ad
x
फिचर

नेपाली बुहारी आइना बार्का : आवाजविहीन ७४ छोराछोरीकी आमा !

बार्सिलोना छाडेर नेपालमा अपाङ्गता भएका बालबालिकाको सेवा गर्दै

person explore access_timeमंसिर २४, २०७८ chat_bubble_outline0

उनी स्पेनमा जन्मिएकी हुन् । स्पेनको बार्सिलोना ठूलो सहर हो, काठमाडौँ जस्तै । तर, काठमाडौँले यदि महसुस गर्न सक्दो हो त सुख सुविधाको हिसाबले उसले आफूलाई बार्सिलोनाको सामुन्ने पुड्को महसुस गर्ने थियो । विभिन्न कारणले जीवन सरल छ त्यहाँ । यहाँ बस्नेले यस्तै भन्छन् । विलासिता, सहजता र भव्यताले भरिपूर्ण त्यही सहर उनको  जन्मथलो हो । तर, कर्मथलो नेपाललाई बनाइन् ।


पहिलो पटक नेपाल आउँदा बौद्धिक अपाङ्गता भएकाहरूलाई उनले जस्तो स्थितिमा देखिन्, त्यसले उनलाई बार्सिलोना बस्नै दिएन । साढे दुई महिना नेपाल बसेर फर्किएपछि ती बालबालिकाको अवस्था सम्झेर उनको आँत डाहाले जलिरह्यो । डाहाको उखर्माउलोलाई मत्थर पार्न उनले अन्ततः नेपाल नै फर्कने निधो गरिन् । यहाँ आएको आठ वर्ष पुग्यो । हाल उनी ७४ आवाजविहीनकी ‘आमा’ बनेकी छिन् ।



बौद्धिक अपाङ्गता भएकाहरूको हक अधिकार सुनिश्चितताका लागि लड्ने, युनिभर्सिटी अफ बार्सिलोनाकी प्राध्यापक, सामाजिक अभियन्ता तथा ‘मदर अफ आशा फाउन्डेसन’ की आइना बार्काले विदेशी भूमिलाई कर्मभूमि बनाउँदा भोग्नुपरेका समस्या, चुनौतीलगायत जीवनका विभिन्न पाटाबारे रातोपाटीसँग भलाकुसारी गरेकी छिन् । आफूलाई विदेशी होइन, नेपाली बुहारी भनेर चिनाउन चाहने आइनाले रातोपाटीसमक्ष मनको दैलो खोलेकी छिन् ।





पहिलो नेपाल भ्रमणपश्चात् जीवन नै फेरियो



आइना पहिलोपटक सन् २०१२ मा नेपाल भ्रमणमा आइन् । त्यतिबेला २१ वर्षकी थिइन्,  युनिभर्सिटी अफ बार्सिलोनामा ‘सोसल वर्क’ पढिरहेकी थिइन् । स्नातक तह अन्तिम वर्षको गर्मी बिदाको समय थियो । पढाइको सिलसिलामा नै उनी यता आइन् । नेपाल नै किन छानिन्, उनीसँग यसको जवाफ छैन । यसबारे भन्छिन्, ‘सायद मेरो भाग्यमा नै यहाँ आएर केही काम गर्नुपर्ने थियो कि ?’



आफ्नो देशमा पनि बौद्धिक अपाङ्गता भएकाहरूसँग काम गरिरहेकी उनलाई नेपालमा आएर यस्तै व्यक्तिबारे थप जानकारी बटुल्छु भन्ने लागेको थियो । ठूलो उद्देश्य केही थिएन । तर, अपाङ्गतासम्बन्धी काम गरिरहेका संस्थासँग सहकार्य गर्छु भन्ने सोच उनमा पहिल्यै थियो ।



तर, पहिलोपटक नेपाल भ्रमण गरेपछि उनको जीवन नै परिवर्तन भएको आइनाको भनाइ छ । उनी भन्छिन्, ‘यहाँ अपाङ्गता भएका बालबच्चाहरूको अवस्था देखेर म असाध्यै चकित भएँ । उनीहरूको अवस्थाले असह्य पीडा दियो । उनीहरूलाई निकै कम सुविधा दिएर राखिएको थियो ।’



पहिलो पटक उनी हेटौँडा जाँदा अपाङ्गता भएका बालबालिकाका लागि पढ्ने विद्यालय नै थिएन भनेर अहिले पनि उनी आश्चर्यमिश्रित भाव व्यक्त गर्छिन् । हेटौंडामा त के, पूरै मकवानपुर जिल्लामै थिएन । उनी भन्छिन्, ‘विद्यालय नभएपछि यस्ता बालबालिकाहरू सधैँ घरमा बस्थे । उनीहरूको काम सुत्ने र खाने मात्रै थियो । सिकाइ – शून्य ।’

बार्सिलोना फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर निश्चित गरे पनि उनलाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । स्पेनमा आफूले दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । तर, रकम सङ्कलन गर्न सहज थिएन । ‘धेरैलाई त नेपाल के हो भन्ने पनि थाहा छैन । त्यसमाथि सबैको आ–आफ्नै समस्या । मैले ‘हाम्रो देशमा भन्दा त्यहाँको समस्या विकराल छ, त्यसैले समन्वय र सहयोग गर्नुहोस्’ भनेर धेरैलाई बिन्ती बिसाएँ ।’

‘यी सबै कुरालाई नेपालीहरूले कति साधारणरुपमा लिएको ?’  यसले उनलाई थप दुःखी तुल्यायो । उनले ‘यी बालबालिका किन स्कुल गइरहेका छैनन् ?’ भनेर सोध्ने गर्थिन् । ‘किनभने, यिनीहरू अपाङ्ग छन् । यिनीहरूले केही कुरा सिक्न, पढ्न सक्दैनन्,’ जवाफ झनै नमिठो पाउँथिन् । यस्ता कुराहरूलाई उनलाई चित्तै बुझेन ।

‘त्यतिबेला म बार्सिलोनाको एउटा विद्यालयमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र बालबालिकासँग काम गर्दथेँ । त्यहाँ सम्पूर्ण सुख–सुविधा थिए । नेपालमा किन विशेष पाठशाला छैनन् ? त्यही कुरा स्पेनमा मात्रै नभई युरोप, अमेरिका र विश्वका अन्य मुलुकमा  निकै सहजै उपलब्ध थियो । मैले त्यहाँको स्थितिलाई यहाँको सँग तुलना गरेँ र आफैँलाई प्रश्न सोधेँ ‘किन’ ?,’ उनले निधार मुजा पार्दै भनिन् ।

‘उस्तै प्रकृतिका समस्या र उही उमेर समूहका बच्चा स्पेनमा जन्मिँदा उसले भिन्न सुख सुविधा पाउँथ्यो भने नेपालमा जन्मिँदा त्यसको ठिक विपरीत किन ? पढ्न सक्ने, क्षमता वृद्धि गर्न सक्ने बालबालिका र ठूलो भएपछि जागिर खान सक्नेलाई नेपालमा किन यति धेरै उपेक्षा किन ? यस्ता बालबालिकाले केही पनि गर्न सक्दैनन् भनेर नेपालमा किन सहजै विश्वास गरिन्छ ? उनीहरूलाई घरभित्रै थुनेर राख्नुपर्छ भनेर किन सोच्छन् ?’ विभिन्न प्रश्नले उनलाई गाँजे ।

‘मैले यस्ता बालबालिकालाई डोरीले बाँधेर, खोरमा थुनेर राखेको धेरै देखेकी छु । यो जायज हो जस्तो मलाई लागेन । नेपालमा जन्मिएकै भरमा उनीहरूको अवस्था यस्तो हुनुपर्छ जस्तो मलाई लागेन । संसारको जुनसुकै देशमा जन्मिएपनि बच्चाहरुले एउटै जन्मसिद्ध अधिकार लिएर आएका हुन्छन्,’ आवाजविहीनको आवाज बनिरहेकी उनले भनिन् ।

‘म नेपाल फर्किनुपर्छ’

नेपालबाट बार्सिलोना फर्किएपछि उनी आफ्नो नियमित काममा फर्किइन् । तर, काममा जाँदा उनलाई एउटै प्रश्नले घोचिरहन्थ्यो– ‘यस्तो कसरी सम्भव छ ?’ 

त्यहाँको कुनै बच्चालाई हेरेपछि उनलाई लाग्थ्यो, ‘यो बच्चा यहाँ बार्सिलोनामा नजन्मिएर नेपालमा जन्मिएको भए, उसको जीवन त पूरै फरक हुन्थ्यो । ’ सधैँ एउटै प्रश्न, सधैँ नेपालकै दृश्य । उनलाई आफ्नो देशको सुख सुविधाले तान्न सकेन । फर्किएको १५ दिनभित्रै निर्णय गरिहालिन् – ‘म नेपाल फर्किनुपर्छ, त्यहाँ केही गर्नुपर्छ’ ।

नेपालमा केही गर्ने नै निर्णयपश्चात् उनले स्पेनमा एउटा सामाजिक संस्था दर्ता गरिन् । 

भाषाविद् आमा ग्लोरिया फोन्तोभा र पीचएडी गरेका इन्जिनियर बुवा फ्रान्सेस्क बार्काकी एक्ली छोरी । पढेलेखेकी । उनको भविष्य स्पेनमा निकै उज्ज्वल थियो । छोरीको नेपाल जाने निर्णय सुनेर आमाबुवालाई सुरुमा पिर लाग्यो । ‘नेपालमा एउटा प्रोजेक्ट नै सुरु गर्ने, नेपालमै बस्ने भनेको सुन्दा उहाँहरू डराउनुभएको थियो,’ उनले भनिन् ।

तर, उनका आमाबुवालाई आफ्नी छोरीको स्वाभावबारे राम्रोसँग थाहा थियो । आइना भन्छिन्, ‘मैले जे कुरा गर्छु भनेर सोचेकी हुन्छु, त्यो नपाएसम्म म निरन्तर लागिरहेकी हुन्छु । मेरो नेचर यस्तो छ । मेरो परिवारले यो कुरा बुझेको थियो ।’

 ‘परिवारले मलाई सहयोग गरे पनि नगरे पनि यो कुरामा मैले निर्णय लिइसकेकी छु र यसमा कसैगरी लाग्नेछु भन्ने बुझेपछि उहाँहरूले मलाई सहयोग गर्नुभयो,’ बाल्यकालदेखि नै सामाजिक कार्य गर्ने दृढ सङ्कल्प बोकेकी आइनाले रातोपाटीसँग भनिन् ।

पैसा बटुलेर नेपाल

बार्सिलोना फर्केको १५ दिनपछि नै नेपाल फर्कन्छु भनेर निश्चित गरे पनि उनलाई नेपाल फिर्ता हुन आठ महिना लाग्यो । स्पेनमा आफूले दर्ता गरेको संस्थामार्फत् पैसा सङ्कलन गर्न थालिन् । तर, रकम सङ्कलन गर्न सहज थिएन । ‘धेरैलाई त नेपाल के हो भन्ने पनि थाहा छैन । त्यसमाथि सबैको आ–आफ्नै समस्या । मैले ‘हाम्रो देशमा भन्दा त्यहाँको समस्या विकराल छ, त्यसैले समन्वय र सहयोग गर्नुहोस्’ भनेर धेरैलाई बिन्ती बिसाएँ ।’

यसरी सङ्कलन भएको पैसा बोकेर उनी नेपाल फर्किइन् । एउटा सुन्दर संसार बनाउनका लागि आफ्नो पनि केही योगदान होस् भनेर सधैँ महसुस गर्न चाहने आइना सुरुमै हेटौँडा गइन् । दुई महिनासम्म हेटौँडाको एउटा बालगृहसँग समन्वय गरिन् । त्यसको दुई महिनापछि पत्रिकामा आवेदन दिइन् । तीनजना महिलालाई सहकर्मी बनाइन् । दुई शिक्षिका र एक फिजियोथेरापिस्ट । समूहमा तीनजना सदस्य थपिएपछि स्थिति केही सहज भएको उनी स्मरण गर्छिन् । 

‘मैले यस्ता बच्चाहरूलाई देख्दा उनीहरू सधैँ नतमस्तक भएर ‘नमस्ते मिस’ भन्छन् । उनीहरूलाई देख्दा लाग्छ कि उनीहरूभन्दा अबोध कोही छैनन् । मैले उनीहरूको शिक्षाको लागि केही गरिनँ भने अरू कसैले पनि गर्दैनँ,’ उनलाई यस्तै लाग्थ्यो । 

‘गो ब्याक टु योर कन्ट्री’

सन् २०१३ को डिसेम्बरमा आइनाले हेटौँडामा आशा विशेष पाठशाला खोलिन् । यो स्थापना गर्दाका सुरुवाती समय स्मरण गर्दै उनी भन्छिन्, ‘एक्ली, त्यसमाथि विदेशी र एक महिला । स्थिति असाध्यै गाह्रो थियो । म विदेशी भएका कारण भेदभाव सहनुपर्‍यो । मैले ‘गो ब्याक टु योर कन्ट्री’ भन्ने वाक्य धेरै पटक सुनेँ । मैले महिला भएका कारण पनि विभेदको सामना गर्नुपर्‍यो ।’

‘यदि तपाईं युवती हुनुहुन्छ, विदेशबाट आउनुभएको छ भने तपाईंबाट सबैले फाइदा उठाउन खोज्छन्,’ उनले भनिन् । ‘यो देशको संरचना कस्तो छ, कसरी अघि बढ्नुपर्छ लगायतका कुराबारे अत्तोपत्तो थिएन । मलाई एउटै कुरा मात्रै थाहा थियो – मैले बौद्धिक अपाङ्गता भएकाहरूका लागि काम गर्नुछ । ’

हरेक रात आफैँलाई सम्झाएँ

तर, आइनाले कहिल्यै हिम्मत भने हारिनन् । ‘मैले सहनुपर्छ, यी बालबालिकाले सहज जीवन पाउनैपर्छ,’ उनले सोच्ने कुरा यत्ति थियो ।

‘मैले यस्ता बच्चाहरूलाई देख्दा उनीहरू सधैँ नतमस्तक भएर ‘नमस्ते मिस’ भन्छन् । उनीहरूलाई देख्दा लाग्छ कि उनीहरूभन्दा अबोध कोही छैनन् । मैले उनीहरूको शिक्षाको लागि केही गरिनँ भने अरू कसैले पनि गर्दैनँ,’ उनलाई यस्तै लाग्थ्यो । 

उनी २१ वर्ष मात्रैकी त थिइन् । उनका दौँतरी स्पेनमा असाध्यै रमाइलो गरिरहेको देख्थिन् । साथीहरू निर्धक्कका साथ सपिङ गइरहेको र कफीका लागि भेटघाट गरिरहेका बेला उनले चालेका पाइला भने भिन्न थिए । उनी पनि सायद यही समूहमा हुने थिइन् तर आफूले  सबैभन्दा खराब कल्पनामा पनि नसोचेको कुरा उनले भोगिरहेकी थिइन् । हेला, उपेक्षा ।

तर, यस्ता कुराले उनलाई डग्मगाउन सकेन । भन्छिन्, ‘म कुनै दिन दुःखी भएँ होला । तर, यस्ता बालबालिकाहरूलाई देख्ने बित्तिकै म यहाँबाट जानु हुँदैन भन्ने आइहाल्थ्यो । मैले उनीहरूलाई यत्तिकै छोड्न सक्दिनथेँ । किनभने उनीहरू आवाजविहीन हुन् । उनीहरूलाई के चाहिएको छ, के चाहन्छन् भनेर भन्न सक्दैनन् । आफूलाई शिक्षा चाहिएको छ र शिक्षा आफ्नो अधिकार हो समेत भन्न सक्दैनन् ।’

आइनाका अनुसार यस्ता बालबालिकाहरूको परिवारलाई पनि आफ्नो बालबालिकालाई कसरी सुरक्षा दिने भन्ने थाहा हुँदैन । उनीहरूको हक अधिकारका लागि कसरी लड्ने भन्नेबारे पनि अनभिज्ञ छन् । असाध्यै विषम परिस्थितिमा पनि उनले आफूलाई सकारात्मक राख्ने कोसिस गरिन् । ‘भोलि त राम्रो हुन्छ, भोलि त उद्देश्य प्राप्त हुन्छ भनेर मैले आफूलाई प्रत्येक रात सम्झाउँथेँ, भोलिपल्ट बिहान भुईँमा उज्यालो खस्दा नखस्दै म पुनः अर्को सङ्घर्षका लागि तयार हुन्थेँ, ’ ती घटनासँग जोडिएका भावहरू उनको मनको तलाउमा एकएक गर्दै उत्रिन र चिहाउन थाले ।

तीन महिना ट्रायल

हेटौँडामा आशा विशेष पाठशाला स्थापनाका लागि दुई महिना संघर्ष गरेपछि अन्ततः उनी सफल भइन् । तीनजना सहकर्मी छानेपछि उनीहरूलाई लिएर यस्ता बालबालिकाको घर–घर डुलिन् । अभिभावकलाई सम्झाउन खोजिन् । ‘त्यतिबेला नेपाली बोल्न सके नि आफ्नो भावना राम्रोसँग व्यक्त गर्न सक्थेँ कि भन्ने हुन्थ्यो,’ उनले भनिन् । तर, एक स्पेनी युवतीको कुरा नेपालीसम्म पुर्‍याउन उनका सहयोगीको भूमिका निकै महत्त्वपूर्ण रह्यो ।

उनले आफूहरूलाई तत्काल विश्वास पनि गरिहाल्नु नपर्ने बताइन् । यसका लागि उनले अभिभावकसँग तीन महिनाको समय मागेर आफूलाई ट्रायलमा राखिन् । ‘यदि तपाईंको बच्चाको तीन महिनासम्म केही प्रगति भएन भने बच्चालाई आफूसँगै राख्नुहोस्, हामी केही पनि भन्दैनौँ’ भनिन् ।

तर, तीन महिनामा बच्चाहरूले पनि राम्रो प्रगति भयो । चम्चा दिँदा फ्याँकिदिने बच्चाले अब आफैँले खान सिकेका थिए । एक, दुई अक्षर चिन्न थालेका थिए । लेख्न थालेका थिए । उनको विशेष पाठशालामा सुरुमै १८ जना बालबालिका आएका थिए ।

नेपालीहरूमा यस्तो गलत धारणा हुने आइना बताउँछिन् । स्पेनबाट आएको पैसाको महत्त्व बुझाउन पनि उनलाई सुरुमा सकस भयो । उनी भन्छिन्, ‘स्पेनबाट आएको एक–एक पैसा मेरा लागि मूल्यवान थियो । प्रत्येक रुपैयाँको उचित प्रयोग होस् भन्ने कुरामा म सचेत थिएँ ।’

महिला सशक्तीकरणमा टेवा

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि मात्रै होइन, उनले महिला सशक्तिकरणका लागि पनि काम गरिरहेकी छिन् । उनी भन्छिन्, ‘म सधैँ महिलाका लागि काम गर्छु । हाम्रा सबै कर्मचारी महिला हुनुहुन्छ । काठमाडौँमा त नहोला तर नेपालका दूरदराज इलाकामा महिलामाथि असाध्यै विभेद छ । नेपालको पित्तृसत्ता समाजका कारण मैले जे जति सहनु पर्‍यो, त्यसले पनि मलाई महिलाका लागि काम गर्ने उत्प्रेरणा दिएको हो ।’

आफ्ना कर्मचारीप्रति कृतज्ञ हुँदै उनले भनिन् ‘एउटी महिलालाई रोजगारीको अवसर दिँदा यसले महिला सशक्तिकरणमा केही टेवा पुर्‍याउँछ भन्ने मैले मान्यता राखेकी छु । हाल हामीसँग हेटौँडा र काठमाडौँ गरी २७ महिला कर्मचारी हुनुहुन्छ । उहाँहरू घरमा पनि आमा हुनुहुन्छ र हाम्रो संस्थाका पनि आमा हुनुहुन्छ ।’

विदेशीसँग धेरै पैसा हुन्छ !

नेपालीहरूमा यस्तो गलत धारणा हुने आइना बताउँछिन् । स्पेनबाट आएको पैसाको महत्त्व बुझाउन पनि उनलाई सुरुमा सकस भयो । उनी भन्छिन्, ‘स्पेनबाट आएको एक–एक पैसा मेरा लागि मूल्यवान थियो । प्रत्येक रुपैयाँको उचित प्रयोग होस् भन्ने कुरामा म सचेत थिएँ ।’

सन् २०१३ देखि २०१६ सम्म उनले आफ्नो पाठशाला स्पेनिस जनताको सहयोगमा मात्रै चलाइन् । सन् २०१६ पछि भने एनआरएनएले सहयोग गर्न थालेको उनी बताउँछिन् । ‘विशेष गरी स्पेन र युरोपका एनआरएनएले हामीलाई त्यसपछि सहयोग गर्न थाल्नुभयो । एनआरएनएको एउटा कार्यक्रमका लागि म डेनमार्कमा पनि गएकी थिएँ । त्यहाँका विभिन्न व्यक्तित्वले हामीलाई स्कुलका लागि बस दिनुभयो ।’

केही समयपछि हेटौँडाकै बासिन्दा परिवर्तन भए । उनीहरूले आइनामाथि गर्ने व्यवहारमा पनि भिन्नता आयो । केही स्थानीय क्लबहरू, जस्तै– लायन क्लब, लियो क्लब, रोटरी क्लबले समय समयमा उनलाई सहयोग गर्न थाले । कतिले रासन दिन्थे, कतिले किताब कापी, कतिले केही सामग्री प्रदान गरेर सहयोग गर्न थाले । आफ्ना सपनाहरूले पङ्ख फिँजाएको महसुस उनलाई भयो ।

आवाजविहीन ७४ ‘छोराछोरी’

हेटौँडास्थित आशा विशेष पाठशालाको स्थापना भएको ८ वर्ष पूरा भइसकेको छ । हाल यहाँ लगभग ५० बालबालिका छन् । त्यहाँको पाठशालामा चारवटा कक्षाकोठा भएको उनी बताउँछिन् । ‘ए बी सी डी’ । उनका अनुसार ‘ए’ श्रेणीमा धेरै क्षमता र प्रतिभा भएकाहरूलाई राखिन्छ । ‘डी’ श्रेणीमा सिक्न समस्या भएकाहरूलाई राख्ने गरिन्छ ।

हेटौँडाको पाठशालामा फिजियोथेरापी कोठा पनि छ । यस्तै, सीपमूलक तालिमका लागि दुईवटा कक्षा छन् । यसका साथै, करिब ८ महिना अघि काठमाडौँको ललितपुर सानेपा–२ स्थित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र स्थापना गरेर २४ जनालाई शिक्षा लगायत विभिन्न सीपमूलक तालिम प्रदान गरिँदै छ ।

तपाईंका लागि सिन्दूर के हो भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘एक विदेशी भएको नाताले मेरा लागि यो एउटा सुरक्षाकवच हो । म प्रत्येक दिन सिन्दूर लगाउँछु । यो लगाउँदा म विदेशी होइन भन्ने महसुस हुन्छ ।’

हेटौँडामा एउटा होस्टेल पनि छ । वेटिङ लिस्टमा सयभन्दा बढी बालबालिकाहरू भएकाले होस्टेलको संरचना बनाउने काम अघि बढेको आइनाले जानकारी दिइन् ।  होस्टेलमा हाल १० जना बालबालिका छन् ।

आफ्नो शिक्षा प्रणाली युरोपकोसँग मिल्दोजुल्दो भएको आइनाको ठहर छ । यसबारे विस्तृत रूपमा जानकारी दिँदै उनी भन्छिन्, ‘हामी प्रत्येक बालबालिका भिन्न हुन्छन् भन्ने भाव बुझ्छौँ । त्यसैले हामी उनीहरूको व्यक्तिगत उद्देश्यका लागि काम गर्छौँ । उनीहरूलाई पाठ्यक्रम सम्बन्धित शिक्षा दिन्छौँ । दैनिक क्रियाकलापमा आवश्यक पर्ने कुराहरू सिकाउँछौँ । कतिलाई मुख धुन, लुगा लगाउन, समाजसँग कसरी कुरा गने, फोनमा कसरी बोल्नेलगायतका कुराहरू सिकाउँछौँ ।’

‘सीपमूलक तालिममा हस्तकला, पोते, माला, टोपी बनाउन सिकाउँछौँ । यस्तै कतिलाई केक बनाउन, खाना बनाउन, पेन्टिङ गर्न पनि सिकाइन्छ । हाम्रो उद्देश्य सबैको क्षमता पहिचान गरी तालिम दिनु हो र भविष्यमा दक्ष बनाएर आर्थिकोपार्जनमा सहयोग गर्नु हो,’ आफ्नो भिजन व्यक्त गर्दै उनले भनिन् । 

विदेशी छोरी, नेपाली बुहारी

आइनालाई देख्ने जो कोहीले पनि उनी विवाहित हुन भनेर स्पष्ट बुझ्छन् । सिउँदोमा सिन्दूर, निधारमा टीका र आँखामा कोस निकालेर गाजल लगाउन उनलाई असाध्यै मनपर्छ । विवाहित नेपालीले नै आजकाल सिन्दूर, पोते, टीका लगाउन छाडिरहेका बेला आइनाले नेपाली परम्परा अनुसरण गरेको देख्दा धेरैलाई अचम्म पनि लाग्ला ।

तपाईंका लागि सिन्दूर के हो भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘एक विदेशी भएको नाताले मेरा लागि यो एउटा सुरक्षाकवच हो । म प्रत्येक दिन सिन्दूर लगाउँछु । यो लगाउँदा म विदेशी होइन भन्ने महसुस हुन्छ ।’

आइनाका अनुसार सिन्दूर लगाउनुको अर्थ, ‘यहाँ मेरो पनि परिवार छ है’ भन्ने हो । कसैले पनि ममाथि नराम्रो व्यवहार गर्न सक्दैन भन्ने संकेत पनि हो । सिन्दुरले एक प्रकारले आफूलाई सशक्तीकरण गरेको जस्तो उनलाई लाग्छ ।

यद्यपि, आफू नेपाली नै भएको भए सायद सिन्दूर लगाएर नहिँड्ने पनि उनले बताइन् । उनलाई यो एक तरिकाले पितृसत्तालाई अनुसरण गरेको जस्तो लाग्छ । उनी भन्छिन्, ‘महिलाले आफू विवाहित छु भनेर देखाउनुपर्ने तर पुरुषले त्यस्तो केही गर्नु नपर्ने । कतिपय अवस्थामा मलाई यो पुरुषप्रधान जस्तो पनि लाग्छ ।’

हाल उनको किताब स्पेनिस भाषामा मात्रै छ । यसको अङ्ग्रेजी संस्करण छिट्टै प्रकाशित हुने उनले जानकारी दिइन् । 

आइनाले दुई वर्षअघि नेपाली युवा कैलाश न्यौपानेसँग विवाह गरेकी हुन् । कैलाशलाई उनले स्पेनमा नै भेटेकी हुन् । कैलाश आफैँ पनि सामाजिक सेवामा व्यस्त छन् । यी दुई मिलेर सी आशा फाउन्डेसन स्थापना गरेका छन् ।

कैलाशसँग विवाह गरेपछि आफूलाई नेपालमा सामाजिक क्रियाकलाप गर्न थप सहज भएको उनी बताउँछिन् । यस संस्थामार्फत् नेपाली समुदायलाई आफ्नो कामबारे बुझाउन सजिलो भएको र यहाँबाट पनि सहयोग पाउन थालेको उनी बताउँछिन् ।

नेपालीसँग विवाह गरेपछि उनलाई यहाँ बस्नका लागि भिसामा पनि समस्या भएन । विवाहअघि भिसा थपिरहनुपर्ने प्रावधानले उनलाई असाध्यै दुःख दिएको थियो । साथै, विदेशी भएर आफूले जे जति समस्या झेल्नुपरेको थियो, विवाहपछि त्यसको अन्त्य भयो । उनले भनिन्, ‘अब मलाई कसैले पनि तिमी विदेशी हौ भन्न सक्दैनथ्यो किनभने म नेपाली बुहारी भइसकेकी थिएँ ।  मैले यसलाई नै आधार बनाएर जवाफ दिन सक्थेँ ।’

सामाजिक उद्यमी, लेखिका, प्राध्यापक

एनजीओ म्यानेजमेन्ट र स्पेशल एजुकेशन गरी दुईवटा विषयमा स्नातकोत्तर गरेकी आइनाका विभिन्न परिचय छन् ।  उनी सामाजिक उद्यमी हुन् लेखिका हुन् र प्राध्यापक पनि । आफूलाई के भन्न रुचाउनु हुन्छ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘मैले आफूले आफैँलाई एउटा शब्दमा परिचय दिन सक्दिनँ । त्यसैले विभिन्न परिचय राख्ने गरेकी छु । म नेपालमा सामाजिक कार्य गर्छु । यो मेरो जीवनको उद्देश्य हो, मेरो प्यासन हो, मेरो सपना हो । मलाई पढाउन पनि मनपर्छ । म विगत चार वर्षदेखि युनिभर्सिटी अफ बार्सिलोनामा पढाइरहेकी छु । म सोसल इन्ट्रेप्योनेरसिप एण्ड लिडरसिपको पोस्ट ग्राजुएट कोर्सको को–डिरेक्टर पनि हुँ ।’

आइनाले रातोपाटीसँग भनिन्, ‘मलाई लेख्न पनि मनपर्छ । म बाल्यकालदेखि नै एक लेखिका बन्न चाहन्थेँ । नेपाल आएपछि अत्यधिक तनाव झेलेँ । त्यसैले खासै केही लेख्न सकिनँ । तर, सन् २०१८ मा मैले एउटा किताब लेखेँ । ‘आशा अर द पावर अफ होप’ ।’

हाल उनको किताब स्पेनिस भाषामा मात्रै छ । यसको अङ्ग्रेजी संस्करण छिट्टै प्रकाशित हुने उनले जानकारी दिइन् । 

प्रत्येक प्रदेशमा एउटा विशेष पाठशाला

काठमाडौंस्थित आशा विशेष पाठशालाले अब साना बालबालिकाका लागि पाठशाला पनि सुरु गर्दैछ । आफ्ना सपनाबारे आइना भन्छिन्, ‘हाम्रो सपना भनेको सन् २०३० सम्ममा प्रत्येक प्रदेशमा बौद्धिक अपाङ्गता भएकाहरूलाई एउटा विद्यालय खोल्नु हो । प्रदेश ३ मा हामी हेटौँडा र काठमाडौँमा छौँ । हामीले प्रदेश २ स्थित बर्दिबासमा पनि विद्यालय सञ्चालनका लागि संरचना बनाउन सुरु गरिसकेका छौँ । यसमा हामीलाई प्रदेश सरकार र नगरपालिकाले सहयोग गरेको छ । हामीले प्रदेश चारमा सुरु गर्नका लागि सरकारसँग समन्वय गर्न सुरु गरिसकेका छौँ । ’

जूनजस्ती आइना बार्का आफैँ जून भएर आफ्ना सन्तानलाई उज्यालो र शीतल बाँड्न नेपाल आएकी छिन् । कति शान्त, कति निश्छल, कति सुन्दर ! सायद उनले आफ्नो सपना साकार भएको देख्छिन्, त्यसैले त उजेली भरिएको उनको मुहारमा जुनेली टहक चम्केको छ । उनको बोलीमा दूधका धारा बगिरहेका छन्, आँखामा प्रेरणाको मुहान छ !

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।