शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्रीका लागि बालकृष्ण खाण गृहमन्त्री छोड्न तयार

बुधबार, २२ मङ्सिर २०७८, २२ : ३९
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्रीको जिम्मेवारी अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको खाणले बताएका छन् ।  

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नोतर्फको प्यानल निर्माणका लागि छलफल थालेसँगै खाणले महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

बुधबार विहान देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षले महाधिवेशनको चुनावी रणनीति र पदाधिकारीमा दाबी प्रस्तुतका लागि बैठक राखेको थियो । सो बैठकमा पनि खाणले २२ वर्षदेखि निरन्तर केन्द्रीय कार्यसमिति रहेको भन्दै अब महामन्त्री बन्न चाहेको बताएका थिए ।

खाण सरकारको सेकेन्ड म्यान (गृहमन्त्रीसहित दोस्रो वरियता) समेत रहेको हुनाले महामन्त्रीमा अर्को नेतालाई अवसर दिनुपर्ने देउवा समूहबाटै आवाज उठेको छ । सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने मापदण्ड तय गर्न सभापति देउवामाथि दबाब छ । तर, खाणले महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको रातोपाटीलाई बताए ।

देउवा पक्षबाट महामन्त्रीका सशक्त दाबेदार मानिएका गृहमन्त्री खाणले बुधबार साँझ रातोपाटीसँग कुराकानी गर्दै भने, ‘म महामन्त्रीको उम्मेदवार हुनका लागि गृहमन्त्री  छोड्न तयार छु । प्रधानमन्त्रीज्यूले गृहमन्त्रीमा पार्टीका कुनै साथीहरुलाई जिम्मेवारी दिन सक्नुहुन्छ । म त्यसका लागि तयार छु ।’

आफ्नो पहिलो प्राथमिकता र रोजाइ पार्टीको महामन्त्री नै भएको खाणको भनाइ छ । ‘गृहमन्त्री र पार्टीको महामन्त्रीमध्ये मेरो रोजाइ महामन्त्री हो । महामन्त्रीको उम्मेदवार पनि मै, गृहमन्त्री पनि मै भइराख्नुपर्छ भन्ने छैन’ खाणले रातोपाटीसँग भने, ‘पार्टीले मलाई दिएको जिम्मेवारी पार्टीका कुनै अरु साथीहरु लागि दिए हुन्छ, यसमा मेरो आपत्ति र गुनासो हुँदैन ।’

सभापति देउवाले अहिलेको परिस्थिति र अवस्थामा हेरेर महामन्त्रीको उम्मेदवार अगाडि सार्ने खाणले बताए । ‘अहिलेको परिस्थिति र अवस्थामा कुन व्यक्तिलाई अगाडि सार्दा उपयुक्त हुन्छ, पार्टी सञ्चालन र यो महाधिवेशन गर्नका लागि उहाँलाई के गर्दा सहज हुन्छ, त्यहीअनुसार महामन्त्री छनोट गर्नुहुन्छ,’ खाणले भने, ‘त्यो छनोटलाई हामीले सहजतापूर्वक लिन्छौं । उहाँले उपयुक्त पात्रको छनोट गर्नुहुन्छ ।’

देशभरिका कार्यकर्ताले महामन्त्रीका लागि आफूलाई उपयुक्त पात्रका रुपमा लिएको खाणको दाबी छ । ‘देशभरिका कार्यकर्ताले दाइ लामो सयमदेखि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, तपाईंका पालामा हामी सदस्यहरु विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आइरहेका छौं,’ खाणले कार्यकर्ताहरुको भनाए उधृत गर्दै भने, ‘तपाईं महामन्त्रीमा प्रस्तुत हुनुस्, पार्टीलाई सबल र सुदृढ गराउनका लागि पनि हामीलाई उत्साह र उर्जा थप्छ भनेर भनिराख्नुभएको छ ।’

महामन्त्रीमा आफ्नो दाबी स्वभाविक रहेको खाणको भनाइ छ । देउवा सभापति भएको अवस्थामा खाण समानुपातिक सांसद, संसदीय दलको प्रमुख सचेतक र गृहमन्त्रीसमेत बनेकाले पदाधिकारीमा अरुले नै अवसर पाउनुपर्ने तर्क पनि देउवा समूहमा जबरजस्त उठिरहेको छ ।

यसबारे खाणले भने, ‘२०४८, २०६४ र ०७० सालमा गरी तीन पटक निर्वाचित सांसद भएको थिएँ । हाम्रो पार्टीमा तीनपटक पनि समानुपातिक सांसद भएका साथीहरु हुनुहुन्छ । उहाँप्रति मेरो सम्मान नै छ । प्रमुख सचेतक मैले चाहेकै थिइनँ । मेरो स्वभाव र शैलीले प्रमुख सचेतकको भूमिका निर्वाह गर्छु जस्तो लाग्दैन भन्दा पनि जिम्मेवारी दिनुभएको हो ।’

वर्तमान सरकार निर्माणमा आफ्नो योगदानअनुरुप गृहमन्त्रीको जिम्मेवारी पाएको बताउँदै खाणले भने, ‘संसदीय दलको प्रमुख सचेतक हुँदा हामीले अन्य राजनीतिक पार्टीका सांसद र नेताहरुसँग संवाद गर्यौं । नयाँ सहमतिका लागि वातावरण बनायौं ।  पछिल्लो राजनीतिक वातावरण बनाउने कुरामा हाम्रो पनि त भूमिका होला नि त । अन्य राजनीति दलसँग संवाद गरेर काँग्रेस नेतृत्वको सरकार बनाउने क्रममा संसदीय दलको प्रमुख सचेतकको पनि त भूमिका होला नि त ।’​


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप