बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा देउवा पक्षकै दुई गुट : सिटौला र विश्वप्रकाशसँग ५०/४५ भोट (सूचीसहित)

बुधबार, २२ मङ्सिर २०७८, १६ : ०८
बुधबार, २२ मङ्सिर २०७८

महाधिवेशनको सँघारमा नेपाली काँग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका दुईवटा ठूला गुटहरु आपसमा टक्कराइरहेका छन् । यी गुटभित्रका उपगुटहरु पनि भूउपग्रह जसरी फन्को मारिरहेका छन् । तर, काँग्रेस नेता कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माको गृहजिल्लाका रुपमा परिचित झापामा भने केन्द्रीय गुट भन्दा पनि ‘लोकल’ गुटकै बढी प्रतिस्पर्धा छ । युवा नेता विश्वप्रकाश शर्मा यसअघि शेरबहादुर देउवा समूहका बलिया सारथी मानिन्थे । पछिल्लो समय महामन्त्रीमा एक्लै उम्मदेवारी घोषणा गरेका कारण शर्मा र सभापति देउवाको दुरी बढेको हो कि जस्तो देखिएको छ ।

अर्कातिर देउवाभन्दा बेग्लै गुटको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला अहिले देउवासँग नजिकिएका छन् । र, उनी देउवा समूहकै पो हुन् कि जस्तै देखिएका छन् । तर, झापा काँग्रेसमा चाहिँ देउवा समूह र पौडेल समूह भन्ने नै छैन, सिटौला समूह र शर्मा समूह गरी यहाँ दुई ठूला गुटहरु छन् ।

काँग्रेसको जिल्ला सभापतिमा देउमान थेबे निर्वाचित भएका छन् । उनी सिटौला समूहका हुन् । त्यस्तै प्रदेश १ को सभापतिमा पनि झापाली नेता उद्धव थापाले गुरु घिमिरेलाई २ भोटले हराएर नेतृत्व हात पारेका छन् । थापा पनि सिटौला समूहकै नेता हुन् । यो अंक गणितलाई हेर्दा झापामा सिटौला पक्षको मत निकै बलियो छ । तर, यहाँ विश्व प्रकाश शर्माको उपस्थिति पनि बलियो छ । काँग्रेसको १४ औं महाधिवेशनका लागि झापासँग जम्मा १३६ भोट छ । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् ।​

​तीमध्ये क्षेत्र नम्बर १, २ र ४ बाट २६/२६ जना महाधिवेशन प्रतिनिधिहरु छानिएका छन् भने प्रदेश ३ र ५ बाट २७÷२७ जना प्रतिनिधि छानिएका छन् । यस जिल्लाबाट कुल महाधिवेशन प्रतिनिधिको संख्या १३२ पुग्छ । यसमा केन्द्रीय समितिमा रहेका पाँचजना कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, सरिताकुमारी प्रसाईँ, केशवकुमार बुढाथोकी र भारतेन्दु कुमार मल्लिकलाई समेत जोड्दा १३७ भोट पुग्छ । स्थानीय काँग्रेस नेताहरुसँग झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट जितेका महाधिवेशन प्रतिनिधिहरुको राजनीतिक आवद्धताबारे सोधखोज गर्दा १३७ भोटमध्ये सिटौलाको पक्षमा करिब ५० मत रहेको पाइयो ।

त्यस्तै शर्माको पक्षमा करिब ४५ मत पाइयो भने बाँकी जना महाधिवेशन प्रतिनिधिहरुले सिटौलालाई मत हाल्छन् वा विश्वप्रकाशलाई भन्ने खुल्न सकेन । झापाका मतदातामध्ये डा. शेखर कोइरालाको पक्षमा झापाबाट अहिलेसम्म धेरै मतदाता खुलेका छैनन् ।

झापामा सिटौला र शर्मा पक्षबीच टकराव भए पनि केन्द्रमा शर्मा र सिटौला दुबै नजिकिन खोजिरहेका छन् । यदि शर्मा देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका झापाबाट शर्मालाई १३७ मध्ये १२० भोटसम्म झर्न सक्ने काँग्रेस नेताहरु बताउँछन् । केन्द्रमा मिले पनि झापाका करिब १० जना महाधिवेशन प्रतिनिधिहरू शर्मालाई भोट हाल्न इच्छुक देखिँदैनन् ।

तर, डा. शेखर कोइराला पक्षकी केन्द्रीय सदस्य सरिता प्रसाई भने झापामा डा. शेखर कोइरालाको पक्षमा गोप्य मत धेरै खस्ने दाबी गर्छिन् । प्रसाईले रातोपाटीसँग भनिन्, ‘हामीसँग कति भोट छ भन्ने त चुनावमा देखिन्छ । दुबै समूहमा नखुलेका धेरै साथीहरु हुनुहुन्छ । उहाँहरूकै समूहमा जोडिएका प्रतिनिधिले पनि हामीलाई भोट हाल्नुहुन्छ । उहाँहरुलाई गन्न दिनोस्, उतातिर गनेका मान्छेले पनि पनि हामीतिरै हुनुहुन्छ ।’

हेर्नुहोस् झापाका काँग्रेस महाधिवेशन प्रतिनिधि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप