शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिमा नेतृत्व छान्ने ‘देउवा अभिव्यक्ति’ भ्रम छर्ने प्रयास !

बिहीबार, २३ मङ्सिर २०७८, १४ : ४०
बिहीबार, २३ मङ्सिर २०७८

शुक्रबार उद्घाटन हुने नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेता कार्यकर्ताहरु अगामी ५ वर्षका लागि नेतृत्व छनोटको जोड घटाउँदा व्यस्त छन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि नेताहरूबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

१४ औं महाधिवेशनमा पुन सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि समेत सभापतिका आकांक्षीका रुपमा देखिइरहेका छन् ।

संस्थापन पक्ष मानिने देउवा समूहबाट सभापतिमा देउवाबाहेक निधिले उम्मेदवारीको घोषणा गरिरहेका बेला संस्थापन पक्ष इतरबाट साझा सभापतिको उम्मेदवार छान्न भइरहेको कसरत सफल हुन सकेको छैन । त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेताहरु साझा उम्मेदवारको खोजीमा लागि रहेका छन् । साझा उम्मेदवार तय गर्ने भनेपछि महामन्त्री डा.शशांक कोइराला सभापतिको उम्मेदवार बन्ने दौडबाट पछि हटिसकेका छन् । शशांक पछि हटेपनि अन्य तीन नेताबीच बिहीबारसम्म सभापतिको साझा उम्मेदवार तय हुन सकेको छैन ।

यसअघि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका शेरबहादुर देउवाले बिहीबार भने सहमतिमै नेतृत्व छान्ने प्रयास भइरहेको बताए । देउवाको यो अभिव्यक्तिको काँग्रेस वृत्तमा चर्चामा हुन थालेको छ । सहमहामन्त्री डा.प्रकाशशरण महतको पुस्तक विमोचन समारोहलाई बिहीबार सम्बोधन गर्दै देउवाले सहमतिको प्रयास भइरहेको भन्दै सहमति नभए प्रतिस्पर्धाबाट नेतृत्व छान्ने बताएका थिए ।

‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाका रुपमा लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्’, देउवाको भनाइ छ । देउवाले सहमति नभएर प्रतिस्पर्धा भएपनि त्यसलाई कटुता र असहिष्णुताका रुपमा लिन नहुने बताए ।

उनले महाधिवेशनमा भाग लिन उत्साहपूर्वक आएका नेता–कार्यकर्ताहरू सोही उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनतर्फ लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।
त्यतिमात्रै होइन, देउवाले काँग्रेसको १४ औं महाधिवेशन पार्टीका लागि मात्रै नभएर प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसलाई सफल पारेर पार्टीलाई बलियो आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए ।

संस्थापनइतर भन्छ– यो भुल्याउने प्रयास हो

अन्तिम समयमा आएर देउवाले सहमतिमा नेतृत्व छान्ने प्रयास भइरहेको भनेर दिएको अभिव्यक्तिलाई संस्थापन इतर पक्षले भुल्याउने प्रयासमात्र भएको टिप्पणी गरेको छ । इतर पक्षले देउवाले सहमति गर्ने कुरा एक महिना अघि गरेको भए सार्थक हुने भन्दै अहिले आएर त्यस्तो कुरा गर्नुको कुनै तुक नभएको तर्क गरेको छ ।

इतर पक्षका नेता अर्जुननरसिंह केसीले भोलि सुरु हुने महाधिवेशनको अघिल्लो दिन सहमतिको कुरा भन्नका लागि मात्रै भएको प्रतिक्रिया दिए । केसीले रातोपाटीसँग भने, ‘सहमतिको कुरा सभापतिजीले भन्नका लागि मात्रै भनिदिएको हो, त्यसको तात्विक अर्थ छैन’, नेता केसीको भनाइ छ । उनले त्यही कुरा देउवाले एक महिना अघि भनेको भए अर्थ लाग्ने बताए ।

‘एक महिनाअघि त्यो प्रस्ताव गरेको भए त्यसले एउटा रुप लिन सक्थ्यो होला, तर भोलिबाट महाधिवेशन सुरु हुँदैछ आज सहमतिको प्रयास भइरहेको छ भन्नु मान्छे भुल्याउने र झुल्याउने अनि मैले सहमति नै खोजेको हो भनेर भ्रम पार्ने प्रयास मात्रै हो’, केसीको भनाइ छ । नेता केसीले देउवा आफैं सभापतिबाट पछि हटेको खण्डमा भने सहमतिबाट नेतृत्व छान्न सकिने बताए । तर उनले आफुले देउवा पछि हट्ने सम्भावना नदेखेको बताए । ‘म अहिलेसम्म त्यो सम्भावना देख्दिन तर त्यस्तो कुनै प्रस्ताव आयो भने सोच्न सकिन्छ’, केसीको भनाइ छ ।

यस्तै राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पनि सभापति देउवाले आफै सवैभन्दा पहिला उम्मेदवारी घोषणा गर्ने बताएर अन्तिम अवस्थामा सहमतिको कुरा गर्नु प्रेस कन्जनसमका लागि मात्र भएको टिप्पणी गरे । ‘आफैं पहिला दौडिने अनि अहिले आएर सहमतिको कुरा गर्नु भनेको त्यो प्रस कन्जमसनका लागि मात्रै हो, अरु केही अर्थ छैन’, आचार्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप