शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन

बिहीबार, २३ मङ्सिर २०७८, २१ : ०८
बिहीबार, २३ मङ्सिर २०७८

मकवानपुरका पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार हेटौंडामा उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकार राजनीतिक दलको छायाँ बन्न नहुने बताए । पत्रकारले समाचार तयार पार्दा दलीय रुपमा नभई सत्य तथ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उनले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचार जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिए । शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिले युवा पुस्तालाई पत्रकारिता क्षेत्रको विकासमा अग्रसर तुल्याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले पत्रकार अधिकारीको लेखनयात्राको निरन्तरताको कामना पनि गरे । सोही कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गरिन् । उनले  कोभिड–१९ का संक्रमणबाट प्रभावित भएका सर्वसाधारण नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने र सबै सरकारी अस्पतालहरुमा गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक जनशक्ति र बजेट उपलब्ध गराइएको बताइन् ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको प्रजातन्त्र, राष्ट्रियता सम्वर्द्धनका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको उल्लेख गर्दै पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक समृद्धिको लागि प्रदेश सरकारले निश्पक्षका साथ विशेष कार्यक्रम तर्जूमा गरी लागू गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उक्त पुस्तकका लेखक पत्रकार अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रको इतिहासका साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतको रुपमा आफ्नो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

मकवानपुरको पत्रकारितालाई पृष्ठभूमिकाल, साप्ताहिक पत्रिकाको विकासकाल, दैनिक पत्रिकाको विकासकाल, रेडियोको विकासकाल, टेलिभिजनको विकासकाल र अनलाइनको विकासकालमा विभाजन गरी पत्रकारिताको इतिहास लेखिएको छ ।

पुस्तकमा हालसम्म पत्रकार महासंघ मकवानपुरको नेतृत्व सम्हालेका अध्यक्षहरूको अनुभव, अग्रज पत्रकारहरुको अनुभव, मकवानपुरबाट पत्रकारिता सुरु गरी हाल मकवानपुरबाहिर रही पत्रकारिता गरिरहेका व्यक्तित्वहरुको विषय पुस्तकमा समेटिएको लेखक अधिकारीले बताए ।

उक्त पुस्तकको समीक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्यामबाट मुलुकमा देखिएको भ्रष्टाचार, विसंगति र हिंसालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक)लगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप