बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : काँग्रेस महाधिवेशनको तयारी पुरा, तातियो चुनावी माहोल

बिहीबार, २३ मङ्सिर २०७८, २१ : ३४
बिहीबार, २३ मङ्सिर २०७८

आज मिति २०७८ साल मंसिर महिनाको २३ गते बिहीबार । आज देशभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङमा समेटिएको छ–

१. काँग्रेस महाधिवेशनको तयारी पुरा

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।   नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीका अनुसार १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको हो।

यता, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।  पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि आग्रह गरे ।

२. केन्द्रिय कार्यसमिति

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बिहीवार पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

३. काँग्रेसमा चुनावी माहोल

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिका लागि प्रचार सुरु गरेका गरेका छन् ।  संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान सुरु गरेका हुन्।

यता, नेता गगन कुमार थापाले १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणा पत्र सार्वजनिक गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

४. अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले एमाले न्यायालयबाट पीडित पार्टी भएको समेत बताए ।

५. महानगरीय ट्राफिक प्रहरी महाशाखा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको छ । 

बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।

६. नेप्सेमा गिरावट

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।

​नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०.४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ ।  यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् ।

५ अंक माथिले बजार घट्दा आज दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

​७. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

​८. माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

​९. काँग्रेस प्रतिनिधि विवरण

नेतृत्व हत्याउने रणनीतिका साथ काँग्रेस  नेताहरू प्रतिनिधिको हिसाब–किताबमा व्यस्त छन् । सभापतिका आकाङ्क्षी देउवा र पौडेल समूहले आफूहरू नै बहुमतमा रहेको दाबी गरिरहेका छन् ।

काँग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार काँग्रेसको सबैभन्दा धेरै भोट बागमतीमा देखिएको छ भने त्यसपछि प्रदेश २ मा धेरै मतदाता रहेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।

​विराटनगर–इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेको हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।

नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

​यो पनि छुट्यो कि!

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप