बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु : प्रेम आले

मङ्गलबार, २१ मङ्सिर २०७८, २१ : ००
मङ्गलबार, २१ मङ्सिर २०७८

आज डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘च्यालेन्ज अफ वाइल्डलाइफ म्यानेजमेन्ट इन एभिएसन सेफ्टी’ विषयमा कार्यशाला ग-यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठ, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलगायत विज्ञले वन्यजन्तु र चराचुरुङ्गीबाट हवाई उडानमाथि हुने सम्भावित जोखिमलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सो अवसरमा प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हवाई सुरक्षा बढाउन र सेवालाई गुणस्तरीय बनाउन लागिपरेको बताए । हवाई उडानमा जङ्गली जनावार र चराचुरुङ्गी ठोक्किए भने दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो । उनले भने, “म आफ्नो गन्तव्य र अडानमा स्पष्ट छु, विज्ञहरुले यहाँ विकृतिहरु छन् यसरी सुधार गर्नुपर्छ भनेर सुझाव दिनुस् । उडानलाई सुरक्षित बनाउन वन्यजन्तुको जोखिमबाट जोगिन प्रभावकारी काम गर्छौँ, छ दिनपछि क्यानको बैठक बसेर बजेट पारित गर्छौ र कार्यक्रम ल्याउँछौँ ।”

पर्यटन मन्त्रालयका  सचिव महेश्वर न्यौपानेले हवाई उडानलाई वन्यजन्तुबाट सुरक्षित बनाउने कार्ययोजना एक हप्ताभित्र प्रस्तुत गर्न मातहत निकायलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई उड्डयनलाई सुरक्षित तुल्याउन लागिपरेको बताए । वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष क्या रामेश्वर थापाले नागरिक उड्डयनलाई सुरक्षित र विश्वसनीय बनाउन सरोकारवाला निकायबीच समन्वयका साथ काम अघि बढाइनुपर्नेमा जोड दिए ।

सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाईजहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप