शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्यो देउवा टीम, यी हुन् ६ विशेषता

शुक्रबार, ०२ पुस २०७८, २२ : ५८
शुक्रबार, ०२ पुस २०७८

सत्तासीन दल नेपाली काँग्रेसले आगामी ४ वर्षका लागि नयाँ पदाधिकारी पाएको छ । मंसिर २४ गदेखि २८ गतेसम्म काठमाडौँ भएको १४ औँ महाधिवेशनबाट १३ जना पदाधिकारी निर्वाचित भएर आएका छन् ।

आगामी चार वर्षका लागि काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन्  । सभापतिका चार जना प्रत्याशीलाई पराजित गरेर भारी मतान्तरका साथ देउवा दोस्रो पटक काँग्रेस सभापति निर्वाचित भएका हुन् ।

पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि देउवा दोस्रो चरणको निर्वाचनबाट सभापतिमा निर्वाचित भएका थिए । सभापतिका प्रत्याशी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ पाएपछि शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गरेका थिए ।

बाँकी  पदाधिकारीमा पनि देउवा र कोइराला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा देउवा समूहले एक उपसभापति र ६ सहमहामन्त्री जितेको छ । कोइराला पक्षले एक उपसभापति एक महामन्त्री र २ सहमहामन्त्रीमा बाजी मारेको छ । यस्तै एउटा महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ ।

काँग्रेसमा निर्वाचित १३ पदाधिकारी मध्ये देउवा पक्षले ८ हात पारेको छ भने इतर पक्षले ५ पदाधिकारीमा चित्त बुझाएको छ । १४ सदस्यीय पदाधिकारीमा सभापतिले केन्द्रीय सदस्यमा निर्वाचित एक जनालाई कोषाध्यक्ष मनोनीत गर्न पाउने छन् । त्योसँगै  देउवा पक्षका ९ जना पदाधिकारी हुने छन् ।

उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे , महिलातर्फ महालक्ष्मी उपाध्याय डिना , मधेसीतर्फ महेन्द्र यादव, मुस्लिमतर्फबाट फर्मुल्ला मन्सुर, थारुतर्फ उमाकान्त चौधरी र खसआर्यतर्फ किशोरसिंह राठौर देउवा प्यानलबाट निर्वाचित भएका छन् । देउवा प्यानलबाट सहमहामन्त्रीमा चौधरी भने कृष्णप्रसाद सिटौला निकट नेता हुन् ।

यस्तै कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीका गगन थापा, सहमहामन्त्रीमा दलिततर्फबाट  जीवन परियार र पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे विजयी भएका छन् ।

यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । काँग्रेस पदाधिकारीमा देउवा, कोइराला, सिंह र सिटौला गुटका नेताहरू गरी १३ जना निर्वाचित भएका छन् ।

काँग्रेस पदाधिकारीका विशेषता

१) नयाँ अनुहारको वर्चश्व

काँग्रेसको नवनिर्वाचित पदाधिकारीमा देउवा र खड्का मात्र पूर्वपदाधिकारी हुन् । बाँकी ११ जना पहिलो पटक काँग्रेस पदाधिकारी बनेका छन् । उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा पनि पदाधिकारीमा नयाँ अनुहार हुन् ।

महामन्त्री शर्मा भने यसअघि पार्टी प्रवक्ताको भूमिकामा थियो । तर काँग्रेसमा प्रवक्तालाई पदाधिकारीको मान्यता दिइएको छैन ।

यस्तै सहमहामन्त्रीहरु आङ्देम्बे , उपाध्याय, यादव, मन्सुर, चौधरी, राठौर परियार र पाण्डे नयाँ पहिलो पटक पदाधिकारी भएका छन् ।

 
२) सातै प्रदेशको प्रतिनिधित्व

काँग्रेसको पदाधिकारीमा सबै प्रदेशको प्रतिनिधित्व भएको छ । प्रदेश एकबाट महामन्त्री  शर्मा (झापा) र सहमहामन्त्री आङ्देम्बे (पाँचथर) पदाधिकारीमा अटाएका छन् ।

यस्तै प्रदेश दुईबाट सहमहामन्त्रीहरु धनुषाका यादव, बाराका मन्सुर र बाराका चौधरीले पदाधिकारी तहका प्रवेश पाएका छन् । यस्तै बागमती प्रदेशबाट महामन्त्री  थापा (काठमाडौँ) र सहमहामन्त्री उपाध्याय (मकवानपुर) दुई जना पदाधिकारी बनेका छन् ।

गण्डकी प्रदेशले काँग्रेस पदाधिकारीमा स्याङ्जाका गुरुङलाई उपसभापति र कास्कीका परियारलाई सहमहामन्त्री पाएको छ । लुम्बिनी प्रदेशबाट सहमहामन्त्री राठौर (बर्दिया) पदाधिकारी तहका आएका छन् भने कर्णाली प्रदेशबाट सुर्खेतका खड्का काँग्रेस उपसभापति भएका छन् । सुदूरपश्चिम प्रदेशबाट सभापति देउवा र सहमहामन्त्री पाण्डे काँग्रेसका पदाधिकारी तहका प्रतिनिधित्व गरेका छन् ।

३) पदाधिकारीका नेविसंघको वर्चश्व

काँग्रेसको नयाँ पदाधिकारीमा सभापतिदेखि सहमहामन्त्रीसम्म पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंका पूर्व अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरूको वर्चश्व छ ।

सभापति देउवा नेविसंघका दोस्रो सभापति हुन् भने उपसभापति खड्का नेविसंघको पूर्व उपसभापति हुन् । यस्तै उपसभापति धनराज गुरुङ, महामन्त्री शर्मा र  सहमहामन्त्री राठौर पनि नेविसंघका पूर्व अध्यक्ष हुन् ।

महामन्त्री थापा र  सहमहामन्त्री पाण्डे पूर्व महामन्त्री हुन्  भने सहमहामन्त्री महेन्द्र यादव तरुण दलका पूर्व अध्यक्ष हुन् ।

महालक्ष्मी उपाध्याय डिना पनि पद्मकन्या क्याम्पसको स्ववियु सभापति थिइन् । बाँकी पदाधिकारी पनि अधिकांह नेविसंघ पृष्ठभूमि भएकाहरु रहेका छन् ।

४) बाजे र नाति पुस्ता पदाधिकारीमा

काँग्रेसमा ७६ वर्षका देउवा सभापतिमा निर्वाचित भएका छन् भने ६६ वर्षीय खड्का उपसभापति बनेका छन् । बाँकी पदाधिकारीमध्ये ६५ वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महामन्त्री थापासहित केही ५० वर्षभन्दा कम उमेरका नेताहरू पनि पदाधिकारी बनेका छन् ।  आफूभन्दा २९ वर्ष कान्छा थापालाई साथमा लिएर देउवा अगाडि बढ्नुपर्ने छ ।

५ ) पदाधिकारीमा एक जना मात्र महिला

काँग्रेसमा १३ जना पदाधिकारी निर्वाचित भएर आउँदा एक जना मात्र महिला पदाधिकारीमा पुगेकी छन् । राज्यको सबै अङ्गमा ३३ प्रतिशत महिला उपस्थितिलाई अनिवार्य बनाइए पनि काँग्रेस पदाधिकारीमा ४ दशमलव २९ प्रतिशत मात्र महिला उपस्थिति भएको छ ।

काँग्रेसका १३ पद मध्ये उपसभापति, सहमहामन्त्री महिला र दलिततर्फमा मात्र महिलाको उम्मेदवारी परेको थियो । उपसभापतिमा सुजाता कोइराला र दिव्यश्वरी शाहले उम्मेदवारी दिएकी थिइन् ।

उनीहरू दुवै जना पराजित भए । यस्तै सहमहामन्त्री दलिततर्फ गंगा सुनारले उम्मेदवारी दिएकी थिइन् । उनी पनि पराजित भइन् । क्लस्टर अनुसार महिलाबीच मात्र प्रतिस्पर्धा भएको सहमहामन्त्रीमा उपाध्याय निर्वाचित भएकी छन् ।

६) काँग्रेस पदाधिकारीमा सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व

काँग्रेसको १४ औँ महाधिवेशनबाट सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व पदाधिकारी तहमै पुगेको छ । खस आर्य, दलित, आदिवासी जनजाति, महिला, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी सबै वर्ग र समुदायका मान्छे काँग्रेसको पदाधिकारी तहमा पुग्न सफल भएका  हुन् ।

काँग्रेसको नयाँ विधान अनुसार ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्थाले सबै वर्ग र क्षेत्र काँग्रेसको पदाधिकारी तहमा समेटिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप