शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजसम्म पनि मेराे सभापतिको उम्मेदवार छैन :  गगन थापा

बिहीबार, २३ मङ्सिर २०७८, १७ : १५
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेस महामन्त्रीका उम्मेदवार  गगन थापाले आजका दिनसम्म आफ्नो सभापतिको उम्मेदवार नभएको बताएका छन् । बिहीबार दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक कार्यक्रममा थापाले भने, "आजका दिनसम्म मेरो कोही उम्मेदवार छैन । तर मेरो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने छु ।" १४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन हुने भएकाले आफू महामन्त्री भएर गर्ने काम अवधारणा पत्र ल्याएको बताए ।

शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ । 

थापाले पार्टीमा क्रियाशील भएर यसमार्फत जनताको जीवनमा बदलाव ल्याउने कुरा महत्त्वपूर्ण भएको बताए । उनले जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने जिकिर गरे । उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुङ्गिन्छ त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुङ्गियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’

‘१०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरूलाई लिएर काठमाडौँ या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस् । मलाई यति मात्र भए पुग्छ । त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ,’ थापाले भने, ‘मेरो छोरीहरूलाई लागोस् कि मेरो बा जुन पार्टीमा बसेर काम गरे त्यो कामले कहीँ न कहीँ हामीलाई टेक्ने आधार एउटा बनाइ दियो । यति भइदियो भने म आफ्नो राजनीतिक जीवन सफल भएको ठान्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप