मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारी मतान्तरका साथ काँग्रेस सभापतिमा देउवा विजयी

बुधबार, २९ मङ्सिर २०७८, ०२ : १५
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । 

मंगलबार भएको मतदानको मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो । 

 सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए । मतपरिणामअनुसार देउवाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो । 

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको  प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दुईबीचको प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई सघाएका थिए । पहिलो चरणको निर्वाचानमा  देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी  सिंहले ३७१,  निधिले २५० र  गुरुङले २२ मत प्राप्त गरेका थिए । 

को हुन् देउवा ?

शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।
२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।

०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

काँग्रेस प्रजातान्त्रिकको  समेत नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका थिए । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका थिए ।

पहिलो उस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडेललाई पदाधिकारीमा समेटेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भने सुरु भइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप