के अब चीनलाई अमेरिकाले रोक्न सक्छ ?

person explore access_timeमंसिर २६, २०७८ chat_bubble_outline0

सन् २००१ मा घटेका दुई घटनाले विश्वको महाशक्ति राष्ट्र अमेरिकालाई नराम्ररी हल्लाइदियो । एकातर्फ सेप्टेम्बर ११ मा भएको हमलाबारे प्रतिक्रिया दिनमै दुनियाँ अल्झिएको थियो । सो आक्रमण भएको ठीक तीन महिनापछि विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अर्को घटना घट्यो, जसको असर एक्काइसौं शताब्दीभर नै पूरै विश्वमाथि पर्नेवाला थियो, परिरहेको छ । 


घटना घटेको मिति थाहा पाउनु त परेको कुरा, दोस्रो घटना के थियो भन्नेबारे निकै कमलाई थाहा हुनसक्छ । घटना थियो : डब्ल्यूटीओमा चीन आवद्ध हुनु । विश्व व्यापार मञ्चमा चीनको प्रवेशसँगै अमेरिका, यूरोप र एशियाका अधिकांश देशको ‘खेल’ नै बदलियो । यतिमात्र होइन, तेल र धातुजस्ता बहुमूल्य संशाधन दोहन गरिरहेका हरेक देशमा समेत अर्कै स्थिति बन्यो ।



डब्ल्यूटीओमा चीनको आवद्धताले निकै ठूलो आर्थिक र भूराजनीतिक महत्व राख्यो । विश्वमा त्यसपछि निम्तिएका आर्थिक मन्दीको प्रमुख कारण नै यही थियो । यूरोपेली देशहरूले आफ्ना उद्योगधन्दा चीनमा केन्द्रित गर्न थाले । रोजगारी पनि चीनमै केन्द्रित भयो र जी–७ मुलुकहरूमा घरेलु संकट देखिन थाल्यो । मानिसहरूले रोजगारीका अवसर चीनमा केन्द्रित गरेको भन्दै सरकारको आलोचना गर्न थाले ।



अमेरिकी आकांक्षामा बज्रपात
चीन डब्ल्यूटीओमा आवद्ध भएपछि अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनजस्ता नेताहरूले ‘उप्रान्त बेइजिङ राजनीतिक स्वतन्त्रताको ढोका खोल्न बाध्य हुने’ दाबी गरेका थिए । 
क्लिन्टनले लोकतन्त्रका सबैभन्दा ठोस मूल्यमध्ये आर्थिक स्वतन्त्रता एक रहेकाले चीन अब राजनीतिक स्वतन्त्रताको मार्गमा अघि बढ्ने बताएका थिए । उनले भनेका थिए, ‘अब मानिसहरू (चिनियाँ नागरिक) ले स्वतन्त्रताको सपनामात्र देख्ने छैनन्, त्यसलाई हासिल गर्नेतर्फ चिनियाँ सरकारलाई कुरा सुन्न बाध्य पनि बनाउनेछन् ।’ 

तर, डब्ल्यूटीओमा प्रवेश गराउन अमेरिका र उसका समर्थक देशले चालेको कदमले चीनलाई राजनीतिक खुलापनतर्फ डोहो¥याउन सकेन । कम्युनिष्ट पार्टीको शासनकै माध्यमबाट चीनले विश्वभर आफ्नो प्रभाव बढाउन थाल्यो । चीन यतिखेर विश्वकै दोस्रो ठूलो अर्थव्यवस्था हो र अब सबैभन्दा ठूलो अर्थव्यवस्था बन्ने पक्कापक्की छ । 

चीनलाई डब्ल्यूटीओमा सहभागी गराउन अमेरिकी व्यापार प्रतिनिधि चार्लीन बारशेफ्स्कीले पनि महत्वपूूर्ण भूमिका खेलेका थिए । उनै चार्लीनले हालै वासिङ्टन इन्टरनेशनल ट्रेड एसोसिएशनको एक प्यानलमा भने, ‘चीनको आर्थिक मोडलले केही हदसम्म पश्चिमी विचारलाई नै संकटमा पु¥याइदिएको छ । राजनीतिक नियन्त्रणमा एक समुन्नत समाज निर्माण हुँदैन भन्ने पश्चिमा मान्यतालाई चीनले अप्ठ्यारोमा पारिदिएको हो ।’
सन् २००० भन्दा पहिले चीनको आर्थिक पहिचान प्लास्टिकनिर्मित सस्ता सामान उत्पादनकर्तामै सीमित थियो । यी सामान आवश्यक त थियो, तर यसबाट न चीनले विश्वलाई बदल्न सक्थ्यो, न त विश्वलाई हराउन नै ! 

विश्वव्यापारमा चीन संलग्न हुँदा निकै ठूलो वैश्विक बदलाव आएको छ । काम गर्न चाहने चिनियाँ नागरिक, उच्च प्रविधियुक्त उद्योगहरू, चीन सरकार र पश्चिमा बहुराष्ट्रिय कम्पनीबीच बनेको विशेष सम्बन्धबाट यस्तो शक्तिशाली गठजोड बनेको छ कि विश्वको स्वरूप नै बदलिएको छ । 

चीनले आर्थिक महाशक्तिका रूपमा आफूलाई उभ्याउन विश्वका ठूला कम्पनी देशभित्र ल्यायो । त्यस्ता ठूला कम्पनीहरूको आपूर्ति प्रणालीको प्रमुख आधार नै चीन बन्यो । चीनसँग कम पारिश्रमिकमा काम गर्ने श्रमिक पर्याप्त थिए । यस्तै श्रमिक र मजदुररूको सेना थियो, जसले जीवनस्तर उच्च भएका पश्चिमाहरूका लागि आवश्यक हरेक सामान उत्पादन गर्न थाल्यो । अर्थशास्त्रीहरूले चीनको त्यस्तो उत्पादन अवस्थालाई आपूर्ति झट्का (सप्लाइ सक) उपमा दिएका छन् । किनकी, चीनले औद्योगिक उत्पादनमा आफूलाई त्यस्तो शैलीमा अघि बढाउँदै विश्वलाई झट्का दिएको थियो । अहिलेको विश्व अर्थव्यवस्था त्यही असरको नतिजा हो । 

विश्व अर्थव्यवस्थामा चीनको सहभागिताले कैयन ठूला आर्थिक उपलब्धीहरू हासिल भएका छन् । चीनले आफ्नो भूमिसहित कैयन मुलुकभित्र करोडौं मानिसहरूलाई गरिबीको चपेटाबाट मुक्त गरेको छ । डब्ल्यूटीओमा आबद्ध हुनुअघि चीनमा झण्डै ५० करोड मानिसहरू चरम गरिबीको चपेटमा थिए । अहिले यस्तो स्थिति छैन, अर्थात गरिबी अवस्था शून्य बराबर छ । 
सन् २००१ पछि चीनको अर्थतन्त्र आकार १२ गुणाले बढिसकेको छ । विदेशी मुद्रा सञ्चिती १६ गुणाले बढेर २.३ ट्रिलियन डलर (२७ नील ६० खर्ब रुपैयाँ) पुगिसकेको छ । यो शताब्दीको शुरूमा चीन सातौं ठूलो निर्यातक थियो । करिब एक दशकमै सबैभन्दा ठूलो निर्यातक बन्यो र विश्वलाई चकित बनायो । चीनमा औषत आर्थिक वृद्धिदर वार्षिक आठ प्रतिशत छ । सन् २००७ मा यस्तो दर १४ प्रतिशतसम्म पुगेको थियो । 
कन्टेनर बोक्ने जहाज वैश्विक व्यापारको मेरुदण्ड हो । 

डब्ल्यूटीओमा आवद्ध भएपछि चीनमा आवतजावत गर्ने कन्टेनर संख्या आठ करोड पुगेको थियो । त्यसको १० वर्षपछि सन् २०११ मा यस्तो कन्टेनर संख्या १२ करोड ९० लाख नाघ्यो । सन् २०२० मा २४ करोड ५० लाख पुगेको छ । अन्यत्रबाट चीन पुगेकामध्ये आधा कन्टेनर खाली हुने गर्छन् । जबकी, चीनबाट अन्यत्र जाने सबै कन्टेनर भरिभराउ हुन्छन् । चीनले सन् २०२० मा एक अर्ब टनभन्दा बढी स्टील उत्पादन ग¥यो, जबकी सन् १९९० को दशकमा १० करोड टनमा सीमित थियो । 

निरन्तर बदलाव
चीनले देशभित्र सडक सञ्जाल अभूतपूर्व ढंगले विस्तार गरिरहेको छ । सन् १९९७ मा चीनभित्र जम्माजम्मी ४७ सय किलोमिटर लामो हाइवे थियो । सन् २०२० मा एक लाख ६१ हजार किलोमिटर पुगिसकेको छ । यतिखेर चीन विश्वमै सबैभन्दा लामो सडक सञ्जाल भएको मुलुक हो । त्यहाँ दुई लाखभन्दा बढी मानिस बसोबास रहेको ९९ प्रतिशत शहरहरू हाइवेमा जोडिएका छन् । 

यस्तो उन्नत पूर्वाधारसाथ चीनले उत्पादन पनि स्वतः बढाउनुपर्छ । यसका लागि धातु, इन्धन र खनिजपदार्थ आवश्यक पर्छ । तीव्रतर बढिरहेको सवारीसाधन उत्पादक कम्पनी र विद्युतीय सामग्री उत्पादक उद्योगका लागि पर्याप्त स्टील आवश्यक पर्छ । सन् २००५ मा चीन पहिलोपटक स्टील निर्यातक बनेको थियो । यतिखेर यो आंकडामा पनि चीन सबैभन्दा अब्बल बनिसकेको छ । 

सन् १९९० को दशमा चीनले प्रतिवर्ष १० करोड टन स्टील उत्पादन गथ्र्यो । डब्ल्यूटीओको सदस्य बनेपश्चात वर्ष २०१२ मा स्टील उत्पादन ७० करोड टनसम्म पुग्यो । सन् २०२० पछि उत्पादन मात्रा एक अर्ब टन पार गरेको हो । अहिले विश्वभर जति स्टील उत्पादन हुन्छ : त्यसको ५७ प्रतिशत त चीनमै हुने गरेको छ । सन् २००१ मा पूरै विश्वभर जति स्टील उत्पादन हुन्थ्यो, अहिले चीन एक्लैले सो परिमाण बराबर उत्पादन गरिरहेको छ । 

सेरामिक टायल र उद्योगहरूमो प्रयोग हुने अन्य कयौं सामग्री उत्पादन मामिलामा पनि चीनले यस्तै अभूतपूर्व हैसियत बनाइसकेको छ । विद्युतीय, कपडा, खेलौना र काठका सामान उत्पादन गर्ने मामिलामा चीन विश्वकै सबैभन्दा ठूलो निर्यातक हो । चीनले नै विश्वभर यस्ता सामान्यको मूल्य घटाउनैपर्ने बाध्यता सृजना गरिदिएको छ । 

चीन डब्ल्यूटीओमा सहभागी भएपछि अर्थशास्त्रीहरूले उत्पादन मूल्यमा आश्चर्यजनक गिरावट भएको तथ्यांक समेटेका छन् । सन् २००० देखि २००५ भित्र चीनबाट दुईगुणा बढी कपडा निर्यात भएको थियो । कपडा निर्यातमा चीनको वैश्विक स्थित पाँचौंबाट तेस्रोमा फड्को मारेको थियो । सन् २००५ मा कपडा क्षेत्रमा उत्पादन कोटा हटाएपछि चीनको हिस्सा झनै बढ्यो । यद्यपी, चिनियाँ कपडा महँगा हुन थालेपछि बंगलादेश र भियतनामलगायत विकासशील देशले सस्ता उत्पादन थाले । पछिल्लो वर्ष कपडा निर्यातमा चीनको हिस्सेदारी ३२ प्रतिशत थियो ।

अमेरिका झुक्किएकै हो ?
डब्ल्यूटीओमा सामेल हुँदा चीनका विभागीय मन्त्री रहेका लोगङ् योङ्ग्टु अमेरिकी र पश्चिमा देशले यो प्रकृयामा कुनै भूल नगरेको बताउँछन् । ‘चीनलाई डब्ल्यूटीओमा आवद्ध गराउनु अमेरिका र पश्चिमी देशको भूल भएको जस्तो मलाई लाग्दैन । तर, यसको फाइदा चाहिँ तल–माथि पक्कै भयो । चीन त्यतिखेर विकासक्रममा थियो, विश्वलाई पनि एक ठूलो निर्यात बजार प्राप्त भएको थियो,’ योङ्ग्टु भन्छन्, ‘चीनले उत्पादन बढाउँदा परम्परागत हिस्सा खोसियो, पश्चिमा देशहरूले आफूहरू व्यापार घाटामा परेको बताउन थाले । तर, आरोप लगाउन सजिलो भएपनि यसो गरेर समस्या समाधान हुँदैन । यतिखेर चीन नहुने हो भने अमेरिकाका सबै उत्पादनमूलक उद्योग मेक्सिकोमा पुग्नेछ ।’

अन्ततः कुरा उही हो । डब्ल्यूटीओको सदस्यता लिएपछि चीनले अभूतपूर्व उपलब्धी हात पारेको छ । जो बाइडेन प्रशासन पूर्ववर्ती सरकारहरूले थोपरेका अवरोधक नीतिहरू परिवर्तन गर्ने पक्षमा छैन । पश्चिमाहरूले चीनलाई आफ्नो वर्कसप (कार्यशाला) ठानेका थिए, तर चीनले डब्ल्यूटीओको सदस्यतालाई यसभन्दा निकै धेरै उपलब्धी हासिल निम्ति प्रयोग ग¥यो । पश्चिमाहरू हेरेको हे¥यै भए । 

औद्योगिकीकरणसँगै चीनले जलवायु परिवर्तनलाई समेत आफ्नो हतियार बनाएको छ । उदाहरणका लागि, शून्य जलवायु परिवर्तन उत्पादन गर्न आवश्यक दुर्लभ पदार्थ (त्यस्ता प्राकृतिक संशाधन सजिलै प्राप्त हुँदैन) प्राप्त गर्न चीनले एक गठबन्धन नै बनाएको छ, जसबाट उसले त्यस्ता सामग्री प्राप्त गर्दैछ । 

यतिखेर चीनले विश्वभर नै आफ्नो उद्योग फैलाएको छ र त्यस्ता उद्योगका पछाडि चिनियाँ सरकार खडा भएको देखिन्छ । अमेरिकाले कूटनीतिक र आर्थिक तवरबाट चीनलाई रोक्न कोशिश गरिरहेको छ । एशिया र यूरोपमा गठबन्धन बनाउन अमेरिका व्यस्त रहँदा चीन बिल्कुल फरक बाटो हिँडिरहेको अमेरिकी पूर्व वाणिज्य प्रतिनिधि बारशेफ्स्की बताउँछन् । भन्छन्, ‘राष्ट्रकेन्द्रित आर्थिक मोडल बनाउनेतर्फ चीन थप आक्रामक देखिएको छ । चीन सरकारले उद्योगहरूलाई निकै अनुदान उपलब्ध गराइरहेको छ । चीन एक महाशक्तिका रूपमा उदाइरहेको छ र नयाँ युगको नेता बन्दैछ । यहाँ धेरै कुरा मिलाउनुपर्र्नेछ । तर, अब डब्ल्यूटीओले नै यो स्थिति सम्हाल्न सक्दैन ।’

धेरैले खासै ध्यान नदिएको त्यस्तो घटना या निर्णय, जसले संसारलाई २० वर्षभित्रै निकै बदलिदिएको छ । चीनका लागि यो निकै ठूलो सफलता सावित भएको छ । पश्चिमा देशको भूराजनीतिक रणनीति विफल भएको छ । आर्थिक दृष्ट्रिकोणबाट विश्लेषण गर्दा : डब्ल्यूटीओमा सामेल गराउने निर्णयसँगै पश्चिमी देश चिनियाँकरणको बाटोमा लागेको हो ।

(बीबीसीका आर्थिक सम्पादक फैजल इस्लामको लेख अनुवाद÷सम्पादन गरी प्रकाशित)
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।