शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ जना हत्याका आरोपी भारतीय नागरिकलाई बाँके जिल्ला अदालतले दियो सफाइ

शङ्काको सुविधा भन्दै न्यायाधीश बास्तोलाले दिए क्लीन चिट, अर्का आरोपी अझै फरार
शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ०७
शुक्रबार, २४ मङ्सिर २०७८

१६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो । 

बाँके जिल्ला अदालतका न्यायाधीश पूर्ण प्रस्ताव बास्तोलाको इजलासले हत्याका अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई सफाइ दिने फैसला गरेको हो । गएको कात्तिक ७ गते भएको फैसलाको पूर्णपाठ केही दिनअघि मात्रै प्रमाणीकरण भएको हो । 

जिल्ला न्यायाधीश बास्तोलाले शङ्काको भरमा जाहेरी आएको र त्यसलाई पुष्टि गर्ने प्रमाण अभियोजकले पेस गर्न नसकेको भन्दै शङ्का रहे पनि शङ्काको सुविधा अभियुक्तले पाउने भन्दै सफाइ दिएका हुन् । 

जिल्ला न्यायाधीश बास्तोलाले आफ्नो फैसलामा घटनाको समयमा किशोरीलाल सोनी भारतस्थित घरमै पूजा गरेर बसिरहेको भारतीय नागरिकको बयानलाई प्रमाणका रूपमा लिए पनि घटनाको अघिल्लो दिन भारतको बहराइच जिल्लामा पर्ने रुपैडिहास्थित नेपालगञ्जरोडको होटल मुस्कानमा बसेको लगबुकलाई भने प्रमाणका रूपमा लिन अस्वीकार गरेका छन् । 

वादीले पेश गरेको प्रमाणका आधारमा मृतक दीपक हेमकरकै ससुरा किशोरीलाल सोनी र निजकी  श्रीमती दीपा सोनीको संलग्नताबारे रातोपाटीले ९ वटा सिरिजमा समाचार प्रकाश गरेको थियो । 

नेपाल सरकारले बाँके जिल्ला अदालतमा पेश गरेको होटल मुस्कानको लगबुकमा घटनाको अघिल्लो दिन किशोरीलाल सोनी केएल सोनीको नाममा र हत्यामा संलग्न रहेका अन्य व्यक्तिहरू बास बसेको देखिन्छ । लगबुकमा सोनीसँगै भारत लखनउकै जलाल खान, अली हुसेन कसाई र फिरोज अन्सारी नाम गरेका व्यक्तिहरू पनि उक्त होटलमा बास बसेको पाइएको थियो । तर जिल्ला न्यायाधीशले उक्त प्रमाणलाई प्रमाणका रूपमा लिन अस्वीकार गरेका छन् तर प्रतिवदाीकै साक्षीले उक्त दिन रातभर घरमै पूजा लगाएर बसेको बयानलाई भने प्रतिवादीको बयानसँग मिलेको कारण पुष्टि भएको फैसलामा उल्लेख गरेका छन् ।

हेर्नुहोस्, घटनाको अघिल्लो दिन २०६२ फागुन २२ गते रुपैडियास्थित होटल मुस्कानको लगबुक

मृतक दीपक हेमकरका काका बलराम हेमकरले दीपक हेमकरकै ससुरा भारतीय नागरिक किशोरीलाल सोनी र दीपककै श्रीमती दीपा सोनी हेमकरले सम्पत्ति हडप्ने उद्देश्यका साथ परिवारकै हत्या गराएको जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा नेपाल सरकार वादी भएर मुद्दा दायर भएको थियो ।

घटनाका अर्का प्रतिवादी दीपककी श्रीमती दीपा सोनी भने न नेपाल प्रहरीले पक्राउ गरी नेपाल ल्याउन सक्यो, न त उनी अदालतमा नै उपस्थित भइन् । उनी अदालतमा उपस्थित नै नभएपछि उनको मुद्दा भने मुल्तबीमा राख्न पठाइयो । 

यस्तो थियो घटना

२०६२ साल फागुन ११ गते नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुवा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो । घटना भएको दुई वर्षपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै मृतक दीपक हेमकरकै ससुरा शिोरीलाल सोनी र श्रीमती दीपा सोनी हेमकरविरुद्ध अभियोगपत्र दायर गरेको थियो । तर  दुबै आरोपीहरू भारतीय नागरिक भएको कारण मुद्दाको पुर्पक्ष हुन सकेको थिएन । 

तर पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाल सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि बल्ल मुद्दाले गति लिएको थियो । 

सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धान

नेपालगञ्जका सुन व्यापारी दीपक हेमकर परिवारको हत्या उनकै आफन्तबाट भएको अनुमान गरिए पनि उचित आधार र प्रमाण भेटिएको थिएन । तर प्रहरीले विभिन्न टोली खटाएर हत्याबारे अनुसन्धान गरिरहेको थियो ।

घटनाको करिब ६ महिनापछि हत्यामा दीपककै श्रीमती दीपा सोनी, दीपकका ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको र सो कार्य गर्नका लागि उनीहरुले भारत सीतापुरका ३ जना हत्याराहरुलाई सुपारी दिएको पत्ता लगाएको थियो ।

प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्यहरु फेला परेको थियो । यसबीच आरोपी दीपा सोनीले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् ।

हेमकर परिवार हत्याका आरोपी किशोरीलाल सोनीविरुद्ध भारतमै पनि ४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । सोनीविरुद्ध भारतमै कर्तव्य ज्यान अर्थात् व्यक्ति हत्या, हत्याको प्रयास, डाका र चोरीको मुद्दा चलिरहेको थियो ।

यसरी गरेका थिए किशोरीलाल सोनीले हेमकर परिवारको हत्या

नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरले भारत लखनउ, सीतापुरकी दीपा सोनीसँग विवाह गरेका थिए । तराई र भारतमा ‘रोटीबेटीको सम्बन्ध’ भनेझैँ विवाह पनि सामान्य नै थियो । ३० वर्षको उमेरमा नेपालगञ्जका दीपक हेमकरले लखनउकी १८ वर्षीय दीपा सोनीसँग विवाह गरेका थिए ।

जब दीपकको सम्पत्तिमाथि आरोपी किशोरीलाल सोनीले आँखा लगाए, तब हेमकर परिवारको हत्या गरी सुनचाँदी लुटपाट गर्ने योजना बनाए । आफ्नो योजनामा छोरी दीपा सोनीलाई उनले सुरुदेखि नै संलग्न गराए । टन्न सम्पत्ति हुने भएपछि दीपाले आफ्ना बुबाको योजना स्वीकार गरिन् र दीपक हेमकर तथा परिवारका सबै सदस्यको हत्या गर्ने योजना बन्यो ।

योजना बमोजिम भारतबाटै ‘कन्ट्याक्ट किलर’ नेपाल ल्याउने र उनीहरुबाटै हत्या गराउने योजना तयार भयो ।

हत्याको योजनाबमोजिम दीपककी श्रीमती दीपा २ दिन अगाडि मात्रै आफ्नो माइती भारतको लखनउ पुगिन् ।

अनि उताबाटै मासु काट्ने व्यवसाय गर्दै आएका ३ जना हत्याराहरुलाई नेपालगञ्ज ल्याए । ती हत्याराहरुको प्रयोग गरेर २०६२ साल फागुन २३ गते राति परिवारका ४ सदस्य तथा एकजना कामदार गरी ५ जनाको घाँटी रेटेर सामूहिक हत्या गरियो । हत्या गर्नका लागि किशोरीलाल र दीपा सोनीले अलि हुसेन कसाई, फिरोज अन्सारी र जलाल खानलाई प्रयोग गरेका थिए ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार माइत हिँडेकी दीपा घटनाको अघिल्लो दिन राति रुपैडियाको मुस्कान होटलमा बास बसेकी थिइन् । दीपासँगै उनका बुवा किशोरीलाल सोनी र ‘कन्ट्याक्ट किलर’हरु पनि सोही होटलमा बास बसेका थिए ।

हत्या गरेलगत्तै तत्कालीन समयमै करिब २२ लाखको धनमालसमेत लुटपाट गरी प्रहरीलाई भ्रमित तुल्याउन घटनालाई लुटपाटको उद्देश्यबाट भएको रूप दिन खोजिएको थियो ।

त्यसको भोलिपल्टै दीपक हेमकरका ससुरालीका सबै सदस्य नेपाल आए र रोइकराइको नाटकसमेत गरे ।

शुरुमा प्रहरीको अनुसन्धान लुटपाटतिरै केन्द्रीत रह्यो । यसबीच, परिवारका सबै सदस्यको हत्या भइसकेपछि सम्पत्तिको हकदार स्वतः दीपा सोनी बनिन् । उनले आफूलाई समेत खतरा भएको भन्दै घटनाको ४ महिनापछि दीपकको घरलगायतका सबै सम्पत्ति बेचबिखन गरी भारत लागिन् ।

तर पछि अनुसन्धान गर्दै जाँदा प्राप्त परिस्थितिजन्य साक्ष्यहरू र घटनाक्रमका बारेमा खुल्दै गएका नयाँ नयाँ तथ्यहरूले शङ्काको सुई सोनी परिवारतर्फ मोडियो ।  थप अनुसन्धान गर्दै जाँदा हेमकर परिवारको सामूहिक हत्या मृतक दीपककी पत्नी दीपा सोनी र उनका माइतीखलकका मानिसहरू मिलेर योजनाबद्ध ढंगले गरेको र सोही कार्यका लागि उनीहरूको विवाह समेत भएको टुङ्गोमा प्रहरी पुगेको थियो । हेमकर परिवारको हत्या कुनै अज्ञात व्यक्तिले लुटपाटका लागि गरेको घटना नभई ‘प्लान मर्डर’ भएको र मूलतः हत्याका पछाडि आर्थिक कारण नै रहेको प्रहरीको निष्कर्ष छ ।

करिब साढे २ वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरूको इतिबृतान्त पत्ता लगाई नेपाल प्रहरीले २०७५ साल असोज १३ गते सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

किशोरीलालबारे बुझ्न यतिसम्म गरेको थियो प्रहरीले

नेपाल प्रहरीको टाउको दुखाइका मुद्दाहरूमध्ये सबैभन्दा प्रमुख  हेमकर परिवारको सामूहिक हत्याकाण्ड पनि थियो । यो मुद्दाको अनुसन्धान गरी तहमा पुग्न प्रहरीमाथि ठूलो दवाब थियो र हत्यारालाई पत्ता लगाइछाड्न नेपाल प्रहरीले पनि धेरै मिहिनेत गरेको थियो । अपराधी पत्ता लगाउन नेपाल प्रहरीले आफ्ना अधिकृतहरूलाई किशोरीलालकै लखनउस्थित घर नजिकै छ्द्मभेषमा काम गर्न समेत पठाएको थियो । त्यस सिलसिलामा सीआईबीका अनुसन्धान अधिकृत र बाँकेकै प्रहरी अधिकारीले सीतापुर लखनउमा कोठा भाडामा लिई सामान्य कामदारका रूपमा समेत काम गरेर अनुसन्धान गरेका थिए ।

करिब साढे २ वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरूको इतिबृतान्त पत्ता लगाई नेपाल प्रहरीले २०७५ साल असोज १३ गते सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप