शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो

रानी सडक खण्डमा एकतर्फी सवारी आवागमन
बिहीबार, २३ मङ्सिर २०७८, १८ : २९
बिहीबार, २३ मङ्सिर २०७८

विराटनगर–इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेका हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।

छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै भासिएको अनुमान छ ।

स्थानीय भोला कामतका अनुसार सडक निर्माणको चरणमा नै ठेकेदार कम्पनी आशिष निर्माण सेवाले कमसल सामग्री प्रयोग गरेको थियो । स्थानीयले तत्काल रोकेपनि पछि फेरि कम्पनीले सोही सामग्री प्रयोग गरेर सडक निर्माण गरेको थियो । त्यसैले, समय नपुग्दै भत्किने समस्या देखियो ।

उता आशिष निर्माण कम्पनीले भने भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले भारवहन थेग्न नसकेका कारण सडक भासिन पुगेको बताउँदै आएको छ । कम्पनीका सुपरभाइजर विएन धमलाले भने, ‘छ लेन सडकको भारवहन क्षमता २० टन मात्र छ । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएका ३० टनसम्म भार बोकेका लहरी लगायतका ढुवानीका साधन गुड्दा रानी सडक खण्ड भासिन पुग्यो ।’

उनले खानी सडक खण्डअन्तर्गत तीन किमि सडक भासिएकाले डेढ किमि सडक भत्काएर पुनः निर्माण गर्ने कार्य सुरु गरिएको जनाए । भासिएको बाँकी सडक पनि चाँडै निर्माण गरिने सुपरभाइजर धमलाको भनाई छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधीन सडक भासिएको गुनासो आएपछि सडकको अनुगमन गरी सम्बन्धित ठेकेदार कम्पनीलाई सडक पुनः निर्माण गर्न आफूले निर्देशन दिइ सकेको बताए ।

विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४९ किमि सडक छ लेनमा बिस्तार गर्ने काम अहिले पनि जारी छ । संघीय सरकारले १० अर्ब ९८ करोड रुपैयाँको लागतमा २०६९÷७० देखि छ लेन सडक बिस्तारको काम सुरु गरेको थियो । रानीदेखि सुनसरीको तरहरासम्म ३४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा कालोपत्रको काम सकिएको छ । दुहवीको दुई किमि क्षेत्रमा कामको सुरुवात नै हुन सकेको छैन । यो खण्डमा विभिन्न १७ वटा निर्माण कम्पनीले काम गरेका छन् । सडकको बीच भागमा डिभाइडर राखेर दायाँ–बायाँ ३÷३ लेनमा विभाजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप