बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीमा तीन डाक्टर : तीन लोकप्रिय नेता आमने सामने !

आइतबार, २६ मङ्सिर २०७८, १० : ४२
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसमा सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदमा ६ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । २ पदका लागि ६ जना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । शेरबहादुर देउवाको प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीमा उठेका छन् भने डा. शेखर कोइरालाको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा उठेका छन् । त्यसैगरी, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार बनेका छन् ।

६ जना उम्मेदवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका नेता हुन् । पीएचडी गरेका डा. महत र डा. रिजाल अध्ययनशील नेता मान्छिन् भने थापा, शर्मा र पौडेलले लोकप्रिय युवा नेताको छवि बनाएका छन् ।

बागमती प्रदेशका सांसद समेत रहेका अर्का उम्मदेवार डा. कार्की भने राष्ट्रिय राजनीतिमा खासै चर्चामा नआएको नयाँ नाम हो । महामन्त्रीमा विशेषतः दुई जना दोस्रो पुस्ताका र ३ जना तेस्रो पुस्ताका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । महतलाई देउवा टीमको भरोसा छ भने रिजाललाई शेखरको नेतृत्वमा बनेको नयाँ टीमको साथ छ ।

गगन थापाले आफ्नो लोकप्रियतामाथि कोइराला विरासतको मत बटुलेर जित्ने आशा राखेका छन् । विश्वप्रकाश शर्माले सिंह परिवारको लिगेसी र प्रवक्ता बनेर बनाएको पहिचानलाई आफ्नो मुख्य जितको आधार मानेका छन् ।

​शर्मा सिंहसँग जोडिए पनि उनको प्रचार भने देउवा पक्षबाटै भइरहेको छ । देउवा पक्षका नेताहरुले समेत शर्मालाई मत मागिरहेको पाइन्छ । देउवाको प्यानलबाट महामन्त्रीमा उठेका प्रदीप पौडेलले युवा पंक्तिको साथ र देउवा टीमको इमान्दारितासँग आफ्नो जित खोजिरहेको देखिन्छ । कृष्णप्रसाद सिटौलाले भने आफ्नो राजनीति नै पौडेलमाथि सुम्पेको अवस्था छ । पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सर्तमा सिटौला काँग्रेसको केन्द्रीय कार्यसमिति बाहिर बस्न तयार भएका छन् ।

अब महामन्त्रीका उम्मेदवारको बायोडाटा हेरौं–

डा. प्रकाशशरण महत

 प्रकाशशरण कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका थिए । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला २०४० देखि २०४४ सम्म उनी नेविसंघको महामन्त्री थिए ।

नेपाली काँग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५ देखि २०५६सम्म काँग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए । २०५९ काँग्रेस विभाजनपछि बनेको देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा महत केन्द्रीय सदस्य भएका थिए ।

काँग्रेस प्रजातान्त्रिकको ११ औं, काँग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए । देउवाले ०७५ मा महतलाई पार्टीको सहमहामन्त्रीको जिम्मेवारी दिए । २०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय राजनीतिको यात्रा आरम्भ गरेका थिए ।

०६४ भएको पहिलो संविधान सभामा  र ०७० मा भएको दोस्रो संविधान सभामा महतले सांसद थिए । सरकारले २०५५ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिव भएका थिए । २०५८ मा देउवा प्रधानमन्त्री हुँदा महत प्रधानमन्त्रीको सल्लाहकार भएका महत राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए ।

२०६१ मा परराष्ट्र राज्य मन्त्री भएका महत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य भएका थिए । उनले विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यका रुपमा पनि काम गरेका थिए ।

२०६६ ऊर्जा मन्त्री भएका उनी ०७३ मा परराष्ट्र मन्त्री बनेका थिए । महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन् ।

अमेरिकाको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर  गरेका महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । देउवाका विश्वास पात्र महत काँग्रेसभित्र देश विदेश बुझेका नेतामा पर्छन् ।

डा. मिनेन्द्र रिजाल

डा. मिनेन्द्र रिजालले नेपाली राजनीतिमा वौद्धिक नेताको छवि बनाएका छन् । अर्थशास्त्र र राजनीतिमा गहिरो अध्ययन गरेका नेता रिजालले अमेरिकाबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । न्यूयोर्क युनिभर्सिटीबाट स्टाटिस्टिक एण्ड अपरेसन्स रिसर्चमा मास्टर्स अफ फिलोसोफी गरेका डा. रिजालले न्यूयोर्क युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट मास्टर्स अफ बिजिनेस एड्मिन्स्ट्रेसनमा युनिभर्सिटी टपेका थिए ।

नेपालको त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्तम अङ्कसहित एमबीए, कानुनमा स्नातक र विज्ञानमा स्नातक गरेका उनले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा तीन वर्ष पढाएका पनि थिए ।

विसं. २०२६ सालमा धरानको जनता हाइस्कुलको विद्यार्थी युनियनको निर्वाचनबाट विद्यार्थी राजनीतिमा सहभागी भएका मोरङका रिजाल २०६६ सालमा माधवकुमार नेपालको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । उनले संघीय एवं संसदीय मामिला मन्त्रालयको समेत अनुभव सँगालेका छन् ।  २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका उनी अहिले रक्षामन्त्रीका रुपमा तेस्रो पटक सरकारमा सहभागी छन् ।

डा. रिजाल विमलेन्द्र निधि नेविसंघको सभापति हुँदा केन्द्रीय उपाध्यक्ष थिए । उनी अन्तरिम व्यवस्थापिको सांसद हुँदै पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । डा. रिजालले संविधानसभा २०७० मा संविधान मस्यौदा समितिको सदस्य भएर काम गरे ।

गत आम चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ओली सरकारको निगरानी गर्न काँग्रेसद्वारा गठित छायाँ सरकारमा अर्थमन्त्रीको भूमिकामा रहेका उनी अहिले रक्षा मन्त्रालयको जिम्मेवारीमा छन् ।

देउवा २०५३ मा प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार बनेका रिजाल काँग्रेस विभाजित हुँदा देउवाकै साथमा थिए । काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उनी तत्कालीन संस्थापन पक्षमा जोडिए र केन्द्रीय सदस्य पनि भए । प्रतिनिधि सभाका सांसदसमेत रहेका रिजालले ओली सरकारका पालामा संसदमा पनि बलियो उपस्थिति र पहिचान बनाएका छन् । उनले यसपटक महामन्त्री बनेपछि अर्को महाधिवेशनमा पदाधिकारीमा दाबी नगर्ने र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।   

गगन थापा

गगन थापा नेपाली राजनीतिमा परिचित नाम हो । कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय उनको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।

२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।

०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।

संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।

उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।

महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका छन् ।

विश्वप्रकाश शर्मा

प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।

२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । प्रवक्ता भएर शर्माले उदहारणीय क गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ ।

उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्छन् । शर्माको व्यक्तित्व बहुआयमिक छ ।

प्रदीप पौडेल

 सिटौलाको समर्थनमा देउवा प्यानलबाट महामन्त्रीमा उठेका पौडेलको जन्म तनहुँको कोलम्फेमा ०३१ सालमा भएको हो । पौडेलले सिद्धार्थ वनस्थली अमृत साइन्स क्याम्पसबाट नेविसंघको राजनीति थालेका थिए । अमृत साइन्स क्याम्पसमा इकाइ अध्यक्ष हुँदै २०५३ मा उनी स्ववियु सभापतिमा निर्वाचित भए । सो निर्वाचनमा नेविसंघले सभापतिमा मात्रै जितेको थियो ।

२०५५ मा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित पौडेललाई २०५७ मा विश्वप्रकाश शर्माले सहमहामन्त्रीमा मनोनित गरेका थिए । त्यसपछि गुरु घिमिरेले पौडेललाई उपाध्यक्षमा मनोनित गरेका थिए ।

२०६१ र २०६२ मा उनी फेरि मनोनित उपाध्यक्ष भए ।  २०६४ सालमा भने नेविसंघको केन्द्रीय सभापति भए । २०६७ भएको काँग्रेसको १२ औं महाधिवेशनमा पौडेल केन्द्रीय सदस्यमा पराजित भए ।

तत्कालीन पार्टी सभापति सुशील कोइराला २०७१ मा भने पौडेललाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । त्यसपछि २०७२ सालको १३ औं महाधिवेशनमा खुल्लातर्फबाट छैटौँ भएर केन्द्रीय सदस्य जितेका थिए । उनी काँग्रेभित्र १३ औं महाधिवेशनबाट उदायको कृष्णप्रसाद सिटौला नेतृत्वको समूहमा थिए ।

२०७४ मा तनहुँबाट प्रदेशसभा सदस्यमा पराजित भएका थिए । पौडेलले त्रिचन्द्र क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तह गरेका छन् । युवामाझ लोकप्रिय नेता पौडेल नेविसंघको संगठनमा बलियो पकड भएका नेता हुन् ।

डा. राजाराम कार्की

धादिङमा जन्मिएका डा. राजाराम कार्की पनि महामन्त्रीमा उठेका छन् । उनी विमलेन्द्र निधिको निकट मानिन्छन् । लामो समय विद्यार्थी राजनीति  गरेका कार्की २०२९ सालमा भैरवी हाइस्कुल नेविसंघ इकाइ सभापति भएका थिए ।  २०३० सालमा नेविसंघ धादिङको सभापति भएका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेले । नेपाली काँग्रेसको पूर्वकेन्द्रीय सदस्य एवं तरुण दलको पूर्वमहासचिव भएका उनी  बागमती प्रदेशका सांसदसमेत छन् ।

धादिङबाट महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य रहेका कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । देउवा पक्षबाट विमलेन्द्र निधिले विद्रोह गरेर सभापतिको दौडमा निस्किएपछि कार्की पनि जोडिन पुगेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप