बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रासायनिक मलखादमा बेथिति : अनुगमनमा मल भेटिन्न, बजारमा दोब्बर मूल्यमा विक्री

बिहीबार, २३ मङ्सिर २०७८, १४ : ४७
बिहीबार, २३ मङ्सिर २०७८

रौतहटमा नियमनकारी निकाय र जनप्रतिनिधिको मौनताका कारण ब्यापारीहरुले रासायनिक मलखादमा किसनसँग चर्को मूल्य असुल्न थालेका छन् । जिल्लाका अधिकांश बजारमा व्यापारीहरुले डिएपी मल मनलाग्दी मूल्यमा बिक्री गर्न थालेका छन् ।

गहुँ, मुसुरो जस्ता बालीका लागि डिएपी मल आवश्यक पर्दछ । नेपाल सरकारले किसानलाई मलखाद आपूर्तिको लागि स्थानीय डिलरमार्फत वितरणको व्यवस्था गरेको छ । कटहरियास्थित मलखाद बिक्री वितरणको अधिकार पाएका झन्डै एक दर्जन डिलरले कृषि सामग्री कम्पनी  चन्द्रनिगाहपुर र बीरगंजबाट मलखाद ल्याउने गर्दछन् ।

तर अधिकांश डिलरले सहुलियत दरको नेपाली डिएपी  मलखाद गोप्यरुपमा व्यापारीलाई बिक्री गर्ने गरेको कटहरिया–३ का स्थानीय समाजसेवी मनोज जयसवालले रातोपाटीलाई बताए । कृषि सामग्री कम्पनी प्रमुख, कटहरियाका स्थानीय जनप्रतिनिधिले मलखाद डिलरको निगरानी नगरेकाले किसानले पाउनुपर्ने मल सोझै व्यापारीको गोदाममा पुग्ने गरेको पीडित किसानको गुनासो छ ।

कटहरियाका केही व्यापारीहरुले २४ सय प्रति बोरा पर्ने सहुलियत दरको नेपाली डिएपी मलखादलाई भारतीय ब्रान्डको बोरामा राखेर प्रति बोरा ४ हजार सम्ममा बिक्री गरिरहेको समाजसेवी जयसवालले बताए ।

एउटै व्यापारीले तीन वटासम्म सहकारी दर्ता गराएर सहुलियत दरको मलखाद ल्याउने र थोरै परिमाणमा सहुलियत दरमा किसानलाई मल वितरण गरी ठुलो परिमाणको मलखाद व्यापारीमार्फत मनलाग्दी भाउमा बिक्री गरिरहेको कटहरिया–५ का किसान दिनानाथ साह कलवारले बताए ।

मेयर सियाराम कुश्वाहाले मलखाद व्यवस्थापनको जिम्मा उपमेयरको रहेको बताए । उपमेयर र कृषि सामग्री संस्थानको प्रमुखको मिलोमतोका कारण मलखादमा बेथिति देखिएको उनको भनाइ छ । उपमेयर नुर जहाँ खातुन भने मलखादसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो मात्र नभएको भन्दै अनुगमनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण हुने बताउँछिन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीको  निर्देशनमा कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रबि कुमार र प्रहरीसहितको संयुक्त टोलीले कटहरियास्थित मलखाद पसलमा अनुगमन गरेको छ ।

अनुगमनको हल्ला चलेपछि बुधबार कटहरियास्थित अधिकांश मलखाद पसल बन्द रहेको थियो । कटहरियादेखि बगही र बिर्ती प्रस्टोकास्थित सहकारीमा अनुगमनको क्रममा डिएपी मल फेला नपरेको तर युरिया मलखाद भने साबिक दरभाउमै बिक्री भइरहेको कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रवि कुमार केशरी बताउँछन् ।

प्रत्येक दिन सयौं बोरा डिएपी मल बिक्री हुने पसलमा अनुगमनको क्रममा एक बोरा पनि नभेटाउनु रहस्यपूर्ण रहेको किसानहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप