शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण पक्का

सिटौला समूहबाट प्रदीप पौडेलले महामन्त्री पाउने संकेत
शुक्रबार, २४ मङ्सिर २०७८, ०८ : २१
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना छ । काँग्रेसमा महामन्त्रीका दुई सीट हुने भएता पनि एउटा महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यता देउवालाई छ । यो अवस्थामा सिटौला समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्री पाउने सम्भावना बढेको छ ।   

देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्माको दाबी छ । देउवालाई खाण, साउद र कार्कीमध्ये कसलाई रोज्ने भन्ने सकस छ । आफू भन्दा सिनियर नेता  खाण, साउद र कार्कीले महामन्त्रीको उम्मेदवारका लागि देउवामाथि दबाब बढाएपछि शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारबाट ‘ब्याक’ हुने संकेत देखाएका छन् ।

यद्यपि शर्मालाई समेट्न देउवा टीममा युवा पंक्तिले दबाब दिइरहेको छ । संस्थापन इतर पक्षबाट गगन थापा महामन्त्रीको उम्मेदवार भन्ने निश्चित भएकाले शर्मालाई अगाडि सार्दा युवा पंक्तिलाई देउवा टीमसँग जोड्न सजिलो हुने बुझाइ पनि छ ।

१४ औं महाधिवेशनमा पनि सभापतिको दौडमा निस्किएका देउवाले एकजना महामन्त्रीमा प्रकाशशरणलाई अगाडि सार्ने निश्चित भएको काँग्रेसको उच्च स्रोतले बतायो । देउवा पक्षका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘प्रकाश डाक्टर सापलाई सभापति शेरबहादुर देउवाले  महामन्त्री उम्मेदवार बनाउने संकेत दिइसक्नुभएको छ । प्रकाश डाक्टर सापलाई महामन्त्रीको उम्मेदवार बनाउने कुरा टुंगिसक्यो ।’

सिटौलाले भने– देउवासँग कुरा मिल्यो, महामन्त्रीमा प्रदीपको चर्चा

कृष्णप्रसाद सिटौला समूहलाई आफैंसँग मिलाएर जाने तयारी देउवाको तयारी छ । सोमबार साझा देउवा र सिटौलाबीच बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । उक्त छलफलपछि सिटौला समूह देउवासँग मिलेर जाने करिब निश्चित भएको सिटौला निकट एक नेताले बताए । देउवाले सिटौलालाई उपसभापति बन्न प्रस्ताव गरे पनि उनले एकजना महामन्त्री मागेको देउवा पक्षका एक नेताले बताए ।

उनले भने, ‘सिटौला दाइले शेरबहादुर देउवासँग मेरो कुरा मिलिसक्यो भन्नुभएको छ । त्यसका लागि कृष्ण दाइलाई उपसभापति दिनुपर्ला । उहाँले पहिलेदेखि नै उपसभापति लड्दिनँ भन्दै आउनुभएको हो । अब प्रदीपलाई महामन्त्रीका रुपमा अगाडि सार्न खोजेको देखिन्छ ।’

देउवा पक्षका एक नेताका अनुसार सभापतिलाई बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा मध्ये महामन्त्री कसलाई दिने भन्नेमा गाह्रो भइरहेको छ ।

ती नेताले भने, ‘कृष्ण सिटौलालाई उहाँ ल्याउनुपर्ने भयो । उहाँले महामन्त्री माग्नुभयो भनिदिएर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने सम्भावना देखियो । उहाँलाई एकजना युवा पनि चाहिन्छ भन्ने परेको छ । प्रदीपलाई उम्मेदवार बनाएर जाने सम्भावना छ ।’

प्रदीप पौडेलले भने यसबारे आफूलाई धेरै जानकारी नभएको बताए । उनले भने, ‘सभापति र कृष्ण दाइबीच छलफल भएको पक्का हो । म कृष्ण दाइको महामन्त्री पनि पक्का हो । तर, कृष्ण दाइको प्रस्तावमा देउवा टीममा महामन्त्री बन्ने कुरा टुंगिएको छैन । असम्भव पनि होइन ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप