शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

बुधबार, २२ मङ्सिर २०७८, १६ : १७
बुधबार, २२ मङ्सिर २०७८

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मियाँ तथा मस्तकिम मियाँ लामो समय नेपाल बाहिर रहँदै आएका थिए । उनीहरुमाथि शङ्खलाबद्ध बलात्कार र हत्याको आरोप छ । सिरियल किलर सकिललाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को कतार शाखाले कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपालको जिम्मा लगाएको थियो । सकिका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी हुन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल र गुल्जारलगायतले साविक टिकुलिया गाविस–९ घर भई पटेर्वा गाविस–१ बस्ने सबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेर आफ्नै कुखुरा फारम नजिकै गाडेका थिए । साविक जण्डौल गाविस–८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साह र त्रिकौल गाविसको निर्मलादेवी साहको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ । सकिलमाथि आफ्नै ससुरा र बुहारीको समेत हत्या गरेको आरोप छ ।

सकिलमाथि सप्तरीको मल्हनियाँका आरुल मियाँ र पाण्डव पासवनको हत्या गरेको आरोप लागेको थियो । विसं २०६८ मा सकिल पक्राउ पनि परे । यद्यपि आरोप पुष्टि हुनसकेन । आरुलका दाइ कलामुद्दिनको जाहेरीअनुसार प्रहरीले २०६८ मङ्सिर ४ गते सकिललाई पक्राउ गरिएको थियो । जिल्ला अदालतको २०६९ चैतको आदेशअनुसार प्रहरी अनुसन्धान मिसिलमा जुटाइएका कागजातको आसय बाँझिएको फाइदा सकिललाई पुग्यो । उनले सफाइ पाए । प्रहरीले बरामद गरेको कङ्काल आरुल मियाँको हो भन्ने प्रमाणित नभएकाले उनको मृत्यु पुष्टि नभएको अदालतको आदेशपत्रमा उल्लेख छ ।
    
सप्तरीदेखि सुनसरीसम्मका नौ जनाको शृङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा प्रहरीले मुख्य योजनाकारका रुपमा सकिललाई पायो । आरुल मियाँ र पाण्डव पासवानको हत्या आरोपमा पक्राउ परे पनि उम्केका सकिलले एकपछि अर्को गरी नौ जनाको हत्या गरेको बताइएको छ । 

शङ्खलाबद्ध हत्या अनुसन्धान क्रममा आठ वर्षअघिको आरुल हत्याकाण्डका मुख्य अभियुक्त सकिलले तत्कालीन प्रहरीको फितलो अनुसन्धान र कमजोर मिसिलका कारण उन्मुक्ति पाएको प्रहरीले ठहर गरेको छ । एक हत्या अनुसन्धानमा प्रहरीले तीन महिला र तीन पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

सोही बेला पक्राउ परेकामध्ये सप्तरीको साविक सारश्वर गाविस–४ का अल्लाउद्दिन मियाँको बयानबाट प्रहरीले नौ जनाको हत्या शृङ्खला फेला पारेको हो । सबै हत्याको मास्टर माइन्ड सकिल हुसैन भएको प्रहरीको भनाइ छ । जसमा गुल्जार अल्लाउद्धिनसहितका व्यक्ति बराबर संलग्न रहेका बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप