बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पत्रकार’ महोदय, तपाईं दलकै निर्वाचन लड्नुस्

बिहीबार, २३ मङ्सिर २०७८, १० : ५४
बिहीबार, २३ मङ्सिर २०७८

नेपाल पत्रकार महासंघले मंसिर ५ मा विज्ञप्ति निकालेर आफ्ना सदस्यहरूलाई विधानमा उल्लेख गरिएको व्यवस्थाहरूबारे सचेत गरायो । उसले सार्वजनिक गरेको विज्ञप्तिमा भनेको छ–

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन) २०७६ ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृसंगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको छ । राजनीतिक दल वा भातृसंगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।

यसरी पत्रकार महासंघले दुनियाँलाई देखाउनकै लागि भएपनि जारी गरेको विज्ञप्तीले पत्रकारहरूको वास्तविकतालाई पुष्टि गरेको छ र पत्रकारिताको असली अनुहार देखाइदिएको छ । विडम्वना पत्रकार महासंघमा बहाल रहेका केन्द्रीय पदाधिकारीहरू नै राजनीतिक दलका जिल्लास्तरदेखि केन्द्रीय स्तरसम्म आवद्ध भएका छन् । राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधिको उम्मेदवार भएका छन् । सामाजिक सञ्जाल र जताजतै उनीहरूले प्रचारसामग्री प्रदर्शन गरिरहेका छन् । पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरूले यस्ता गतिविधि गरेर अहिले पत्रकारको टाउको निहुराइदिएका छन् ।

पत्रकार महासंघका पदाधिकारीहरू राजनीतिक दलका पेशागत संगठन प्रेस युनियन, प्रेस चौतारीहरूमा आवद्ध हुने कुरा स्वाभाविक मान्न सकिएला । तर दलकै केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला सदस्य आदिमा बस्न उनीहरूलाई कुन नैतिकताले दिइरहेको छ, यो स्वीकार गर्नै नसकिने कुरा हो । पत्रकार महासंघको समग्र संरचना नै कमजोर भएका कारणले पनि नेपाली पत्रकारितामा यस्तो हदको वेथिति थुप्रिएको छ । एउटा विज्ञप्ती निकालेर झारा टार्नुभन्दा महासंघको विधानअनुरुप उनीहरूलाई कारवाही गरिनु पर्दछ । व्यक्तिगत रुपमा महासंघका केन्द्र तथा अन्य संरचनामा रहेका मित्रहरूप्रति मेरो कुनै बैरभाव छैन । तर, समग्र पत्रकारितालाई नै दुषित बनाउन भइरहेका क्रियाकलापहरू भत्र्सनायोग्य छन् र पत्रकारिताका नीतिपद्धति विपरित छन् । 

आमसदस्यहरूले जुन विश्वास र भरोसाले मत दिएका थिए, सोही मतको सम्मान गर्न नसक्ने हो र राजनीतिक दलको जिल्ला, प्रदेश वा केन्द्रीय सदस्य बन्न चाहने हो भने उनीहरूले महासंघबाट विदा लिनु पर्दछ । एउटा सदस्यको प्रारम्भिक दायित्व भनेको उसले आफू सदस्य रहेको संस्थाको विधानअनुरुप कार्य गर्नु हो ।

आमपत्रकारहरूले पत्रकारहरूको हकहित र पत्रकारिताको व्यावसायिक विकासका लागि आफ्ना नेतृत्वहरू चुनेका हुन् । महासंघ उनीहरूको प्राथमिकताको विषयभित्र नपर्ने हो भने भर्खरै महासंघको सदस्यता त्याग्ने हिम्मत गर्दा त्यसलाई सहजै स्वीकार गर्न सकिन्छ । आमसदस्यहरूले जुन विश्वास र भरोसाले मत दिएका थिए, सोही मतको सम्मान गर्न नसक्ने हो र राजनीतिक दलको जिल्ला, प्रदेश वा केन्द्रीय सदस्य बन्न चाहने हो भने उनीहरूले महासंघबाट विदा लिनु पर्दछ । एउटा सदस्यको प्रारम्भिक दायित्व भनेको उसले आफू सदस्य रहेको संस्थाको विधानअनुरुप कार्य गर्नु हो । विधानभन्दा बाहिर गई गतिविधि गर्दा ऊ कारवाहीको भागिदार बन्नु पर्दछ ।

नेपाली पत्रकारिता क्षेत्र अहिले जटिल अवस्थामा छ । कोभिडका कारण तहसनहस भएको यो क्षेत्रलाई सबल बनाउनुपर्ने र त्यसका लागि आवाज उठाउनु पर्नेहरू राजनीतिक दलमा भाग खोजेर समय बर्वाद गरिरहेका छन् । महासंघले नेपाली पत्रकारिता क्षेत्रले भोगेका संकट र समाधानबारे छलफल गर्नुपर्ने हो । तर, महासंघका पदाधिकारीलाई यस्ता काम गर्न फुर्सद छैन । उनीहरूलाई दलमा कहाँनेर भाग पाइन्छ भन्ने चिन्ता छ र त्यसका लागि नेताका दैलो चहार्नबाट फुर्सद छैन ।

नेपाली पत्रकारहरूले अहिले जुन संकटको सामना गरिरहेका छन्, त्यो चानचुने छैन । मिडियाहरू धरासायी भएका छन् र श्रमजीवी पत्रकारहरूको अवस्था नाजुक छ । यस्तो अवस्थाबाट कसरी पार गराउन सकिन्छ भनेर एक मिनेट हाम्रा लागि नसोचिदिने नेतृत्व हामीलाई आवश्यक छैन । हाम्रा लागि चिन्ता गरिदिने नेतृत्वको खाँचो हामीलाई छ । यसो भनेर ती नेतृत्वले हाम्रा लागि चामलको जोहो गरिदिऊन् भन्ने चाहना राखिएको होइन । समग्र पत्रकारिताका नीतिगत कुराहरूमा महासंघका हाम्रा नेताहरू सतिसालझैँ खडा भएको हेर्ने रहर आमपत्रकारको छ ।

अहिले नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरूका निम्ति प्रभावकारी योजना बनाउनु पर्ने हो । यहाँ त कतिसम्म भने महासंघको सदस्यता परिचयपत्र पनि बेलामा सदस्यहरूले प्राप्त गर्न सकेका छैनन् । वर्ष नाघेपछि महासंघको परिचयपत्र हात लाग्ने अवस्था विद्यमान छ । आफ्ना सदस्यहरूलाई बेलैमा परिचयपत्र उपलब्ध गराउने ल्याकत नभएकाहरूलाई हामीले हाम्रा नेता मानिदिनु परेको छ । श्रमजीवीका एजेण्डा बोकेर उनीहरूको हितमा जुध्नुपर्ने महासंघ निरीह भएको छ  । पत्रकारिताको विकासमा ‘क्रियटिभ’ योजनाहरू ल्याउनुपर्ने महासंघ आफै चीरनिन्द्रामा छ । र, दलको आवरणमा महासंघ धुमिल भइरहेको छ । यो अहिलेको पत्रकार महासंघ र नेपाली पत्रकारिताको वास्तविकता हो । यो अत्यन्त चिन्ताको विषय पनि हो ।

पत्रकार महासंघ साझा संस्था हो । अहिले साझा संस्था हुनुको गुण यसले विस्तारै गुमाइरहेको छ । देशको राजनीति सङ्ग्लो हुँदा मात्रै सबै अवयवहरू सफा  हुने हुन् । राजनीतिक दलबिहीनताको कल्पना लोकतन्त्रमा हुँदैन । निर्वाचनका बेला आफूलाई मन परेको दल र उम्मेदवारलाई मत प्रयोग गर्ने कुरा पनि जायज हो ।  तर, यसो भनेर पत्रकार महासंघको नेतृत्वमा रहेकाहरूले दलमा कोटा खोज्ने, दलको महत्वपूर्ण जिम्मेवारी लिने  र बाहिर आफ्नो प्रभाव जमाउन ‘म नेपाल पत्रकार महासंघको फलानो हुँ’ भनेर ‘पत्रकार’ लाई निहुरिन बाध्य पार्ने गतिविधि मान्य हुँदैन । यो कुनै चेतावनी होइन, सरल र सभ्य भाषामा महासंघका पदाधिकारीहरूलाई गरिएको अनुरोध हो । दशकौंदेखि महासंघको सदस्य रहेका कारण महासंघमा देखिएका कमीकमजोरी औल्याउनु म आफ्नो कतव्र्य ठान्दछु ।

महासंघका पदाधिकारीले दलमा पनि जिम्मेवारी लिँदा हामीलाई आममानिसले कुन दलको पत्रकार हो भनी प्रश्न गर्न थालिसकेका छन् । नागरिकको यो प्रश्नले असल पत्रकारहरूलाई घोचिरहेको छ । नेपाल पत्रकार महासंघको सदस्य हुने, राजनीतिक नियुक्ति खाने र आफूलाई त्यसरी नियुक्ति दिने दलको महाविधेशन प्रतिनिधि बन्ने, जिल्ला र केन्द्रीय सदस्य बन्नेहरूले महासंघलाई कमजोर बनाइरहेका छन् ।

महासंघले आफ्ना गतिविधिमा सुधार नगर्ने हो भने हामीले अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई समेत यस्ता विषय अवगत गराउनुपर्ने हुन्छ । अहिले नेपाल पत्रकार महासंघको गतिविधि स्वतन्त्र र निष्पक्ष छैन भनी यसको सदस्यता खारेज गर्न माग गर्नुपर्ने अवस्था बन्न सक्दछ । महासंघका पदाधिकारीले दलमा पनि जिम्मेवारी लिँदा हामीलाई आममानिसले कुन दलको पत्रकार हो भनी प्रश्न गर्न थालिसकेका छन् । नागरिकको यो प्रश्नले असल पत्रकारहरूलाई घोचिरहेको छ । नेपाल पत्रकार महासंघको सदस्य हुने, राजनीतिक नियुक्ति खाने र आफूलाई त्यसरी नियुक्ति दिने दलको महाविधेशन प्रतिनिधि बन्ने, जिल्ला र केन्द्रीय सदस्य बन्नेहरूले महासंघलाई कमजोर बनाइरहेका छन् । उनीहरू ठान्छन् कि महासंघ उनीहरूको विर्ता हो र यसलाई हिजो, आज र भोलि यसैगरी पंगु बनाउन सकिन्छ । यस्ता दुषित कार्य लामो समयसम्म चल्न सक्दैन । देशका नागरिक सचेत हुन थालिसकेका छन् । एकदिन चोकचोकमा बसेर नागरिकहरूले समात्दै तिमी पत्रकार कि राजनीतिक दलको केन्द्रीय सदस्य भनेर सोध्न थालेपछि तपाइहरूको पनि शिर निहुरिएला, त्यो दिन आउन नदिऔँ ।

अहिले जिल्ला तहमा पत्रकारिता गरिरहेकाहरू कुनै दलमा आवद्ध भएकै आधारमा घोचपेच र अपमान सहेर बसिरहेका छन् । केन्द्रीय पदाधिकारीहरू चाहिँ खुलेआम दलमा भाग मागेर प्रचार गर्दै हिँडिरहेका छन् । पहिले खोलाको मुहान सफा हुनुपर्दछ, अनिमात्रै तलसम्म सफा पानी पुग्छ ।  महासंघले पहिले मुहान सफा गर्नुपर्दछ । महासंघको केन्द्रीय समितिमा रहेकाहरू जो राजनीतिक दलमा केन्द्रीय, प्रदेश र जिल्ला सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छन्, उनीहरूलाई  कारवाही गरी पत्रकार महासंघको  सदस्यता खारेज गरिनुपर्दछ । त्यसो हुन सकेमा पत्रकारिता क्षेत्र शुद्ध र विश्वसनीय हुन सक्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिजा अधिकारी
गिरिजा अधिकारी
लेखकबाट थप