ad
x
पुस्तक चर्चा

भाषण गर्न धकाउनु हुन्छ ? यसरी गर्नोस् भाषण

person explore access_timeपुस ३, २०७८ chat_bubble_outline0

सार्वजनिक सभा, समारोहमा मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला हो । प्रायः व्यक्ति साथीभाइसँग निर्धक्क बोल्न र गफ गर्न सके पनि मञ्चमा गएर भाषण दिन धकाउँछन् । त्यसको खास कारण भनेको भाषणकलासम्बन्धी ज्ञान र अभ्यासको कमीले हो । 


त्यस्ता धेरै व्यक्तित्वहरू भेटिन्छन्, जो भाषणका कारणसभासम्मेलनकै आकर्षण बन्छन् । तीमध्ये एक हुन्– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । उनको मन्तव्यबाट सभामा उपस्थित जो कोही मन्त्रमुग्ध हुन्छन् । जुन कुनै कार्यक्रममा भाषण गरे पनि भाइरल नै हुन्छन् । सभा सम्मेलनमा उपस्थित समूहको मनोभावलाई बुझेर त्यही किसिमका उखान–टुक्का र विम्बात्मक प्रस्तुति गर्ने हुनाले उनका आलोचक पनि मुस्कुराउँदै चासोपूर्वक भाषण सुन्छन् । उनको यो कला निरन्तरको अभ्यास, जनभावना र सामाजिक मनोविज्ञान बुझ्न सकेकाले नै हो । 



काँग्रेसको १४औँ महाधिवेशनको भाषणमा पनि ओलीले एउटा व्यङ्ग्य हाने, ‘भर्खरै जन्मिएको बाच्छो बढी कुद्छ र लड्छ’ । यो व्यङ्ग्यले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू भरिए । उनको त्यो व्यङ्ग्य अरू कसैलाई नभएर नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित थियो । लिङ्देनले ‘गाउँमा कोही नेता आउने खबर आयो भने गाउँलेहरूले कुन चोर आउने भएछ भन्छन्, नेता आए भन्दैनन्’ भनेका थिए । 



प्रखर वक्ताले आफ्ना प्रस्तुतिमार्फत् जनसम्बन्ध बढाइरहेका हुन्छन् । नेपालको राजनीतिक क्षेत्रमा यस्ता धेरै व्यक्तित्वहरू छन् । अहिले प्रखर वक्ताका रूपमा चिनिएका गगन थापा पनि सुरुसुरुमा कोठाभित्र ऐनामा आफूलाई हेरेर भाषणकलाको अभ्यास गर्थे रे । अहिले उनी जस्तोसुकै ठूलो सभासम्मेलनका दर्शक र श्रोताको ध्यान सहजै खिच्न सक्ने क्षमता राख्छन् । उनी भाषणका सैद्धान्तिक अध्ययन र निरन्तरको अभ्यास गरेर नै उत्कृष्ट वक्ता बनेका हुन् । 



यसरी भाषणको कलात्मक प्रस्तुति दिएर मञ्च तताउनेहरू वामपन्थी नेता रामकुमारी झाँक्री, प्रदीप ज्ञवाली, योगेश भट्टराई, ईश्वर पोख«ेल, काँग्रेसका विश्वप्रकाश शर्मा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, डिला सङ्ग्रौला, राप्रपाका राजेन्द्र लिङ्देन, कमल थापा, जसपाका उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतोलगायत धेरै छन् । यी राजनीतिकर्मीका भाषणले दर्शक तथा श्रोतालाई आकर्षित गर्छ ।  



तपाईं सार्वजनिक कार्यक्रममा बोल्न र आफ्नो मन्तव्य दिन धकाउनु हुन्छ भने आजैदेखि यसको अभ्यासमा लाग्नुस् । भर्खरै प्रकाशित ‘भाषणकला’ पुस्तक तपाईंका लागि गाइड बन्न सक्छ । यसको अध्ययन र अभ्यासबाट मञ्चमा गएर आफ्ना भनाइ राख्न सहज हुन सक्छ । 





भाषणकलाका लेखक राम घिसिङ पनि कुनै समय भाषण गर्न धकाउँथे । आफूसँग भाषण गर्ने कला नभएकाले धेरै कुरामा पछि परेको महसुस भएपछि उनले बागबजारमा रहेका सबै पुस्तक पसल चहारे । अनलाइन र युट्युब हेरे । तर आफूले भनेजस्तो सामग्री कहीँ नभेटेपछि आफैँ पुस्तक लेख्ने तयारी थाले । कोभिडका कारण लकडाउनले घरमा बन्दी भएको समयमा तीन महिना उनी भाषणकला पुस्तकको संरचना कस्तो बनाउने भनेर लागे । त्यसको खाका तयार गरेपछि करिब एक वर्ष खोज र अनुसन्धानबाट उनले यो पुस्तक तयार गरे । उनले आफ्नो पुस्तकमा कलात्मक भाषणका लागि वक्ताले निम्न कुरालाई ध्यान दिनुपर्ने बताउँछन्– 



–बोल्ने विषयमा पूर्ण जानकारी लिने,

–शुद्ध र स्पष्ट बोल्ने,

–सबैले बुझ्ने सरल शब्द प्रयोग गर्ने,

–श्रोताको भावनाको कदर गर्ने, 

–प्रश्नकर्ताको कदर गर्ने,

–मीठो अभिव्यक्ति शैली निर्माण गर्ने,

–सङ्क्षेपमा अभिव्यक्ति दिने सीपको विकास गर्ने, 

–सिर्जनात्मक र व्यङ्ग्यात्मक अभिव्यक्ति सीपको विकास गर्ने, 

–शीघ्र निर्णय गर्ने क्षमताको विकास गर्ने, 

–साहित्यिक ज्ञानको पहुँच बढाउने, 

–समयको पावन्दीलाई सधैँ ख्याल गर्ने, 

–सधैँ अध्ययनशील रहने, 

–सिकारुहरूले घरमै आफ्नो अभिव्यक्ति शैलीको विकास गर्न अडियो, भिडियो रेकर्ड गरी अभ्यास गर्ने, सुन्ने, आफ्ना कमीकमजोरीहरू पहिल्याउने ।

–मञ्चमा अवसर पाउनासाथ आफ्नो क्षमताको उपयोग गर्ने । 

–कलात्मक भाषण गर्ने व्यक्तिहरूको अभिव्यक्ति शैलीको अध्ययन गर्ने र आफ्ना कमीकमजोरीहरूको तुलना गर्ने । 

यी कार्य निरन्तर गरे कोही कसैले सभा समारोहमा बोल्नका लागि धकाउनु पर्दैन । भाषणकला भनेको सामाजिक पुँजी निर्माणको कार्य भएको हुँदा यसको सैद्धान्तिक विषयमा प्रकाशन भएका पुस्तकहरू अध्ययन गर्दा कलात्मक भाषणमा निखारता आउने उनी बताउँछन् ।  

यस पुस्तकमा भाषणकलाको सैद्धान्तिक र व्यावहारिक अभ्यासका लागि भाषणका केही उदाहरण पनि दिइएका छन् । चौध एकाइमा विभाजित यस पुस्तकमा भाषण एक विशेष वाक्कला, वक्ता र भाषण, कला र पेसाका रूपमा भाषण, भाषणकलाका तत्त्वहरू, भाषणको तयारी, प्रस्तुतीकरण, व्यक्तित्व विकास, नेतृत्व विकास, आत्मविश्वास, अन्तरवार्ता, भाषण गर्ने सूत्र, मर्यादाक्रम, शुद्ध र फरक शब्दलगायत शीर्षक छ । अन्त्यमा केही भाषणहरू भनी नेपालका र विश्व स्तरका नेताहरूको भाषण नमुनाका रूपमा दिइएको छ । 

देशविदेशका लब्धप्रतिष्ठित व्यक्तिका भाषण स्पष्ट र सकेसम्म निर्विवाद खालका हुनेगर्छन् । त्यसको अध्ययनले पनि भाषण गर्ने कलामा निखारता ल्याउन सहज हुन्छ । यसले ज्ञानको दायरा फराकिलो मात्रै पार्दैन, अध्ययन गर्नेको भाषण कौशललाई पनि निखारता दिन्छ । यदि तपाईं भाषण गर्न मञ्चमा जानुभयो भने निम्न कुरालाई विचार पुर्याउन आवश्यक हुन्छ । यसलाई भाषणकलाको सूत्र पनि भनिन्छ–

–कार्यक्रम अनुसारको सम्बोधन, 

–आफूले बोल्ने कार्यक्रमको महत्त्व,

–आयोजकलाई धन्यवाद्

–कार्यक्रमको स्थान र समयबारे बताउने,

–विषयअनुसारको अभिव्यक्ति दिने,

–विषयअनुसारको उखान–टुक्का र उक्तिहरूको प्रयोग गर्न नछुटाउने, 

–स्वरको आरोह–अवरोहमा विचार पुर्याउने,

–प्रामाणिक तथ्य मात्र प्रयोग गर्ने,

–श्रोताको स्तरलाई ध्यान दिने,

–तर्कयुक्त र विनयपूर्वक खण्डन गर्ने,

–व्यक्तिगत कुरा नगर्ने,

–भाषण लामो भएमा हाँसो, ठट्टा र उत्साहवद्र्धक प्रसङ्ग जोड्ने,

–जाति, राष्ट्र र राष्ट्रियताबारे बोल्दा ध्यान पुर्याउने,

–घमण्ड नगर्ने ।

भाषणकलाका यी तत्त्वलाई प्रत्येक असल वक्ताले विचार पुर्याइरहेका हुन्छन् । ती कुरा यस पुस्तकमा पनि उदाहरणसहित समेटिएका छन् । वीपी कोइरालाले पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको बेला दिएको भाषण, मदन भण्डारीले कालापानी, लिपुलेक र टनकपुरबारे संसद्मा गरेको सम्बोधन, रवीन्द्र मिश्रले भ्रष्टाचारका विषयमा गरेको सम्बोधन, विश्वभक्त दुलाल आहूतिको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा दिएको भाषण, बाबुराम भट्टराईले संसद्मा सबैको सम्पत्ति छानबिन गरौँ भनेर दिएको भाषण, कुमार लिङ्देनले लिम्बुवान जनसभा विराटनगरमा दिएको भाषण, पद्मरत्न तुलाधरले पञ्चायतको चुनाव प्रचारका क्रममा दिएको भाषण, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताका विषयमा संसद्मा दिएको भाषणलगायत समेटिएका छन् । 

यसैगरी अब्राहम लिङ्कनले १६औँ राष्ट्रपति हुँदा प्रजातन्त्रका बारेमा दिएको भाषण, चन्द्रमामा मान्छेले पाइला टेकेको दिन जोन एफ केनेडीले दिएको भाषण, मार्टिन लुथर किङको आई ह्याभ अ ड्रिम, नेपोलियन बोनपार्ट, भारतका राष्ट्रपति एपीजे अब्दुल कलाम, सुवासचन्द्र बोस लगायतका भाषण पनि यसमा समेटिएका छन् । 

भाषणका मुख्य चार प्रकारमध्ये सार्वजनिक भाषणअन्तर्गत सूचनात्मक, पवर्तक भाषण, धन्यवाद ज्ञापन भाषण, विजेता, उपविजेताको भाषणलगायत प्रत्येकको उदाहरणसहित यसमा प्रस्तुत गरिएको छ ।   

साथै समृद्ध, स्वाधीन, शक्तिशाली, स्वच्छ वातावरण भएको देश कसरी बनाउने जस्ता भाषणका उदाहरण पनि यस पुस्तकमा समेटिएको छ । मुख्य रूपमा यी चारवटा कुरा अन्य पुस्तकमा भन्दा भिन्न छन् । पढ्न लेख्न जान्ने जोकोहीलाई सार्वजनिक स्थानमा भाषण गर्न सकून् भन्ने उद्देश्यका साथ यो पुस्तकको लेखिएको लेखकको भनाइ छ । 

भाषण सबैले गर्छन् तर वाक्कला अन्तर्गतको भाषण र भाषणअन्तर्गतको वाक्कलालाई छुट्याउन सक्दैनन् । यो पुस्तकको अध्ययनपछि भाषणकला जानेका व्यक्तिहरूले पनि आफ्ना कमजोरी पहिल्याएर सुधार गर्न सक्छन्, भाषणकलामा निखार ल्याउन सक्छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।