म तपाईंले पार्टीभित्र पक्ष–विपक्षको दृष्टिकोणले सोध्नुभयो । वर्तमान सभापतिज्यूसँग असहमत जति पनि नेताहरू हुनुहुन्छ, उहाँहरू धेरै कित्तामा विभाजित हुनुहुन्छ । त्यसको प्रतिकुलता उहाँहरूले सामना गरिाख्नुभएको छ जस्तो देखिन्छ ।

त्यसोभए शेरबहादुर देउवाको पक्षमा पल्ला भारी छ भन्ने तपाईंको बुझाइ हो ?

मैले पल्ला भारी वा सजिलो भन्दा पनि एकताको पक्षमा आफ्नो दृष्टिकोण राखेँ । शेरबहादुर देउवाको ठाउँमा अर्को ल्याउँछौं भन्नेहरू फरक–फरक कित्तामा हुँदा के असर हुन्छ, त्यो तपाईंले नै बढी मूल्यांकन गर्न सक्नुहुन्छ ।

संस्थापन पक्षमा पनि त उपभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठले विद्रोह गर्ने संकेत देखाउनुभएको छ । निधिले त उम्मेदवारी समेत घोषणा गरिसक्नुभएको छ । कि त उहाँहरूको विद्रोहले फरक पार्दैन भन्ने हो ?

संस्थापनभित्र पनि मान्छेका विभिन्न इच्छा आकांक्षा छन् । इच्छा र आकांक्षालाई अन्यथा लिनुहुँदैन । मलाई पूरा विश्वास छ कि फेरि पनि त्यसको व्यवस्थापन हुन सक्छ । समय क्रममा त्यसको व्यवस्थापनका लागि सभापतिज्यूले हल गर्नु हुनेछ भन्ने मलाई विश्वास छ ।

विमलेन्द्र निधि पनि देउवा टीमै रहनुहुन्छ भन्ने हो ?

व्यक्तिलाई इंगितभन्दा पनि संस्थापनसँग आवद्ध समूह वा व्यक्तिबीच छलफलबाट भए पनि एकता स्थापित हुन सके राम्रो हुन्छ ।

संस्थापन पक्षले शेरबहादुर देउवालाई सभापतिमा दोहोर्‍याउँदै गर्दा पहिलो राउण्डमा नै जित्नेखालको विश्लेषण गरिरहेको छ । तपाईको विश्लेषण पनि त्यही हो ?

धेरै टिमहरू लडे र धेरै मान्छेहरूका बीचमा प्रतिस्पर्धा भयो अनि उहाँको विपक्षमा लड्नेहरूका बीचमा एकीकरण भएन भने मान्छेहरूले आफ्नो मत एकैपटक व्यक्त गर्न सक्छन् ।

देउवा टिमकै केही नेताहरू क्षेत्र वा जिल्लातिर एकापसमा भिड्दा शेरबहादुरलाई अप्ठ्यारो भयो भन्ने सुनिन्छ नि ?

व्यक्तिगत कुरा मसँग नगर्नुस् । तपाई मसँग त्यसरी बोलेर व्यक्तिगत कुरा गर्न सक्नुहुन्न । त्यो नगर्नुस् । मसँग सैद्धान्तिक र पार्टीका कुरा गर्नुस् । समूह र पार्टीको कुरा गर्नुस् ।

तपाई पदाधिकारीमा लड्दै गर्दा भोलि तपाईले बनाउने काँग्रेस कस्तो हुन्छ ? योजना के छ ?

नेपाली काँग्रेस अहिले पनि गुटबन्दीको शिकारमा छ । गएको निर्वाचनमा हामीले हार्नुको प्रमुख कारणमध्ये एउटा हाम्रो विरुद्ध सबै कम्युनिष्टहरू एकजुट भएर गठबन्धन बनाएर एकै ठाउँमा आउनुभयो र दोस्रो कारणमा हामी गुटगत रुपमा क्षय भएर हाम्रो पार्टी बस्नु हो । अनुशासन पनि हामीले कायम गर्न सकेनौँ । सबैभन्दा पहिलो त हामीले हाम्रो घर, आफ्नो पार्टीलाई अनुशासनमा राख्नुपर्ने अवस्था छ ।

दोस्रो कुरो, यो पार्टीको विधानमा पनि केही परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता छ । विधान गैरसरकारी संस्थाको जस्तो मात्र भयो । विधानले जुन राजनीतिक परिचालनको उद्देश्य राख्नुपर्ने हो, त्यो उद्देश्य यो विधानले दिन सकेन । वीपी कोइरालाले निर्माण गरेको  विधानमा जनता परिचालनको एउटा स्पष्ट प्रवन्ध थियो । नेतृत्वसँग एउटा दृष्टिकोण हुन्थ्यो, लक्ष्य हुन्थ्यो, भिजन हुन्थ्यो । र, त्यसका लागि सम्पूर्ण पार्टीपक्तिलाई परिचालन गर्नका लागि प्रजातान्त्रिक पद्दति र नेतृत्वको सशक्तीकरण यी दुईवटै कुरालाई वीपीले विधानमा संयोजन गर्नुभएको थियो । अहिलेको विधान गैरसरकारी संस्थाको जस्तो भो ।

पदाधिकारी भनेको विषेश गरेर सभापति नेपाली काँग्रेसको मियो हो । पदाधिकारीहरू नेपाली काँग्रेसको टिम हो । अब निर्वाचनको प्रक्रियाले फरक–फरक धारबाट सभापति, उपसभापति वा महामन्त्री बन्न सक्ने सम्भावनाले यो कार्यमुलक टिम बन्छ कि बन्दैन भन्ने कुरा महत्वपूर्ण हो ।

यो अधिवेशन गर्नका लागि हामीले यो टु दि प्वाइन्ट ५५ प्रतिशत हिस्सा विधान निलम्बित गरेर मात्रै महाधिवेशनसम्म पुग्न सक्ने स्थिति बन्यो । त्यसकारण, वैधानिक रुपमा पनि नेपाली काँग्रेसभित्र जुन प्रतिस्पर्धाको स्थिति देखिएको छ, हरेक ठाउँमा चुनाव, हरेक ठाउँमा द्वन्द्वको परिकल्पना गरिएको छ । त्यसले गर्दा हाम्रो ८० प्रतिशत उर्जा आन्तरिक प्रतिस्पर्धामा नै खर्च भइरहेको छ ।

धेरै ठाउँमा प्रतिस्पर्धाले फरक ठाउँमा गुटहरू संस्थागत भइरहेको अवस्था छ । अब पार्टीलाई त्यतातिर होइन कि नेतृत्व चाहिँ प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचित हुने, नेतृत्वलाई काम गर्नका लागि सजिलो वातावरण पार्टीको विधानले बनाउने किसिमले हाम्रो अगाडि बढ्नुपर्छ । यो दोस्रो महत्वपूर्ण चुनौति छ पार्टीको सुधारका लागि ।

अब अर्को कुरा के छ भने पार्टीलाई जनस्तरसम्म लैजानुपर्‍यो । पार्टीमा वैचारिक छलफल हुनुपर्‍यो । मुल्य पद्धतिको कल्पना हुनुपर्‍यो । त्यति मात्र नभएर नयाँ पिँढी, विशेष गरेर महिला र युवाहरूलाई जबसम्म पार्टीले आकर्षित गर्न सक्दैन, तबसम्म पार्टीले बहुमत प्राप्त गर्न सक्दैन र आफ्नो पुरानो गरिमाको पुनःस्थापना गर्न सक्दैन । त्यसकारण युवा र महिलासम्म पुग्नलाई पनि एउटा कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ ।

यो कार्ययोजना कार्यान्वयन गर्न नेतृत्वमा पनि जानै पर्ला ? तपाई पदाधिकारीमा जाँदै गर्दा यी कुराहरू पूरा गर्न सम्भव होला र ?

पदाधिकारी भनेको विषेश गरेर सभापति नेपाली काँग्रेसको मियो हो । पदाधिकारीहरू नेपाली काँग्रेसको टिम हो । अब निर्वाचनको प्रक्रियाले फरक–फरक धारबाट सभापति, उपसभापति वा महामन्त्री बन्न सक्ने सम्भावनाले यो कार्यमुलक टिम बन्छ कि बन्दैन भन्ने कुरा महत्वपूर्ण हो ।

विधानले केही अधिकारहरू दिएको छ । तर, विधानले दिएका अधिकारले मात्रै एउटा टीम स्पिरिटमा काम हुन सक्दैन । टीम स्पिरिटमा काम गर्नका लागि एक अर्काप्रति इमान्दारीता चाहिन्छ । निर्भरता पनि चाहिन्छ । अलिकति विशिष्ट क्षमता पनि चाहिन्छ । सम्बन्धित पदका लागि सम्बन्धित व्यक्तिको विशिष्ट क्षमता चाहिन्छ । यदि त्यस्तो भूमिका यो महाधिवेशनको प्रक्रियाबाट गर्न सकिएन भने यो नेतृत्व सफल हुन सक्दैन र नेतृत्व असफल भयो भने पार्टी सफल हुन सक्दैन ।

अहिले यो महाधिवेशनको बीचमा विधान संशोधन गर्ने वा पार्टीको नीतिका सन्दर्भमा बहस हुने सम्भावना छैन । महाधिवेशन सकिसकेपछि मात्र नीतिसम्बन्धी छलफलका लागि छुट्टै अधिवेशन गर्ने पार्टीले निर्णय गरेको छ । तपाईलेचाहिँ यो विधान संशोधन गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्नुभएको हो ?

होइन । मलाई के लाग्छ भने विनाविचार, विनानीति, विना कार्यक्रम कस्तो नेतृत्व हामी छान्दैछौँ । यो मुद्दा नीति, नेतृत्व र विचारका लागि अर्को अधिवेशन गर्ने भन्दै हुनुहुन्छ, त्यसलाई टाढा राखेर हामीले नेतृत्व छनोट गर्‍यौं भने हामीले व्यक्ति मात्र छनोट गर्छौं । व्यक्ति छनोटले नेपाली काँग्रेसको अहिलेको चुनौतिको सामना गर्न सक्छ ? मुलुकका अगाडि विद्यमान चुनौतीहरू सामना व्यक्तिको छनोटले गर्न सक्छ ?

युवाहरूको संख्या ज्यादा हुन्छ । तर, निर्णायक ठाउँमा कति उपस्थिति हुन्छ त्यो हेर्न बाँकी छ ।

यसलाई यसरी पनि व्याख्या गरिएको छ, पहिले नेतृत्व आउँछ, त्यसले आफू अनुकूलको नीति र विधान बनाएर अगाडि जान्छ भन्ने छ नि ?

नेतृत्व आइसकेपछि सम्मेलन केको हुन्छ ? नेतृत्व आइसकेपछि उसैले सम्मेलनबाट जबरजस्ती पास गराउँछ । सम्मेलनले नीति, कार्यक्रम, विचार र नेतृत्व सबै कुरो अविभाज्यरुपमा संयुक्त रुपमा पास गर्न मिल्छ । नेतृत्व एउटा आउँछ, उसले नेतृत्वअनुसारको नीति बनोस्, मेरो कार्यक्रम बनोस् र व्यक्तिगत चाहनाअनुसारको होस् भन्यो भने कार्यकर्ता प्रधान पार्टीमा संगठनको सम्पूर्ण कार्यकर्ताको मनोभावना छायाँमा पर्दैन ?

कार्यकर्ताहरूसँग अन्तरक्रिया नगरिकन, कार्यकर्ताको सहभागिता स्थापित नगरिकन, कार्यकर्ताको अनुभूति, अनुमोदन नलिइकन कुनै पनि नेतृत्व न छनोट हुन सक्छ, न काम गर्न सक्छ । 

उसोभए, १४ औं महाधिवेशनपछि काँग्रेसमा के कुराको रुपान्तरण हुन्छ त ? तपाईंहरूले के कुरामा काँग्रेसमा नयाँपन दिनुहुन्छ ?

काँग्रेसलाई १४ औं महाधिवेशनपछि एकीकृत र अनुशासित पार्टीको रुपमा विकसित गर्नुपर्छ । यो सन्देश यो महाधिवेशनबाट जानुपर्छ । नयाँ पिँढीलाई व्यापक ठाउँ दिनुपर्छ । राष्ट्रिय राजनीतिले गरेको समावेशीकरणको परिकल्पनालाई पनि अधिकतम् मात्रामा पार्टीभित्र ठाउँ दिनुपर्छ । पार्टीमा नयाँ किसिमले रक्तसञ्चार भए मात्र हामी अगाडि बढ्न सक्छौं ।

तपाईंले युवाको कुरालाई बढी जोड दिनुभएको छ । १४ औं महाधिवेशनमा पदाधिकारी तहमा युवाको उपस्थिति कस्तो हुने देख्नुभएको छ ?

युवाहरूको संख्या ज्यादा हुन्छ । तर, निर्णायक ठाउँमा कति उपस्थिति हुन्छ त्यो हेर्न बाँकी छ ।

निर्णायक तहमा युवा आउन गाह्रो छ भन्नुभएको हो ?

होइन । निर्णायक तहसम्म पहुँच कति स्थापित हुन्छ , राजनीतिमा युवाहरूको हस्तक्षेप त्यति नै व्यापक भएको बुझिन्छ । त्यो कुन तहसम्म हुन्छ भन्ने कुरा महाधिवेशनपछि थाहा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप