बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा लागेका पूर्वमाओवादी फेरि असन्तुष्ट, ३५ जना प्रदेश पदाधिकारीमा ३ जनामात्रै

बुधबार, २९ मङ्सिर २०७८, १२ : ०३
बुधबार, २९ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशनअघि पूर्वमाओवादी नेताहरु आत्तिएका थिए । आफूहरु पदाधिकारीमै परिँदैन कि भन्ने चिन्ता उनीहरुमा देखिन्थ्यो । तर, महाधिवेशन सकिँदा रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष बन्न सफल भए । टोपबहादुर रायमाझी र लेखराज भट्ट पहिलो र दोस्रो बरियतासहित सचिव बने । मणि थापा र प्रभु साह स्थायी कमिटी सदस्य बन्न सफल भए ।

तर, पूर्वमाओवादीबाट एमालेमा आएका पाँचजना नेताले महत्वपूर्ण जिम्मेवारी पाउँदा पनि उनीहरु भित्रको असन्तुष्टि सम्वोधन हुन सकेको छैन । नेकपा एमालेमा लागेका एक नेताले रातोपाटीसँग भने, ‘हाम्रो समूह सन्तुष्ट छैन । किनभने, प्रदेश पदाधिकारीहरु चयन गर्दा पूर्वमाओवादीलाई एउटा पनि अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी दिइएन । चारवटा प्रदेशमा त पदाधिकारीमै ल्याइएन । प्रदेशको इञ्चार्जमा पनि बादलजीको वागमती इञ्चार्ज खोसियो र सुदुरपश्चिममा लेखराज भट्ट एकजनालाई मात्र इञ्चार्ज बनाइयो ।’

एमालेको भक्तपुर बैठकले गरेको प्रदेश पदाधिकारीहरूको कार्यविभाजनमा बादलले सम्हाल्दै आएको बागमती प्रदेशको इन्चार्जमा काशिनाथ अधिकारीलाई ल्याइएको छ । प्रदेश १ को पदाधिकारी टीममा पूर्वमाओवादीबाट एकजना पनि परेका छैनन् । प्रदेश २ मा रघुवीर महासेठलाई इञ्चार्ज बनाइएकोमा एमालेभित्रै असन्तुष्टि चुलिएको छ । त्यहाँ पूर्वमाओवादीका नाममा फर्मूद नदावलाई उपसचिव बनाइएको भए पनि उनी बादल समूहबाट आएको नभई अर्कै व्यक्ति भएकाले उनलाई पूर्वमाओवादीको कोटामा राख्न नमिल्ने सो समूहमा नेता बताउँछन् ।

भक्तपुरमा शनिबार र आइतबार दुई दिनसम्म बसेको नेकपा एमालेको बैठकमा केपी ओलीले लुम्बिनी प्रदेशको उपसचिवमा पूर्वमाओवादीको तर्फबाट दुर्गा थारुको नाम प्रस्ताव गरे । ओलीको यो प्रस्ताव सुनेर पार्टी सचिव टोपबहादुर रायमाझी चकित परे । रायमाझीले आफू निकटस्थसँग भने, ‘हाम्रो कोटाबाट दुर्गा थारुलाई उपसचिव बनाइयो, तर उनी को हुन् भन्ने मैले नै चिन्दिनँ ।’

पछि बुझ्दाखेरि दुर्गा थारु कुनै समय माओवादीमा लागेर व्यक्तिगतरुपमा एमालेमा प्रवेश गरेका रहेछन् । उनी पहिल्यैदेखि टोपबहादुर रायमाझीहरुका आलोचकसमेत रहेछन् । तर, उनैलाई बादल–टोपबहादुरको खेमाबाट भन्दै ओलीले लुम्बिनी प्रदेशको पदाधिकारी टीममा ल्याएको स्रोतले बतायो । लुम्बिनीबाट माओवादीको ठूलो समूह एमालेमा आएको भएता पनि प्रदेशको पदाधिकारीमा एकजनालाई पनि नल्याइएको सो समूहको गुनासो छ ।

यसअघि बादल इञ्चार्ज रहेको वागमती प्रदेशको पदाधिकारी टिममा पूर्वमाओवादीले एक सीट पनि पाएको छैन । कर्णाली प्रदेशमा भने पूर्वमाओवादी समूहका कमल शाही सचिव बनेका छन् । त्यस्तै पूर्वमाओवादी समूहबाट सुदूरपश्चिम प्रदेश कमिटीमा भाग्यरथी विष्टलाई उपसचिव बनाइएको छ ।

नेकपा एमालेमा आवद्ध एक पूर्वमाओवादी नेताले भने, ‘केही ठूला नेताहरुलाई जिम्मेवारी दिएजस्तो देखाएर केन्द्रीय कमिटी र प्रदेशमा हाम्रा साथीहरुलाई कत्लेआम गरिएको छ । प्रदेश २ मा समेत प्रभु साहसँगै आएका धेरै साथीहरुलाई जिम्मेवारीमा ल्याइएन । त्यसैले हाम्रो टिम फेरि पनि निराश बनेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप