खानपान

उपवास किन र कसरी बस्ने ?

person explore access_timeपुस ३, २०७८ chat_bubble_outline0

सम्पूर्ण भोजन छाडेर केवल स्वच्छ पानी आवश्यकताअनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई ‘उपवास’ भनिन्छ । खान नपाएर हुने भोकमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक छ, त्यो के भने यदि व्यक्ति भोकमरीमा परेको छ भने एकातर्फ ऊ शारीरिक तथा मानसिक रुपमा तनावले भरिएको हुन्छ, अर्काेतर्फ शरीरभित्र रहेको विभिन्न मल निष्कासनका लागि कुनै विधि नअपनाउनाले उसको शरीरमा विजातीय तत्व जम्मा भएर बसिरहन्छ । ती तत्वबाट उल्टै विषालु तत्व उत्पन्न हुन थाल्छन् र व्यक्ति छिटो मर्न सक्छ । 


उपवास अवस्थामा भने व्यक्तिमा कुनै तनाव नभई आफू स्वस्थ हुन लागेको सम्झी मानसिक रुपमा प्रफुल्ल हुन्छ । र, शरीरभित्र संकलित मल विभिन्न विधि अपनाई बाहिर फ्याँकिन्छ, जसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति प्राप्त हुन्छ ।



किन बस्ने उपवास ?



उपवास बस्नु भनेको स्व–इच्छाले केही नखाएर वा पानी मात्र पिएर पाचन प्रणालीलाई आराम दिने प्रक्रिया वा शरीर शुद्ध पार्ने प्रक्रिया हो । उपवास बसेको बेला शरीर खाना पचाउने कामबाट मुक्त हुन्छ र शरीरलाई यही मौका छोपेर शुद्ध गर्नतर्फ लाग्छ । निरन्तर खाना खाइरहेको बखत शरीरले पूर्ण शुद्ध पार्न सकिरहेको हुँदैन र विकारहरु जम्मा भइरहने सम्भावना हुने हुँदा उपवास बसेको बखत सबै विकारहरु नष्ट गर्ने अवस्था आउँछ । 

उपवास बस्दा एक घण्टामा एक गिलासका दरले पानी पिउने, सादा पानीमा मात्र बस्न नसके कागती, मह, अमला पानी वा सुन्तलाको रस पिएर बस्नु ठिक हुन्छ । त्यसमा पनि बस्न नसके फलफूल खाएर बस्ने तर उपवास हप्ताको एकदिन बस्ने, सक्दै नसके कम्तीमा १५ दिनमा एकपटक बस्दा राम्रो हुन्छ । उपवासले शरीर शुद्ध बनाउँछ, पाचन अंगलाई आराम दिन्छ, तौल घटाउन मद्दत गर्छ । साथै, असामान्य जैविक क्रियालाई पुनः सामान्य र ताजगी बनाउँछ र रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ ।

उपवास बस्नाले पाचन प्रणालीका आमाशय, भोजननली, कलेजो, प्याङ्क्रियाज आदिलाई विश्राम मिल्छ र शरीरले अन्य भागको शुद्धीकरण गर्न थाल्छ । शारीरिक, मानसिक तथा आध्यात्मिक लाभका लागि उपवास गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ । पेट अन्नले भरिएको समयमा रक्तसञ्चार अत्यधिक रुपमा पेटतर्फ नै हुने र शरीरका अरु भागलाई रक्तसञ्चारले त्यति प्राथमिकता नदिने भएकोले मस्तिष्कलगायत शरीरका सबै अंगमा ऊर्जा कम हुन्छ । 

उता उपवासको समयमा रगतमा चिनीको मात्रा कम हुन्छ वा सन्तुलित हुन्छ । पेटको अनावश्यक भार कम हुँदा रक्तसञ्चार शरीरका सबै अंगमा हुन पुग्छ र शरीर शुद्ध हुन्छ । उपवासका समयमा सात्विक आहारको प्रयोग हुँदा मन पनि सात्विक हुन्छ । यसका साथै मानसिक दुर्बलता, डिप्रेशन, चिन्ता आदि जस्ता रोग पनि उपवासबाट साम्य हुन्छन् । र, व्यक्तिमा नवीनता, स्फूर्ति तथा आनन्दको अनुभूति हुन थाल्छ ।

वास्तवमा हामीले खाना खाएको केही घण्टादेखि पाचन भएर खानाबाट पौष्टिक तत्व अवशोषण भई रगतमा जान्छ । यस अवस्थामा रगतमा सुगरको तह उच्च हुन्छ र ईन्सुलिनको उत्पादन अधिकतम हुन्छ । यसले रगतमा भएको सुगरलाई कोषसम्म पु¥याउने काम गर्छ । बाँकी बढी भएको सुगर कलेजो र मांसपेशीमा ग्लाइकोजिनको रुपमा सञ्चित हुन्छ । शरीरलाई सुगर आवश्यक भएको बेला ग्लाइकोजिनबाट सुगर बनेर आपूर्ति हुन्छ । यसरी खाना खाएको ३÷४ घण्टाको वरपरसम्म प्रारम्भिक उपवासको चरण आउँछ र यो लगभग खाना खाएपछिको १८ घण्टासम्म जारी रहन्छ । यस १८ घण्टासम्मको चरणमा रगतमा सुगर र ईन्सुलिनको तह घट्न थाल्छ । किनकि शरीरले ग्लाइकोजिनलाई ग्लुकोजमा परिणत गरी शक्तिको लागि प्रयोगमा ल्याउँछ । यो चरणको अन्ततिर कलेजोमा सञ्चित रहेको ग्लाइकोजिनको भण्डार बिस्तारै कम हुन थाल्छ र शरीरले शक्तिको अर्को स्रोतको खोजी गर्न थाल्छ । अनि विशेष प्रक्रियाबाट चिल्लोका कोषहरुबाट ट्राइग्लिसराईड ससाना अणुमा टुक्रिन थाल्छ र शक्तिको वैकल्पिक स्रोतका रुपमा प्रयोग हुन थाल्छ । 

यसका साथै शरीरले प्रोटिनलाई एमिनो एसिडमा परिणत गरी शक्तिको लागि प्रयोग गर्छ । यो प्रक्रिया सबैभन्दा बढी अनियमित उपवास वा १६÷८ विधि अर्थात् १६ घण्टा केही नखाने र ८ घण्टा मात्र खाने विधिमा हुन्छ । यस विधिबाट शरीरमा सञ्चित क्यालोरीसमेत खपत भई शारीरिक स्फूर्ति आउने र मोटोपन कम हुने प्रक्रिया सुरु हुन्छ ।

कसरी बस्ने उपवास ?

नेपाली संस्कृतिमा परम्पराकालदेखि उपवास बस्ने चलन चल्दै आएको छ । जानेर वा नजानेर उपवास बस्ने चालचलन अहिले आएर वैज्ञानिक रुपमा उपर्युक्त सावित भएको छ । व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ रहने हो भने वास्तवमा हप्तामा उक दिन भएपनि उपवास बस्नाले अधिकांश शारीरिक समस्याहरु समाधान भएर जाने परिणाम देखिएको छ । 

उपवास बस्ने विभिन्न विधि छन्  । तीमध्ये आफूलाई जुन विधि सहज हुन्छ, त्यो विधि अपनाएर उपवास बस्ने प्रचलनलाई निरन्तरता दिनु जरुरी छ । अहिले पनि केही व्यक्ति धार्मिक आस्थाका कारण एकादशी, पूर्णिमा, विशेष चाडपर्व वा कुनै बारमा उपवास बस्ने गर्ने गरेको देखिन्छ । जे जसरी उपवास बसे पनि त्यो व्यवहारले शरीरलाई फाईदा पुर्याएकै देखिन्छ । 

उपवासका विभिन्न तरिकामध्ये अनियमित उपवास भन्नाले ‘वान मिल अ डे’ अर्थात् दिनमा एकपटक मात्र खानु भन्ने बुझिन्छ । यो तौल घटाउने सबैभन्दा राम्रो उपाय हो । दिनमा धेरैपटक खानु, दिनभर खानु, प्रत्येक दिन खाइरहनुभन्दा उपवास बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । अनियमित खालको उपवासले शरीरमा जैविक रसायनबीच समन्वय कायम भई मानसिक, संवेगात्मक र शारीरिक फाईदा पाउन सकिन्छ । उपवाससँगै दिनमा एकपटक वा दुईपटक ध्यानमा बस्न सकेमा थप फाइदा हुन्छ । यसरी आफूले खाना खाने ढाँचाको साईकलमा खाना खाने र उपवास गर्नेबीचको समयावधिलाई नै वास्तवमा अनियमित उपवास भनिन्छ । यो खालको उपवास बस्ने प्रचलन परम्पराकालदेखि नै चल्दै आएको देखिन्छ र हाल उपवास बस्नेहरुले पनि यो तरिका अपनाउने गरेको पाईन्छ, जुन सबैभन्दा राम्रो हुन्छ ।

यदि १८ घण्टापछि २ दिनसम्मको उपवास गरिन्छ भने यस अवस्थामा सञ्चित भएर रहेको ग्लाइकोजिन समाप्त हुन्छ । त्यसपछि शरीरले भण्डार गरेको प्रोटिन र चिल्लो पदार्थ टुक्र्याएर शक्तिको लागि प्रयोग गर्छ । परिणामस्वरुप केटोन बोडिजको उत्पादन हुन्छ । यो शरीरले चिल्लोलाई ऊर्जाको ईन्धनमा परिणत गर्दाको जटिल उत्पादन हो । यसमा शरीरले केटोसिस् प्रक्रियामा परिणत गरी शक्तिको प्रारम्भिक स्रोतको आपूर्ति गर्दछ । केटोसिस् प्रक्रिया उपवासमा प्रवेश हुनासाथ तुरुन्तै हुने होइन, पछिमात्र हुने प्रक्रिया हो । केटोसिस् अवस्थाका चिन्हमा भोक नलाग्नु, तौल घट्नु, थकाइ लाग्नु, श्वासप्रश्वासमा नराम्रो गन्ध आउनु, रगत, श्वास तथा पिसाबमा केटोन बोडिजको तह बढ्नु आदि लक्षण देखा पर्छन् । यसरी २ दिन वा २४ घण्टासम्म उपवास बसेमा मात्र केटोसिस्को अवस्था आउन सक्छ । तर यसपछि हुने केटोएसिडोसिस्को प्रक्रिया भने निकै खतरनाक अवस्था हो, जहाँ रगत अम्लमा परिणत हुन्छ र यो अवस्था प्रायः विभिन्न रोग लाग्दा, संक्रमण हुँदा, मधुमेह रोगको राम्रो व्यवस्थापन गर्न नसक्दा आउन सक्छ ।

यदि यो भन्दा लामो समय वा ४८ घण्टासम्म पनि उपवास बसियो भने त्यो अवस्थालाई लामो समयको उपवास वा भोकमरीको अवस्था भनिन्छ । यतिबेला ईन्सुलिनको तह घटेर केटोन बोडी बढ्न सक्छ । यस अवस्थामा मृगौलाले विशेष प्रक्रियाबाट सुगर बनाउने काम गर्दछ, जसले मस्तिष्कलाई मात्र ईन्धन आपूर्ति गर्दछ । सँगसँगै मस्तिष्कलाई बचाउन केटोन बोडिजले समेत काम गर्दछ । यो किसिमको उपवास हानीकारक हुने भएकाले विज्ञसँगको परामर्शबाट मात्र बस्नुपर्छ । त्यस्तै उपवासबाट छुट्ने बित्तिकै कहिल्यै पनि भारी खाना नखाने, कडा खाना नखाने, पीरो चिल्लो नखाने बरु सामान्य लिटो, जाउलो, गिलो खाना र तरल पदार्थ बढी मात्रामा खाने गर्नुपर्छ । त्यसपछि मात्र ठोस खानामा जानुपर्छ ।

उपवासका फाइदा

कतिपय अवस्थामा उपवास चिकित्सा विधि पनि अम्लपित्तलगायत अन्य विभिन्न रोगको लागि उपयुक्त हुन सक्छ । उपवास विधिले पित्त दोषबाट उत्पन्न हुने समस्या, आन्द्रासम्बन्धी समस्या, छालाको समस्या, जोर्नी दुखाई, बाथ रोग, दम, कब्जियत, मधुमेह तथा ज्वरोमा पनि फाइदा गर्छ । तर यसको लागि चिकित्सकको परामर्श लिई उपवासका नियमहरु अपनाई गर्न सकिन्छ । अन्यथा झन् खराब अवस्था उत्पन्न हुने सम्भावना पनि रहन्छ । विभिन्न रोगबाट बच्न र बुढ्यौलीमा समेत स्वस्थ रहन उपवास बस्नु फाइदाजनक हुने विभिन्न अध्ययनहरुको निष्कर्ष रहेको छ । अन्तमा, उपवास बस्नुका अन्य फाईदाबारे बुँदागत रुपमा दिइएको छः

- उपवास बस्नाले ‘फुड एडिक्सन’ अर्थात् खाना खाने आदत तोडिन्छ अथवा बढी खाना खाइरहँदा हुने असजिलोपन हट्छ ।

- खाना खाइरहँदा हुने बढी तौल घटाउन मद्धत पुग्छ ।

- उपवास बस्नाले हुन सक्ने सम्भावित स्वास्थ्य समस्या जस्तै आमाशयको (हायटल) हर्निया, अम्लपित्त, भोजननलीको सुजनलगायत पाचन प्रणालीका समस्या समाधान हुन्छन् ।

- अनियमित उपवासले मधुमेह, उच्च रक्तचाप, गम्भीर खालका छालाका रोग, शारीरिक तथा मानसिक रोगसमेत समाधान हुन्छन् ।

- शरीरको शुद्धिकरण हुने हुँदा शरीर फूर्तिलो हुन्छ र कुनै विकृति देखा पर्दैन ।

- डिप्रेसनजस्तो समस्या पनि उपवास बस्नाले समाधान हुन सक्छ । किनकि उपवासले नरइपिनेफ्रिन हर्मोन बढ्ने र मुड ताजा हुने भएकोले थप ऊर्जा प्राप्त हुन्छ ।

लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।