बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात

बिहीबार, २३ मङ्सिर २०७८, १५ : १८
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको उनले जानकारी गराए । त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ । बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जानकारी गराए । 

त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ । बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले गराउने बताइएको छ । 

पार्टीको नीतिबारे छलफल गर्ने विषय महाधिवेशनको कार्यसूचीमा नराखिएको प्रवक्ता शर्माले बताए । यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत रहने बताउँदै उनले नीति अधिवेशन पछि हुने जानकारी दिए बताए । 

रामचन्द्र अनुपस्थित

वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा अनुपस्थित रहने जानकारी गराएको प्रवक्ता शर्माले बताए । बैठक बस्नुअघि पार्टी कार्यालयका मुख्यसचिवले वरिष्ठ नेता पौडेललाई सम्पर्क गरेका थिए । महाधिवेशनमा पार्टीका कोही पनि अनुपस्थित नहोस् भनि पार्टीले चाहेको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप