शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दराज १२.१२ मा सुखद् किनमेल अनुभव लिँदै वर्षलाई बिदाइ गरौँ’

अभिनव शाक्य, बजार सञ्चालन प्रमुख, दराज
बिहीबार, २३ मङ्सिर २०७८, ०९ : ४१
बिहीबार, २३ मङ्सिर २०७८

ई–वाणिज्यमा आधारित खुद्रा बिक्रेता अनलाइन दराज नेपालले वर्ष २०२१ को अन्तिम बिक्री अभियान ‘१२ः१२ द इअर इन्ड सेल’ सञ्चालन गर्न लागेको छ । डिसेम्बर १२ (आगामी सोमबार) दराजले यो बिक्री अभियान चलाउनेछ । दराजका बजार सञ्चालन प्रमुख अभिनव शाक्य यो अभियानमा क्रेता र बिक्रेताले किनमेलको थप फरक अनुभव लिनसक्ने दाबी गर्छन् । यो विभागले दराज एपमा क्रेता र बिक्रेताले साइनअप गर्दादेखि बिक्रीसम्म र बिक्री माध्यमसँग उनीहरूले कसरी अन्तरक्रिया गरिरहेका छन् भन्ने मामिलालाई नजिकबाट नियाल्छ । साथै, दराजमार्फत भएको किनमेल अनुभवबारे पनि अन्वेषण गर्छ । दराजलाई थप कसरी उत्कृष्ट अनलाइन किनमेल माध्यम बनाउनेबारे पनि यही विभागले काम गरिरहेको हुन्छ । दराज १२.१२ अभियानबारे सोही विभागका प्रमुख अभिनव शाक्यसँग रातोपाटीले गरेको कुराकानी :

दराजले डिसेम्बरमा १२ मा वर्षको अन्तिम बिक्री अभियान १२.१२ आयोजना गर्दैछ, तयारी कस्तो छ ?

दराज १२.१२ यो वर्षको अन्तिम मेगा बिक्री अभियान हो । दराजमा आवद्ध बिक्रेता र खरिदकर्ता दुवैका लागि यो अभियान फाइदाजनक हुनेछ । बिक्रेताबाट सामानको मूल्य निर्धारणदेखि छुटसम्मका सवालमा हामीले छलफल गरिरहेका छौँ । तयारीका सन्दर्भमा केही महत्वपूर्ण कामहरू गरिँदैछ । पाँचवटा बैंक, आईएमई पे र ईसेवाबाट भुक्तानी गरी सामान खरिद गर्ने ग्राहकहरूलाई दिने छुटबारे योजना बनाइसकेका छौँ । यी भुक्तानी साझेदारमार्फत दराजमा सामान खरिद गर्दा ग्राहकहरूले अतिरिक्त छुट पाउनुहुनेछ ।

दराजको प्लेटफर्ममा अहिले १२ हजारभन्दा धेरै बिक्रेताहरू आवद्ध हुनुहुन्छ । उहाँहरूले दराजमा १२ लाखभन्दा धेरै उत्पादनहरू बिक्रीका लागि समावेश गरिसक्नुभएको छ । त्यसैले, बिक्रेताहरूका लागि धेरै प्रकारका सामान खरिद गर्ने विकल्पहरू प्रस्तुत गरेका छौँ । १२.१२ का लागि धेरै बिक्रेताहरूले खरिद सम्झौताहरू राखिसक्नुभएको छ । दराज टीमले यतिखेर विशेष माग भएका उत्पादनहरूमा उपयुक्त मूल्य राख्नेगरी छलफल गरिरहनुभएको छ । दराजको वेभसाइटमा गएर १२.१२ सम्बन्धी ब्यानरमा क्लिक गर्नासाथ सामानहरूको उपलब्धता र मूल्यबारे जानकारी लिन सक्नुहुन्छ ।

दराजले केही अघि मेगा बिक्री अभियान ११.११ सञ्चालन गरेको थियो, अहिले फेरि १२.१२ ल्याउन लागेको छ । यी दुई बिक्री अभियानबीच खास फरक के छ ?

११.११ दराजको सबैभन्दा ठूलो बिक्री अभियान हो । ११.११ र १२.१२ दुवै अभियान अलिबाबा समूहमा समावेश सबै कम्पनीहरूबाट सञ्चालन हुनेगर्छ । विशेषगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाभर नै यी दुवै अभियान चलाउने गरिएको छ । ११.११ जस्तै ‘फलोअप सिक्वेल’ हो । ११.११ पछि पनि ग्राहकहरूका लागि थप एउटा मेगा बिक्री अभियानका रूपमा हामीले १२.१२ सञ्चालन गर्नेगर्छौँ । ११.११ अभियानमा धेरै जनाले ठूलो रकम बराबर खरिद गरिसक्नुभएको होला । तर, कसैले सो अभियानमा आबद्धता जनाउन नपाउनुभएको हुनसक्छ । पहिले नै खरिद गर्नुभएका ग्राहकहरूले पनि सानो आकारको खरिद गर्न चाहनुभएको हुनसक्छ । त्यसैले, १२.१२ सुखद किनमेल अनुभवद्वारा वर्षलाई बिदाइ गर्ने अर्को एक महत्वपूर्ण बिक्री अभियान हो ।

१२.१२ मार्फत दराजले साना तथा मझौला उद्यमी र आम ग्राहकहरूलाई खरिदबिक्री अभियानमा जोड्न चाहेको हो ?

अवश्य नै हो । तर, हामीले कोरोना महामारी शुरू भएदेखि नै साना तथा मझौला उद्यमीहरूले गर्नुभएको उत्पादनलाई दराजमार्फत बिक्री गर्ने अवसर सृजना गरिरहेका छौँ । अहिले दराजमा आवद्ध हुनुभएका १२ हजार बिक्रेतामध्ये अधिकांश उल्लेखित वर्गकै हुनुहुन्छ । दराजको बिक्री संयन्त्र र प्रणालीमार्फत हामीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ । यसैका लागि हामीले धेरै अघिदेखि ‘सहयात्री’ नामक परियोजना पनि सञ्चालन गर्दै आएका छौँ । दराजमा आवद्ध भएको तीन महिनासम्म साना तथा मझौला उद्यमीहरूले कुनै शुल्क तिर्नुपर्दैन । आफ्नो सामान दराजमार्फत बिक्री गर्न सक्नुहुन्छ । महामारीको अवस्था अझै अन्त्य नभएकाले हामीले सो अवसर अहिले पनि उहाँहरूलाई प्रदान गरिरहेका छौँ ।

१२.१२ अभियान निम्ति दराजमा जोडिनुहुने साना तथा मझौला बिक्रेताहरूले शुरूमै शुल्क छुटलगायत सुविधा पाउनुहुनेछ । देशभरका नौवटा शहरमा रहनुभएका बिक्रेताहरू हाम्रो यो अभियानमा जोडिन सक्नुहुनेछ । दराजले अहिले ४७ भन्दा धेरै शहरहरूमा सञ्जाल (नेटवर्क) विस्तार गरिसकेको छ । उहाँहरूले यो सञ्जालको भरपूर फाइदा उठाउन सक्नुहुनेछ ।

दराजले वर्षभर एकपछि अर्को मेगा बिक्री अभियान चलाउने गरेको छ, पछिल्लोपटक चलाएको ११.११ मा नतिजा कस्तो आयो ?

दराजका लागि यो वर्ष दशैं, ११.११ र १२.१२ अभियान सबैभन्दा ठूला हुन् । त्यो बाहेक नेपाली नयाँ वर्षमा अर्को ठूलो खरिदबिक्री अभियान चलाउने गरिएको छ । बीचमा असारतिर ‘महाबजेट बजार’ अभियान पनि चलायौँ ।

यस पटकको ११.११ अभियान अत्यन्त सफल रह्यो । तथ्यांककै कुरा गर्दा सो दिन सात लाख खरिदकर्ताहरूले दराजमार्फत सामान किन्नुभयो, २४ घण्टाभित्रै ३६ करोड रुपैयाँ बराबरको कारोबार भयो । गत वर्ष सोही अभियानमा भएको बिक्री तुलनामा यसपटक दोब्बर ब्यापार भयो । एक घण्टाभित्रै ६ करोड रुपैयाँ बराबरको सामान बिक्री भयो । २४ घण्टाभित्र ५३ हजारवटा माग पूरा गरिएको थियो । दराज र बिक्रेताहरूको परिपक्व तयारीकै कारण सो सम्भव भयो । अंकको कुरा छँदैछ, तर यसपटक थप स्वस्थ ढंगले दराजमार्फत खरिदबिक्री भयो ।

१२.१२ अभियानमा दराजले कस्तो अपेक्षा राखेको छ ?

११.११ जत्तिकै ठूलो अभियान नभएपनि १२.१२ दराजको ठूलै अनलाइन खरिदबिक्री अभियान हो । १२.१२ का लागि पनि हामीले घनीभूत तयारी गरेका छौँ । दराजमा आवद्ध क्रेता र बिक्रेता दुबैलाई कृतज्ञता ज्ञापन गर्ने अवसरका रूपमा यो अभियानलाई लिएका छौँ । यो अभियानमा शिक्षासँग सम्बन्धित उत्पादनहरूमा उहाँहरूलाई आवद्ध गराउने लक्ष्य छँदैछ । अभियानमा विभिन्न गेमहरूले निरन्तरता पाउनेछ । ११.११ को तुलनामा १२.१२ मा निश्चय नै फरक अनुभव लिन सकिनेछ ।

हामीले लाखौँ सामानहरूमा छुट दिइरहेका छौँ । एप खोल्नासाथ प्यानलमा गएर हेर्दा सामानको मूल्य र छुट देख्न सकिन्छ । विद्युतीय, फेसनदेखि दैनिक अत्यावश्यक खाद्यवस्तुसम्ममा हामीले छुट अफर गरेका छौँ । अतिरिक्त छुट पनि राखिरहेका छौँ । पहिले विद्युतीय सामानमा बढी छुट हुने गरेकोमा अहिले सबै प्रकारका सामानहरूमा यस्तो सुविधा पाउन सकिने स्थिति बनेको छ ।

दराजले सामान किनमेल गर्ने ग्राहकहरू खुशी भए/नभएकोबारे अध्ययन गरेको छ कि छैन ?

हामीले हरेक सामान बिक्री गर्दा ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने गर्छौँ । यसका लागि प्रभावकारी प्रकृया र बलियो संयन्त्र दराजले विकास गरेको छ । हाम्रा हरेक बिक्रेताले राख्ने हरेक उत्पादन रहेको पृष्ठमै गएर स्कोरकार्ड (उपलब्धि) हेर्न सकिन्छ । बिक्रेताले क्रेतालाई ‘रेस्पोन्स’ गरे/नगरेको र समयमा सामान उपलब्ध गराए/नगराएकोसम्म हेरिन्छ । माग स्थगित दर कति छ भन्ने जानकारी पनि पाइन्छ । त्यसैले, दराज अनलाइन खोल्ने ग्राहकले कुनै बिक्रेता जवाफदेही भए/नभएको स्पष्ट जानकारी पाउनुहुन्छ । त्यस्ता बिक्रेताको आबद्धता दराजले अन्त्य पनि गरिदिन्छ । यो मामिलालाई हामीले खरिदकर्तासामू पारदर्शी ढंगमै राखिदिएका छौँ । सेवा इन्कार गर्ने सेक्सन हेर्दा त्यहाँ बिक्रेताले राखेका सामानका तस्वीरहरू हुन्छन् नै, स्टार रेटिङ, लिखित समीक्षा र बिक्रेताले राखेको फोटामात्रै नभइ क्रेताहरूले राखेका तस्वीरहरू पनि प्रविष्ट गरिएको हुन्छ । बिक्रेता, उसले राख्ने उत्पादन र दिने सेवा राम्रो छ/छैन भनी सजिलै थाहा पाउन सकिन्छ ।

कोरोना महामारीका कारण मानिसहरूले आम्दानीको स्रोत गुमाए, तर दराजलगायत ई–कमर्श साइटहरूले उत्साहजनक व्यापार गरे । महामारीमा फस्टाएको व्यापार अवस्था सामान्य हुँदा पनि यथावत् रहला ?

महामारीका बेला विश्वभरकै ई–कमर्श साइटहरूले उत्साहजनक व्यापार गरेका हुन् । महामारी प्रभाव अहिले पनि सकिएको छैन । भीडभाडयुक्त स्थानमा किनमेल गर्न जान मानिसहरू अझै डराइरहेका छन् । महामारीका कारण कार्यशैली परिवर्तन भयो र डिजिटल अनुकूल धेरै नै बढ्यो । यस्तो स्थितिमा अनलाइन किनमेलमा पनि प्रभाव स्वतः परिहाल्छ ।

अनलाइनमार्फत किनमेल गर्दा धेरै मानिसहरूलाई सहज भयो । सहजता र बाध्यताका कारण पनि अनलाइन किनमेल विधि अपनाउने स्थिति बनिसकेको छ । दराजमा हरेक महिना उल्लेखनीय संख्यामा खरिदकर्ताहरू बढ्दै जानुले नै यो दाबीलाई पुष्टि गर्छ । समग्र बजारमै अनलाइन किनमेल नै उपयुक्त उपाय हो भन्ने सन्देश व्यापक फैलिएको छ । मानिसहरूको आकर्षण देख्दा अब अनलाइन किनमेलप्रति भरोषा पनि बढ्दै जाने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप