शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशन प्रतिनिधि भन्छन्– गुटरहित काँग्रेस बनाउने नेतृत्व आउनुपर्छ

बिहीबार, २३ मङ्सिर २०७८, १६ : २२
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ । पटक पटक सर्दै २४ देखि २६ मंसिरमा हुन लागेको महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौंमा पुग्ने क्रम जारी छ । यही क्रममा तनहुँबाट पनि महाधिवेशनमा ५३ जना प्रतिनिधि सहभागी हुँदै छन् । तीमध्ये केही हप्ता दिन अगाडि नै काठमाडौं पुगिसकेका छन् भने केही आज साँझसम्म पुग्नेगरी बाटो लागेका छन् ।

१४ औँ महाधिवेशनमा सहभागी हुने तनहुँका प्रतिनिधिको एउटै मत छः यसपटक गुटरहित काँग्रेस बनाउने नेतृत्व चयन गर्नुपर्छ । गुटको राजनीतिले व्यक्तिलाई फाइदा भए पनि पार्टीले नोक्सानी व्यहोर्नु पर्ने उनीहरूको तर्क छ ।  

सत्ता र पद भन्दा लोकतन्त्रको रक्षाको निम्ति काम गर्ने नेतृत्व काँग्रेसलाई आवश्यक रहेको जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि जितप्रकाश आले बताउँछन् । उनी भन्छन्, ‘यसपाली पदको मात्रै होइन आदर्श र विचारको राजनीति गर्न सक्षम नेतृत्व चयन गर्नेछौँ ।’ काँग्रेसमा राजनीतिक संस्कार नहुँदा गुटगत राजनीति हावी हुन थालेको उनको प्रतिक्रिया छ । गुटगत राजनीतिले पार्टीलाई कमजोर बनाउँदै लैजाने भएकाले अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।

 अर्का महाधिवेशन प्रतिनिधि प्राडा.कृष्णप्रसाद गौतम अनुशासनहिनताका कारण काँग्रेस जर्जर अवस्थामा पुगेकाले सुधार गर्ने नेतृत्व महाधिवेशनबाट आउने अपेक्षा राखेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको नेतृत्व नै गुटलाई प्रशय दिनेछ । कांग्रेसको हित भन्दा पनि आफ्नो गुटको स्वार्थमा बढी लाग्ने र सत्तालिप्त भएको कारणले कांग्रेस जर्जर अवस्थामा पुगेको हो । यसलाई सुधार गरेर गुटरहित काँग्रेस र अनुशासित कार्यकर्ता बनाउन सक्षम नेतृत्वलाई छनोट गर्नुपर्छ ।’ अब पार्टीको नेतृत्व युवा पुस्ताले हाँक्नु पर्ने उनले बताए । यसपालिको महाधिवेशनमा युवापुस्ताको बाहुल्यता रहेको कार्य समिति बनाएर अर्को पटक उमेर पुगेका बुढा नेतालाई बिदाई गर्नुपर्ने उनको धारणा छ । 

महाधिवेशन नीतिलाई नभएर नेतृत्व छान्ने थलोमा रुपान्तरण भएकोमा शान्तिरमण वाग्लेको चिन्ता छ । ‘नेतृत्व मात्रै छान्ने अधिवेशनका रुपमा अगाडि बढेको छ । निष्ठावान आदर्श र कर्तव्यनिष्ठ नेतृत्वलाई छान्नुपर्ने चुनौती छ’, उनले सुनाए । भावी नेतृत्व युवाले सम्हाल्ने भएकाले साथमा लिएर जानुपर्ने वाग्ले बताउँछन् । ‘युवासँगै अग्रजलाई पनि समेट्नुपर्छ । यसपालि तल्लो तहदेखि युवाको राम्रो उपस्थिति छ । युवा र अग्रज साथमा मिलेर लाग्ने हो भने कांग्रेस अझ शसक्त बन्ने निश्चित छ,’ उनले भने ।  

यसपालिको महाधिवेशनले पदाधिकारीमा धेरै महिलालाई समेट्ने सरिता गुरुङको विश्वास छ । ‘महिला आरक्षण कोटामा मात्रै नभएर पदाधिकारीमा पनि महिला पुग्नुपर्छ,’ गुरुङले भनिन्, ‘महिला नेतृत्वमा पुग्न योग्य छन् । महिलाको योगदानलाई पार्टीले सही सम्मान दिने विश्वास लिएका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप