बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई नेताहरूको सुझाव : सिटौलालाई जसरी पनि मिलाउनुपर्छ

केन्द्रीय सदस्य छान्न कमान्डर तोकियो
बुधबार, २२ मङ्सिर २०७८, १५ : ११
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न महाधिवेशनमा आफ्नो समूहमा कृष्णप्रसाद सिटौला समूहलाई पनि जसरी पनि ‘एडजस्ट’ गर्नुपर्ने सुझाव दिएका छन् । निजी निवास बूढानीलकण्ठमा बसेको आफूपक्षीय नेताहरू १४ औँ महाधिवेशनमा चुनाव जित्ने हो भने सिटौलाको साथ अपरिहार्य रहेको सुझाव दिएका हुन् । ‘हामीले महाधिवेशनमा चुनाव जित्ने हो भने कृष्णप्रसाद सिटौला समूहको साथ चाहिन्छ । सभापतिलाई वहाँको समूहलाई उदारता देखाएर भए पनि मिलाउनुपर्छ भन्ने अधिकांश नेताहरूको सुझाव रह्यो,’ बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरुको उम्मेदवार तय गर्नका लागि कमान्डर पनि तोकिएको छ । विभिन्न क्लस्टरबाट महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । केन्द्रीय सदस्यहरु चयन गर्नका लागि प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ । बैठकमा देउवाले क्लस्टर अनुसार नाम बढी नहुने गरी उम्मेदवारहरू चयन गर्न निर्देशन दिएका छन् ।

देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका थिए ।  बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भएको थियो । देउवाले यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भएको छ । बैठकमा धारणा राख्ने क्रममा नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार महामन्त्रीमा प्रकाशशरण महत र विश्वप्रकाश शर्माले दाबी प्रस्तुत गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले यसअघि महामन्त्रीमा आकांक्षा व्यक्त गर्दै आए पनि बैठकमा केही खुलाएनन् । उनले आफ्नो उचित मूल्यांकन हुने कुरा मात्र राखेका थिए ।

डिना उपाध्याय, पार्वता डिसी र अम्बिका बस्नेतले महिला सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए भने किशोर सिंह राठौरले खस आर्य सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । मानबहादुर विश्वकर्माले दलित कोटाबाट सहमहामन्त्री, अक्तर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान कोटाबाट सहमहामन्त्रीले दाबी गरेका थिए । राम जनम चौधरी थारुबाट सहमहामन्त्री​, सुनिल थापाले हाल कायम रहेको सहमहामन्त्री, महेन्द्र यादवले मधेसी सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । विजय कुमार गच्छदार उपसभापतिमा नै दाबी प्रस्तुत गरेका थिए भने रमेश लेखकले सभापतिबाहेक पदाधिकारीमा दाबी रहने बताए पनि पद भने खुलाएनन् ।

बैठकमा नेताहरूको धारणा सुनेपछि सभापति देउवाले सबैको सुझावपछि आफूलाई निर्णयमा पुग्न सजिलो हुने प्रतिक्रिया दिएका थिए । देउवाले आज प्राप्त सुझावहरूको वरिपरि रहेर आफूले निर्णय लिने जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप