मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा

बिहीबार, २३ मङ्सिर २०७८, २० : ५९
बिहीबार, २३ मङ्सिर २०७८

घोषणापत्र जारी गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलन समापन गरिएको हो । २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो ।  

समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्त्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए । प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको उल्लेख गर्दै अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपालले विनाशलाई अवसरमा बदल्न सफलता पाएको बताए ।

उनले भने, ‘विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनर्स्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ । विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ ।’

पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पुर्‍याएकोमा प्राधिकरणलाई धन्यवाद दिँदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकारात्मक अभ्यास तथा अनुभवहरू आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभव भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागलाई पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।

सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरूलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामर्थ्यवान् बनाउनुपर्नेमा जोड दिँदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संरचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख छ । 

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहलाई सामर्थ्यवान् बनाइनुपर्ने धारणा राखे ।

समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुनर्स्थापनाबाट आफूहरूले पनि सिकेको उल्लेख गरे ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्मेलन अन्तर्गतका १० वटा विषयगत सत्रहरू बिहीबार नै सम्पन्न भएका छन् । सम्मेलनलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित थिए । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको पनि सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप