शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका यादवका पिताद्वारा सर्वोच्चमा रिट

मङ्गलबार, २१ मङ्सिर २०७८, २२ : ४८
मङ्गलबार, २१ मङ्सिर २०७८

सर्वोच्च अदालतमा ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरुले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

यादवका पिता सुधाराम यादवले आज उक्त  रिट निवेदन दायर गर्नुभएको हो । उक्त निवेदनमा यही मङ्सिर २३ गते  सुनुवाइका लागि पेसी तोकिएको छ । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको थियो । सप्तरीको सिराहा नगरपालिका–७ का यादवले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको अध्ययनमा थियो ।

यादवका परिवारले प्रहरीको प्रतिवेदन झुटो भएको आरोप लगाएको छ । कार्यस्थलमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानबिनको माग गर्दै प्रहरीमा परिवारले जाहेरी दिए पनि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि दुर्गेशका पिताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो । संविधान र कानूनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानूनबमोजिम विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी गर्न मागसमेत रिट निवेदनमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप